मधेशमा धुमधामसँग मनाइने सबभन्दा ठूलो पर्व छठपर्व सुरु

जनकपुरधाम, २२ कात्तिक ।

मिथिलाञ्चलसहित तराई मधेशमा धुमधामसँग मनाइने सबभन्दा ठूलो पर्व छठको मुख्य विधि आजबाट सुरु भएको छ । 

चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज ब्रतालुहरुले नुहाएर चोखो खाने गर्दछन् । आजको दिनलाई ‘नहाय खाय’ पनि भनिन्छ । आजदेखि छठ पर्वको मुख्य विधि सुरु भएको मानिन्छ । 

परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन ब्रतालुहरुले साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । 

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । 

यसवर्ष छठ पर्वको मुख्य दिन बुधबार परेको छ । बुधबार अस्ताउँदो र बिहीबार उदाउँदो सूर्याको अर्घ दिएर छठ पर्व सम्पन्न हुन्छ । 

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाईन्छ । 

त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । 

अर्घ दिने ब्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् ।

छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । 

छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लागेको छ । 

त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम भइरहेको छ ।

खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ । 

अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ । 

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button