साउनको दुई दिनमै बैंकहरूले राष्ट्र बैंकबाट लिए करिब ८१ अर्ब सापटी

साउन महिनाको दुई दिनमै बैंकहरूले राष्ट्र बैंकबाट ८० अर्ब ८९ करोड रूपैयाँ सापटी चलाएका छन्। सात दिनको लागि सात प्रतिशतको दरमा पाइने स्थायी तरलता सुविधाअन्तर्गत बैंकहरूले यो रकम चलाएका हुन्।

साउन १ गते १९ अर्ब १५ करोड रूपैयाँ सापटी लिएका बैंकहरूले साउनको २ गते ६१ अर्ब ७४ करोड रूपैयाँ लिएका हुन्। साउन २ गते २५ बैंक तथा वित्तीय संस्थाले यो रकम सापटी लिएका हुन्।

गत आर्थिक वर्षमा समेत उच्च तरलता दबाबमा रहँदा राष्ट्र बैंकबाट बैंकहरूले वर्षभरिमा ९१ खर्ब ७० अर्ब रूपैयाँ यस्तो सापटी लिएका थिए। यो सापटी ऐतिहासिक रूपमा उच्च हो।

त्यस्तै, साउनबाट बैंकहरूले स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ५० प्रतिशत मात्र निक्षेपको रूपमा प्रयोग गर्न पाउने भएका छन्।

यसअघि यस्तो कोषको ८० प्रतिशतसम्मको रकम निक्षेपमा प्रयोग गर्न पाइरहेका थिए। यो व्यवस्थाले असारसम्म निक्षेपमा देखाइरहेको करिब ६० अर्ब रूपैयाँ देखाउन नपाइने भएको हो।

त्यस्तै, बैंकहरूले पुँजी स्रोतमा देखाउन पाइरहेका करिब एक खर्ब बराबरको ऋणपत्र पनि साउनबाट देखाउन नपाइने भएपछि पनि दबाब बढेको हो।

यही कारण बैंकहरूले एकआपसबाट लिने सापटीको ब्याजदर समेत बढ्न थालेको छ। असारको अन्त्यमा बैंकहरू केही सहज अवस्थामा देखिएका थिए। सो समय यस्तो अन्तर बैंक ब्याजदर ६.९५ प्रतिशत रहेकोमा यो दर ६.९९ प्रतिशतसम्म आएको छ।

यसको अधिकतम दर सात प्रतिशत रहनेगरी प्रणालीको विकास गरिएको छ। केही समयदेखि अन्तर बैंक ब्याजदर सात प्रतिशतको हाराहारी नै रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button