
बैंकबाट ऋण लिएर घरजग्गा खरिद गरेपछि यी सावधानी अवश्य अपनाउनुहोस्
बैंकबाट कर्जा नलिई एकमुस्ट पैसा हालेर घरजग्गा जोड्ने सामथ्र्य सबैमा नहुन सक्छ । श्रीमान् र श्रीमतीले कमाउँदै घरखर्चबाट धेरथोर बचत गरी बैंकको किस्ता तिर्दै घरजग्गा खरिद गर्ने गरेको देखिन्छ । एकमुस्ट पैसा नहुनेले ऋण लिएर घरजग्गा जोड्न सक्ने अवसर बैंकहरूले उपलब्ध गराएका छन् ।

रियलस्टेट एजेन्सी प्रोपर्टी ३६० का सञ्चालक सन्तोष प्रधान बैंकबाट घरकर्जा लिएर घरजग्गा खरिद गर्नु ठूलो चुनौती भएको बताउँछन् । ‘बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्नु ठूलो चुनौती हो,’ उनी भन्छन्, ‘सँगसँगै आफ्नै सम्पत्तिको मालिक बन्ने यो महत्वपूर्ण अवसर पनि हो ।’

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले ३५ वर्षसम्मको घरकर्जा उपलब्ध गराउँदै आइरहेका छन् । ‘फिक्स्ड’ र ‘फ्लोटिङ’ दुवै ब्याजदरमा बैंकबाट सहजै घरकर्जा पाइन्छ । रियलस्टेट एजेन्सी नेपालभूमिका सञ्चालक विक्रम लामाका अनुसार घरजग्गा जोड्न बैंकबाट ऋण लिन हिम्मत गर्नुपर्छ । ‘पछिल्लो समय घरजग्गाको मूल्यमा उछाल आइरहेको हुनाले बैंकबाट ऋण लिएर घरजग्गा किन्दा पनि घाटा हुँदैन,’ उनी भन्छन्, ‘वर्षौंसम्म किस्ता बुझाउने गरी ऋण लिएर अहिले नै आफ्नै घरमा बस्न पाइन्छ ।’
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ठूलो हिस्सा घरजग्गामा लगानी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । माघ मसान्तसम्म सबै प्रकारका बैंकले ४ खर्ब ३८ अर्ब २३ करोड रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेका छन् । जसमध्ये व्यक्तिगत आवासीय घरजग्गातर्फ २ खर्ब ६६ अर्ब ५९ करोड रुपैयाँ र रियलस्टेट कर्जातर्फ १ खर्ब ७१ अर्ब ६३ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।
ऋण लिएर घरजग्गा जोडिसकेपछि सावधानीपूर्वक अगाडि बढ्नुपर्छ । यसो गर्दा वित्तीय हिसाबमा गम्भीर हानिबाट बच्न सकिन्छ । यस लेखमा बैंकबाट कर्जा लिएर घरजग्गा खरिद गरेपछि अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको छ ।
अनावश्यक ऋण नलिनुहोस्
सबैभन्दा पहिला आफूलाई कति ऋण आवश्यक छ ? त्यसको आंकलन गर्नुपर्छ । त्यसपछि मात्र बैंकमा घरकर्जाका लागि आवेदन दिनुपर्छ । सकभर घरजग्गा किन्दा धेरैभन्दा धेरै डाउनपेमेन्ट गर्दा हुन्छ । डाउन पेमेन्ट बढी गर्दा ऋणको बोझ कम हुनका साथै धेरै ब्याज तिर्नबाट बच्न सकिन्छ ।
साथीभाइ र इष्टमित्रसँग बिनाब्याजी सरसापट माग्नुहोस् । घरजग्गा किन्नका लागि भनेर पैसा मागेपछि ससुराली-माइती, दाजुभाइ, इष्टमित्रले सक्दो सहयोग गर्न सक्ने वरिष्ठ हास्यकलाकार एवं घरजग्गा व्यवसायी किरण केसी (रातामकै) बताउँछन् ।
सस्तो ब्याजमा ऋण दिने बैंकमा जानुहोस्
देशभरि थुप्रै बैंक र वित्तीय संस्था छन् । तिनको ब्याजदर पनि फरक–फरक हुने गर्छ । जुन बैंकको आधारदर (बेसरेट) कम छ, उसले सस्तो ब्याजदरमा ऋण दिन सक्छ । कर्जासम्बन्धी बुझेको मान्छेलाई सोधेर सबैभन्दा कम ब्याजदरमा ऋण दिने बैंकबाट घरकर्जा लिँदा केही रकम बचत गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक लगायतले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आइरहेका छन् ।
स्थितिलाई सहज रूपमा लिनुहोस्
घर खरिद गरेपछि पक्कै पनि तपाईंलाई आफ्नो घरमा भएको संरचनामा केही परिवर्तन गर्न वा नयाँ डिजाइन थप्ने इच्छा हुन सक्छ । नयाँ फर्निचर, नयाँ विद्युतीय उपकरण, रंगरोगनलगायत इन्टेरियर डिजाइन परिवर्तन गरेर आफ्नो सपनाको घरलाई थप सुन्दर र आकर्षक बनाउने चाहना धेरैको हुन्छ ।
घर किनिसकेपछि केही समयको लागि यस्ता कुरामा हतार गर्न नहुने नेपालभूमिका सञ्चालक लामा बताउँछन् । ‘घरमा बस्दै गएपछि बिस्तारै तपाईंको चाहना र आवश्यकता पहिचान हुँदै जान्छ,’ उनी भन्छन्, ‘केही महिना प्रतीक्षा गरेर आवश्यक आवश्यकताको पहिचान गरेर त्यसलाई प्राथमिकीकरण गरी घरलाई परिष्कृत गर्नु उत्तम हुनेछ ।’
ब्याजदरको सही ढंगले पालना गर्नुहोस्
कर्जा लिई घर खरिद गर्दा मासिक रूपमा बैंकलाई किस्ता बुझाउनुपर्छ । ब्याजदरमा जहिले पनि चनाखो भएर नजर राख्नुपर्ने हुन्छ । बैंकहरूले बेलाबखत घरकर्जासम्बन्धी नियमावलीमा हेरफेर गरिरहेका हुन्छन् । कतिपय बैंकले ग्राहकको हकमा ब्याजदर कम पर्ने गरी नीतिनियम बनाएका हुन्छन् । बैंकले ब्याजदर घटाउँदा तपाईंले लिएको ऋणको ब्याजदर घट्यो कि घटेन भनेर चनाखो हुनुपर्छ । बैंकले पुरानो ऋणमा ब्याजदर घटाएका रैनछन् भने बार्गेनिङ गर्न सकिन्छ ।
बैंकले निकट भविष्यमा फेरि पनि घरकर्जाको ब्याजदर घटाउन सक्छन् । यस्तो खण्डमा घर खरिदकर्ताले आफ्नो बैंकसँग ऋण वा ब्याजदर घटाउने सम्बन्धमा कुराकानी गरिरहनुपर्छ ।
ईएमआई नियमित बुझाउनुहोस्
यदि तपाईंले बनिबनाउ घर किन्न ऋण लिनुभएको छ भने अर्को महिनाको १० तारिखदेखि नै नियमित किस्ता बुझाउनुपर्ने हुन्छ । यदि एक किस्ता मात्र पनि ‘डिफल्ट’ भयो भने बैंकले ताकेता गर्न थाल्छ । तीन किस्तासम्म पनि ईएमआई नबुझाए बैंकले ३५ दिने सूचना निकालेर तपाईंको धितो लिलामको प्रक्रिया सुरु गर्न थाल्छन् । त्यसैले तपाईं नियमित किस्ता बुझाउनेतर्फ निकै सचेत हुनुपर्छ ।
घरकर्जाले क्षति नपुगोस्
बैंकबाट ऋण लिएर घर खरिद गरेपछि घरको व्यवस्था त हुन्छ तर ऋणबाट उकासिन भने समय लाग्छ । यो एक किसिमको असहज अवस्था हो । कहिलेकाहीँ तपाईंको आम्दानीले घरखर्च चलाएर बचत गरी किस्ता बुझाउन नपुग्न पनि सक्छ । कोभिड–१९ महामारीपछि धेरैको जागिर गुम्नुका साथै खाईपाई गर्दै आइरहेको तलब पनि घटेपछि धेरैलाई बैंकको किस्ता बुझाउन समस्या परेको देखिन्छ । यही समय कतिपयको व्यापार–व्यवसाय चौपट भयो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक हेर्दा घरजग्गा धितो बन्धक राख्नेभन्दा फुकुवा गर्नेको संख्या आधा छ ।
यद्यपि, प्रत्येक महिना कर्जाको किस्ता र ब्याज तिर्दै जानु तपाईंको जिम्मेवारी हो । बैंकबाट ऋण लिनेबित्तिकै ‘ऋणी भइयो’ भनेर पनि चिन्ता गर्नु हुँदैन । नेपालभूमि रियलस्टेटका सञ्चालक लामाका अनुसार नेपालमा घरजग्गामा गरेको लगानीले सबैभन्दा बढी प्रतिफल दिने गरेको छ । बैंकमा अग्रिम ऋण भुक्तानी गर्न पाउने सुविधा पनि हुन्छ । त्यसका लागि तपाईंसँग बचत बढी हुनुपर्छ । तपाईंले बैंकबाट ऋण लिएर घरजग्गा जोडेपछि अतिरिक्त आम्दानी गर्न सक्नुहुन्छ । जस्तै, पार्टटाइम जागिर गर्न सकिन्छ । परिवारको नाममा व्यापार–व्यवसाय थालनी गर्न सकिन्छ ।
उत्तम विकल्प हेर्नुहोस्
मानिस सधैँ एउटै कुरामा सीमित रहनु हुँदैन । समय परिवर्तनसँगै मानिस केही वर्षमा आफ्नो घरलाई परिष्कृत र परिमार्जन गर्न चाहन्छ । मानिसले आफ्नो स्वामित्वमा रहेको घर बेच्न चाहन्छ भने पक्कै पनि आपूm नयाँ घरमा जान चाहन्छ भन्ने बुझिन्छ । राम्रो विकल्प खोज्नु भनेको सधैँ आफ्नो मनोबललाई उच्च राख्नु हो । यसरी राम्रो मूल्यमा घर बेच्न सकियो भने नयाँ घर लिन सकिन्छ । त्यसैले सधँै उत्तम विकल्पको खोजी गरी सिर्जनात्मक हुन आवश्यक रहेको प्रोपर्टी ३६० का सञ्चालक प्रधान बताउँछन् ।



