कालो ढुसीको संक्रमण : जान्नै पर्ने कुरा

कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा संक्रमण पुष्टि भइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढ सयको संख्यामा पुग्ने चेतावनी दिइसकेका छन् । भारतमा १२ हजार भन्दा बढीमा कालो ढुसीको संक्रमण देखिएका छन् भने २०० जनाको मृत्यु भइसकेको छ ।

कालो ढुसीको संक्रमण बढ्दै जाँदा यो संक्रमण कसरी हुन्छ, कस्ता व्यक्तिहरुमा देखा पर्छन् ? लक्षण के हुन सक्छ ? यसको निदान के होला ? लगायतका बारेमा सर्वसाधारण नागरिकको चासो बढ्दो छ ।

नेपालमा कोभिड–१९ का संक्रमण वा संक्रमणमुक्त भएका बिरामीमा यसको संक्रमण देखिए पनि यसबाट मृत्यु भएको आधिकारिक पुष्टि भने सरकारले गरेको छैन ।

तर वीरगञ्ज र बाँकेका अस्पतालहरुमा यसको संक्रमण देखिएका बिरामीको मृत्यु भएको चिकित्सकहरु बताउँछन् ।

सर्वसाधारण नागरिकको यही चासो तथा जिज्ञासालाई सम्बोधन गर्ने प्रयास स्वरुप नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपाने को सुझावलाई प्रस्तुत गरेका छौं :

कालो ढुसी के हो ?

म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।

सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ ।

पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् ।

यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पुर्‍याउनु आवश्यक छ ।

प्रारम्भिक लक्षण के–के हुन् ?

  • अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने
  • आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
  • नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने
  • नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने
  • बाक्लो सिंगान आउने
  • आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने
  • दाँत दुख्ने वा हल्लिने
  • टाउको भारी हुने
  • ज्वरो आउने
  • अचेत हुने, बरबराउने हुन्छ

कतिखेर अस्पताल भर्ना हुने ?

जुनसुकै उमेर समूहका मानिसमा कोलो ढुसीको संक्रमण हुनसक्छ । तर नेपालको सन्दर्भमा १८ देखि ६० वर्ष उमेर समूहमा देखा परेका छन् । कालो ढुसीका लक्षणहरु देखा परेमा नजिकैको अस्पताल जानुपर्छ ।

चिकित्सकहरुले आवश्यकता अनुसार परीक्षण गरेर यसको पहिचान गर्छन् । फङ्गल टेस्टदेखि लिएर एमआरआईमार्फत यसको परीक्षण गरिन्छ । परीक्षणमार्फत शरीरको कुन–कुन भागमा यसको इन्फेक्सन देखिएको छ सोही अनुसार चिकित्सकहरुले उपचार प्रक्रिया अगाडि बढाउँछन् ।

के छ उपचार विधि ?

यसको उपचारका क्रममा स्लाइनबाट दिने औषधि १० देखि १४ दिनसम्म दिनुपर्ने हुन्छ । त्यसपछि पोसाकोनाजोल नामक खाने औषधि बिरामीको अवस्था हेरेर एकडेढ महिनाका लागि दिइन्छ ।कालो ढुसीको उपचारमा विशेषतः ‘एम्फोटेरिसिन बी’ इन्जेक्सन मार्फत औषधिको प्रयोग गरिन्छ । यो औषधि अनिवार्य हो ।

यो सँगसँगै सर्जरी गर्नुपर्छ । जुन–जुन अंगमा संक्रमण छ, उक्त ठाउँको सर्जरी गर्नुपर्छ । यसको संक्रमण विशेष गरी नाक, आँखा, साइनस, मस्तिष्क लगायतको भागमा हुन्छ । आँखामा यसको संक्रमण गम्भीर भए नानी नै निकाल्नुपर्ने हुन्छ ।

कस्ता व्यक्तिलाई हुन सक्छ उच्च जोखिम ?

यो कुनै नयाँ रोग होइन । तर यो एकदम दुर्लभ संक्रमण हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो रोग सरुवा होइन । तर यो संक्रमण निकै गम्भीर हुन्छ, संक्रमण बढ्दै जाँदा यो प्राणघातक पनि बन्न सक्छ ।

  • यो रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएका अनियन्त्रित मधुमेह, अंगप्रत्यारोपण गरिएका बिरामी र क्यान्सरको उपचार गराइ रहेका बिरामी
  • कोभिड–१९ को उपचारको लागि अस्पतालमा भर्ना भएका र डिस्चार्ज भएका बिरामी
  • कोभिड–१९ उपचारका क्रममा स्टेरोइड औषधि प्रयोग गरेका व्यक्तिहरु
  • चिकित्सकको परामर्शविना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
  • फोहोर, ओसिलो तथा हावा राम्रोसँग आउजाउ नहुने क्षेत्रमा बस्दा
  • शरीरमा पानीको मात्रा कम हुँदा

के छन् रोकथामका उपाय ?

  • सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजल मास्कको पुनः प्रयोग नगर्ने
  • नियमित रुपमा हात धुने वा सेनिटाइजर प्रयोग गर्ने
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने
  • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
  • नुनिलो पानीले नाक सफा गर्ने
  • पोमिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
  • मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
  • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

कालो ढुसीले गराउने संक्रमणको सुरुवाती चरणको पहिचान र उपचार गर्ने विधिबारे चिकित्सकहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले सरकारलाई एडभाइजरी जारी गर्न सहयोग गरिएको छ । सरकारले सोही एडभाइजरीको आधारमा प्रोटोकल तयार पार्ने र सार्वजनिक गर्ने तयारी गरेको छ ।

कालो ढुसीको उपचारमा प्रयोग हुने ‘एम्फोटेरिसिन बी’ औषधि नेपालमा अभाव छ । सरकारले तत्काल यसको व्यवस्था मिलाउनुपर्छ । एन्टिफङ्गस औषधि ल्याउन सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग समन्वय गरिरहेको र जून ५ तारिखभित्र यो औषधि आउने जानकारी पाएको छु । यसको उपलब्धता तत्काल हुनसके यसको संक्रमणबाट बिरामीलाई बचाउन सकिन्छ ।

कालो ढुसी : धेरै संक्रमित फेला पर्नुको कारण के हो ?

पछिल्लो समय प्राणघातक बन्दै गएको ‘कालो ढुसी’को संक्रमण तुलनात्मक रुपमा धेरै देखिएको छ । नेपालमा पनि कालो ढुसीको संक्रमणबाट जेठ २० गते एकजनाको मृत्यु भइसकेको छ भने कम्तीमा १२ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ ।

छिमेकी मुलुक भारतमा कालो ढुसीबाट संक्रमित हुनेको संख्या करिब १२ हजार पुगेको छ । यसबाट संक्रमित हुनेमध्ये अधिकांश मानिसहरु कोरोनाबाट हालै मात्र निको भएका मानिसहरु छन् ।

यति धेरै मानिसमा कालो ढुसीको संक्रमण देखिनुलाई असामान्य मानिएको छ । यो संक्रमणको कारण मृत्यु हुनेको संख्या ५० प्रतिशत रहेको छ ।

चिकित्सा क्षेत्रका केही जानकारहरुका अनुसार भारतमा मधुमेह भएका मानिसको संख्या ठूलो भएकाले उनीहरुमा कालो ढुसीको संक्रमण बढेको हो । तर यो संक्रमणको लागि मधुमेह मात्र कारण भने होइन । यहाँ कालो ढुसी संक्रमणको विषयमा केही जानकारी उल्लेख गरिएको छ :

विश्वका कुन कुन मुलुकमा देखिएका छन् म्युकर्माइकोसिस ?

कोरोना महामारीभन्दा पहिला विश्वभरका कम्तीमा ३८ मुलुकमा म्युकर्माइकोसिस संक्रमण देखिएको थियो । यसलाई सबैले बुझ्ने भाषामा ‘कालो ढुसी’ भनिन्छ ।

लिडिङ इन्टरनेशनल फङ्गल एजुकेसनका अनुसार भारत र पाकिस्तानमा प्रति १० लाख मानिसमा यो संक्रमण देखिनेको संख्या १४० देखिएको छ । यी दुई मुलुक विश्वमा सबैभन्दा उच्च दरमा उक्त संक्रमण देखिने मुलुक हुन् ।

म्यानचेस्टर युनिभर्सिटीका ढुसीको संक्रमण विशेषज्ञ डा. डेभिड भारतमा कोरोना महामारी आउनुभन्दा पहिला नै कालो ढुसीको संक्रमण अन्य मुलुकको तुलनामा धेरै हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘म्युकर्माइकोसिस धेरै हदसम्म अनियन्त्रित मधुमेहसँग जोडिएको छ र भारतमा यस्ता बिरामी धेरै छन् ।’

विश्वभर गरिएको एक अध्ययनमा कोरोनाको संक्रमणबाट निको भएका र ढुसीको संक्रमण पनि देखिएकामध्ये ९४ प्रतिशत मानिस मधुमेहबाट पीडित थिए । उनीहरुमध्ये ७१ प्रतिशत भारतीय थिए ।

भारतका साथै अन्य केही मधुमेहका बिरामीको संख्या धेरै भएका मुलुकमा पनि कालो ढुसीको संक्रमण बढेको देखिएको छ । पाकिस्तान र बंगलादेशमा पनि मधुमेहका बिरामीको संख्या धेरै छ तर यी मुलुकमा म्युकर्माइकोसिसका संक्रमितको संख्या भने धेरै छैन ।

पाकिस्तानमा पनि पछिल्लो केही सातामा म्युकर्माइकोसिसका पाँच संक्रमित थपिएका छन् । यीमध्ये १२ मे सम्ममा चारजनाको मृत्यु भएको थियो ।

ब्राजिलमा अहिलेसम्म कालो ढुसीका २९ संक्रमित देखिएका छन् । यद्यपि अहिलेसम्म यीमध्ये कति मानिस कोरोनाबाट संक्रमित भएका थिए र कतिजनामा मधुमेहको समस्या थियो भन्ने खुलेको छैन ।

रुसले पनि पछिल्लो केही समययता म्युकर्माइकोसिसबाट केही मानिस संक्रमित भएको जानकारी दिएको छ । तर, रुसले पनि यीमध्ये कति मानिसमा मधुमेह थियो भन्ने जानकारी दिएको छैन । अमेरिकामा मधुमेहका बिरामीको संख्या धेरै भए पनि म्युकर्माइकोसिसको संक्रमण भने निकै कम मानिसमा मात्र देखिएको छ ।

मधुमेहका मानिसलाई यो संक्रमण खतरनाक हुन सक्छ ?

जानकारहरुका अनुसार विशेषगरी धेरै मानिसलाई आफूलाई मधुमेहको समस्या छ भन्ने कुरा थाहा नभएकाले पनि समस्या बढेको छ । आईडीएफले गरेको एक अनुमानमा नेपाल, भारत, बंगलादेश र श्रीलंकामा करिब ५७ प्रतिशत मानिसलाई मधुमेहको बारेमा जानकारी नहुने पाइएको थियो । यसमध्ये पनि पाकिस्तानमा यस्ता मानिसको संख्या धेरै हुन सक्ने अनुमान छ ।

किर्गिस्तानको इन्टरनेशनल स्कुल अफ मेडिसिनका डा. हरिप्रसाद प्रकाश भन्छन्, ‘भारतमा ठूलो संख्यामा अनियन्त्रित मधुमेहका बिरामी छन्, किनकि मानिसहरु नियमित रुपमा आफ्नो स्वास्थ्य जाँच गर्दैनन् ।’

उनका अनुसार मधुमेहको समस्या अन्य रोगको परीक्षण गर्दा फेला पर्छ । साथै यसको उपचार पनि गराइँदैन । मधुमेहलाई नियन्त्रणमा नराख्दा धेरै किसिमको संक्रमण हुने सम्भावना बढी हुन्छ । जसमध्येको एउटा ढुसीको संक्रमण पनि हो ।

अफ्रिकी मुलुकमा पनि मधुमेहको समस्या पत्ता नलागेका मानिसको संख्या ६० प्रतिशत रहेको बताइएको छ । तर, संख्याको हिसाबमा भने यहाँ म्युकर्माइकोसिसका केवल तीन प्रतिशत संक्रमित फेला परेका छन् ।

डा. डेनिङ भन्छन्, ‘यसको कारण म्युकर्माइकोसिसका संक्रमित फेला नपरेका पनि हुन सक्छन् । यसको पहिचान गर्ने काम पनि सजिलो छैन ।’ नमुना संकलनमा हुने कठिनाइ र डाइग्नोस्टिक टेस्टको संवेदनशीलताको कमीको कारण कालो ढुसी पहिचान गर्न कठिन हुन्छ ।

कालो ढुसीको संक्रमण हुनुको कारण के हो ?

विशेषज्ञहरुका अनुसार कोरोनाका केही संक्रमितको उपचारमा अन्धाधुन्ध स्टेरोइडको प्रयोगलाई पनि कालो ढुसीको संक्रमणसँग जोडेर हेर्न सकिन्छ ।

कोरोनाका बिरामीको लागि  विशेषगरी दुई स्टेरोइड– डेक्सामेथासिन र मिथाइल प्रेडनिसोलोनको प्रयोग हुने गरेको छ ।

यसको प्रयोग कोरोनाका बिरामीको प्रतिरक्षा तन्त्रमा परेको असर कम गर्नका लागि गरिंदै आएको थियो । यद्यपि धेरैले डाक्टरको परामर्शविना नै स्टेरोइड लिएका थिए । जसको कारण पनि कालो ढुसीलगायत अन्य संक्रमण हुने जोखिम पनि बढी हुन सक्ने जानकारहरुले बताएका छन् ।

बेलायतमा करिब दुई हजार मानिसमा गरिएको अध्ययनमा डेक्सामेथासिनले कोरोनाका गम्भीर तथा कडा लक्षण देखिएका मानिसको मृत्युदर कम गर्न सहयोग गर्ने तर सामान्य लक्षण देखिएका संक्रमितको लागि भने यसको संक्रमण हानिकारक हुन सक्ने पाइएको थियो ।

अध्ययनमा स्टेरोइडको धेरै मात्रा लिनु पनि हानिकारक हुन सक्ने पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button