घरको बीमा भनेको के हो ? यो किन आवश्यक छ ?

जीवनभरको कमाइले घर निर्माण गरेपछि त्यसको संरक्षण आवश्यक हुन्छ । घरको सामान्य मर्मत सम्भार र रंगरोगन त आफै गरौंला । तर, कहिलेकाहीँ भैपरी आउने समस्याहरु भूइँचालो, जमिन धस्सिने, बाढी, पहिरो, आगालागी लगायतले घरमा क्षति गरे कसरी परिपूर्ति गर्ने ?

यसका लागि हामीले घरको बीमा गर्नुपर्ने हुन्छ । बीमा गरेपछि भैपरी आउने क्षतिको परिपूर्ति बिमा कम्पनीले गरिदिन्छन् । त्यसैले पनि घरको बीमा गरेर ढुक्क हुँदा सबैभन्दा राम्रो हुने बीमा कम्पनी सञ्‍चालकहरु बताउँछन् ।

घरको बीमा भनेको के हो ?

घर दुई प्रकारका हुन्छन्, एउटा आवासिय घर र अर्को व्यवसायिक भवन । हामी बसोबास गर्ने आवासलाई आवासिय घर भनिन्छ । कुनै पनि व्यवसायिक वा व्यापारिक प्रयोजनको लागि बनाइएका व्यापारिक मल, बिजनेश कम्प्लेक्स, उद्योग, होटल लगायत व्यवसायिक घर हुन् । प्रभु इन्स्योरन्स कम्पनीकी  मार्केटीङ म्यानेजर जसोधा जोशीका अनुसार, आवासिय घरको बीमा एक वर्षको लागि गरिन्छ । बीमा गर्ने भनेको भैपरी आउने क्षतिको परिपूर्तिको प्रत्याभूतिका लागि गरिने करार भएको उनले बताए ।

घरको बीमा किन गर्ने ?

घरको बीमा गर्नु भनेको आफ्नो सम्पत्तीको सुरक्षा गर्नु हो । हामीले आफ्नो लागि एउटा सुन्दर घर बनाउँछौ । कुनै पनि बेला केही कारणवश वा अप्रत्याशित रुपमा प्राकृतिक विपत्ती (भूकम्प, आगलागी, बाढि, पहिरो) आएर घरमा क्षति पुर्याउन सक्छ । यदि हामीले घरको बीमा गरेका छौं भने आर्थिक हिसाबले सुरक्षित हुन सक्छौं ।

नेपालमा बैंकबाट कर्जा लिएर घर बनाउँदा कर्जा स्वीकृतिका लागि घरको बीमा पनि गराउँछ । बैंकले कर्जा सुरक्षणका लागि घर धितो राखेको हुन्छ । सँगसँगै भैपरी आउने विपत्तीको क्षतिपूर्तिका लागि घरको बीमा पनि गराएको हुन्छ । त्यसो गर्दा बैंक पनि कर्जा असुलीका लागि ढुक्क हुने गर्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स भैरहवा शाखाका प्रमुख सतिश भुसालका अनुसार, सामान्य रुमा बुझ्नुपर्दा तपाई हाम्रो आफ्नो सम्पत्तीको सुरक्षाको लागि नै बीमा गर्नु आवश्यक हुन्छ ।

घरको बीमा गर्ने प्रकृया 

भुसालका अनुसार, घरको बीमा गर्ने प्रकृया त्यति झन्झटिलो छैन । तपाईले घर बनाउँदा कति लगानी गर्नुभएको छ सोही अनुसार बीमा कम्पनीहरुका प्रतिनिधीले तपाईको प्रोपर्टीको मूल्यांकन गर्छन् । त्यसपछि सामान्य फारम भरेर सम्झौता गर्नुपर्ने हुन्छ ।

यस प्रक्रियामा आवश्यक पर्ने कागजातहरु निम्‍न छन्:

  • घर मालिकको विवरण
  • नागरिकताको प्रमाणपत्र
  • घरको चार किल्ला खुलेको कागज
  • घरजग्गाको लालपुर्जा

यस्ता छन् घरको प्रिमियर स्किमहरु

धेरैलाई लाग्‍न सक्छ कि घरको बीमा गराउँदा धेरै खर्च लाग्छ । तर बीमा कम्पनीका प्रतिनिधिहरुका अनुसार आवासिय घरको बीमा शुल्क धेरै सस्तो रहेको छ । एक करोडसम्मको प्रोपर्टीको बीमाशुल्क त्यसको ०.५ प्रतिशत पर्न आउने भुसाल बताउँछन् । अर्थात्, एक करोडको प्रोपर्टीको बीमा गराउँदा वार्षिक ५ हजार ६७२ रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

के–के क्षति हुँदा क्षतिपूर्ति पाइन्छ ?

घरको भौतिक संरचनामा आन्तरिक तथा बाह्य विभिन्‍न कारणले हुने क्षतिको परिपूर्ति बीमा कम्पनीले गर्छन् । घरमा के–कस्तो अवस्थामा भएको क्षतिको जिम्मा बीमा कम्पनीले लिन्छन् त ? लुम्बिनी जनरल इन्स्योरेन्सका शाखा प्रमुख भुसालले निम्‍न जानकारी गराए:

अग्‍नीजन्य क्षति

  • आगलागी वा अग्‍नीको कारणले भएको क्षति

हावाजन्य क्षति

  • हावा, हुरी, बतास आँधिबेहोरी वा तुफानको कारणले भएको क्षति
  • चक्रवात वा भुमरीको कारणले भएको क्षति
  • कुनै प्रकारको वायुमण्डलीय उथलपुथल

पानीजन्य क्षति

  • झरी वा वर्षाको पानीको कारणले भएको क्षति
  • असिना, हिउँ वा हिमनदी कारणले भएको क्षति
  • बाढी, डुबानको कारणले भएको क्षति
  • पाइप, बाँध, पोखरी, ढल वा पानीको निकास बन्द वा त्यसबाट चुहावट वा फुटेर भएको क्षति

भूमिजन्य क्षति

  • भुइँचालोको कारणले भएको क्षति
  • कुनै विष्फोटन भई जमिन हल्लिएको कारणले भएको क्षति

खस्‍ने वा भासिने सम्बन्धि क्षति

  •  पहिरो वा भू–स्खलनको कारणले भएको क्षति
  •  ढुङ्गा खस्‍ने कारणले भएको क्षति
  •  हिलो वा लेदो बग्‍ने कारणले भएको क्षति
  •  जमिन, ढिस्को, बालुवा, माटो, रोडा, ढुङ्गा, ईट्टा खस्‍ने वाभासिने कारणले भएको क्षति
  •  किनार, बाटो, सडक खस्‍ने वाभासिने कारणले भएको क्षति

चट्याङजन्य क्षति

  • चट्याङको कारणले भएको क्षति

विष्फोटनजन्य क्षति

  • विष्फोटनको कारणले भएको क्षतिअन्तरफुटनको कारणले भएको क्षति

आकाशीय सामाग्रीजन्य क्षति

  • हवाईयान, रकेट, आकाशमा उड्ने वस्तुको कारणले भएको क्षति
  • आकाशीय पण्डि, अपरिचित वस्तुको कारणले भएको क्षति
  • आकाशको माध्यमबाट अकास्मत आउने कुनै पनि यन्त्र, उपकरण वा वस्तुको कारणले भएको क्षति
  •  उड्ने वस्तुको उच्च आवाजको कारणले भएको क्षति

धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति

  •  सवारी साधन, रेल, जनावर वा अन्य चलायमान वस्तुले धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति
  •  रुख, विरुवा, खम्बा, तार, सामान, यन्त्र, उपकरण वा अन्य बाह्य वस्तुले धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति
  • अन्य घर वा भौतिक संरचनाले धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति

स्वजलन

  •  स्वजलन, आन्तरिक जलन वा आफै बलेको कारणले भएको क्षति

हुल, दंगा वा आतंकवादजन्य क्षति

  • हुल दंगाको कारणले भएको क्षति
  • हड्तालको कारणले भएको क्षति
  • रिसइवीपूर्ण कार्यको कारणले भएको क्षति
  • आतंककारी तथा विध्वंशात्मक क्रियाकलापका कारणले भएको क्षति
  • प्रतिघातका कारणले भएको क्षति

अन्य क्षति

मिसायल परिक्षण तथा अन्य कारणले भएको क्षति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button