
मेडिकल सिटीमा सधैँ रगतको अभाव
मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाँैतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता खोज्न बाध्य हुने गरेका छन् । वर्षभरिमा झन्डै पाँच हजार जनाले केन्द्रमा नै आएर रक्तदान गर्ने गरेको तथ्याङ्क छ । यी व्यक्तिहरु बिरामीका आफन्तको अनुरोधमा डाकिएका रक्तदाता हुन् ।

यहाँका अस्पतालमा २० हाराहारी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बिरामी र अन्य अस्पतालमा विशेषज्ञ सेवा लिनेहरुका लागि धेरै रगत आवश्यक हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले यहाँको क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी सानाठूला अस्पतालमा हुने शल्यक्रिया लगायतका उपचारमा ठूलो मात्रामा रगत माग हुने गरेको बताए । वर्षभरिमा ३५ हजार युनिट हाराहारी रगत केन्द्रले उपलब्ध गराउँदै आएको छ । पौडेलको भनाइमा ५० हजार युनिट हाराहारी रगतको आवश्यक यहाँ पर्दछ । अत्यावश्यक शल्यक्रियासमेत समयमा गर्न रगतका कारण कठिन हुने गरेको छ । पौडेलले केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटीले रक्तदाताका लागि उत्प्रेरणाका कार्यक्रम गर्न नसक्दा समस्या आएको बताए । रक्तदाता बढाउनका लागि नयाँ रणनीतिक कामहरु गर्न नसकेर पुरानै ढर्रामा सोसाइटी रहेको उनको भनाइ छ । सरकारी निकायसँगको समन्वयमा सोसाइटीले काम गर्न नसकेको उनको भनाइ थियो ।

केन्द्रले चितवनसहित छिमेकी जिल्लाबाट समेत सहकार्य गरेर रगत सङ्कलन गरिरहेको छ । नवलपरासी, गोरखा, लम्जुङ, तनहुँ, धादिङ, मकवानपुर, सर्लाही, रौतहट लगायतका जिल्ला पुगेर रगत सङ्कलन गर्ने गरिएको छ । वर्षभरमा ४०० हाराहारी रक्तदानका कार्यक्रम हुने गरेका छन् । ती कार्यक्रममा पहिले १००÷१५० युनिट रगत सङ्कलन हुने गरेकामा आजभोलि ४०÷५० युनिट सङ्कलन हुने गरेको छ ।



