मोदीले समय नदिएपछि प्रदीप ज्ञवाली स्वदेश फर्कँदै
३ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली उनलाई भेट नगरी स्वदेश फर्कन लागेका छन् ।
नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो । तर, मोदीले समय नदिएपछि त्यो भेट सम्भव भएन । दिल्लीस्थित दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली भारत आउनु अघिदेखि नै प्रयास गरेको थियो ।
नेपाली पक्षले ज्ञवाली शनिबार स्वदेश फर्किनुअघिसम्म पनि मोदीसँग भेट हुने आशा गरेको थियो । त्यही आशमा ज्ञवाली अन्तिम समयसम्म आफू बसेको होटल ताजमा भारतीय पक्षबाट भेटको समय मिल्ने पर्खाइमा थिए । तर, अन्तिममा भेट नहुने निश्चित भएपछि ज्ञवाली एअरपोर्टतिर लागेका हुन् ।
पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको थियो । मोदीले भेटका लागि समय नदिनुलाई नेपालको पछिल्लो राजनीतिक परिस्थितिसँग पनि जोडेर हेरिएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयपछि विकसित घटनाक्रमलाई अझै कुन रुपमा हेर्ने भन्ने विषयमा दिल्ली केही समय पर्ख र हेरको रणनीतिमा रहेको संकेतको रुपमा समेत विश्लेषण भइरहेको छ ।