के लिभिङ टुगेदरबाट जन्मिएको बच्चाले अंश पाउँछ ? के छ नेपालमा कानुनी व्यवस्था ?

नेपालमा विवाहलाई धार्मिक र संस्कृतिक रुपमा बिशेष महत्वका साथ हेर्ने गरिन्छ । हाम्रो समाजमा विवाह एउटा यस्तो बन्धन हो जसले विशेष किसिमको सामाजिक सम्बन्धहरुको स्थापना गर्दछ । युगौंदेखि चलिआएको सामाजिक मूल्य र मान्यतालाई विवाह र विवाह संग जोडिएको रिति रिवाजहरुले जीवन्त राख्‍न समेत महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।

हाम्रो समाजमा विवाह बिभिन्‍न किसिमले गर्ने गरिन्छ । यसको प्रत्यक्ष सम्बन्ध जात-जाति,धर्म र समुदाय संग जोडिएको हुन्छ । पारिवारिक रुपमा गरिने विवाह अर्थात मागि विवाहले हाम्रो समाजमा विशेष स्थान राख्दछ भने पछिल्लो समय लभ म्यारिज अर्थात प्रेम विवाहलाई पनि हाम्रो समाजले उतिकै सहज तरिकाले स्विकार्दै आईरहेको छ, साथै कानूनद्बारा गरिने विवाहलाई पनि हाम्रो समाजले अपनाउँदै आएको पाईन्छ ।

हाम्रो समाजमा विवाहले नै सामाजिक तथा कानुनी रुपमा दुई व्यक्तिहरुलाई सँगै बस्‍ने आधार प्रदान गर्दछ । विवाह भएका व्यक्तिहरु आफ्नो पारिवारिक दायित्व तथा आवश्यकता पुरा गर्नका लागि र सामाजिक रुपमा पनि सँगै जिवन यापन गर्नका लागि संगै बस्‍ने गर्दछन् । तर हालको अवस्थामा आफ्नो आवश्यकताहरु पुरा गर्नका लागि विवाहनै गर्नु पर्छ भन्‍ने छैन । पश्‍चिमा देशहरुमा लिभिङ टुगेदर अर्थात सरल भाषामा “संगै बस्‍ने” अवधारणाको विकास भएसँगै यसले दुई व्यक्तिहरु सँगै बस्‍नका लागि विवाहनै गर्नु पर्छ भन्‍ने मानसिकतालाई पराजित गर्दै आएको छ । लिभिङ टुगेदरको अवधारणाको विकाससँगै दुई व्यक्तिहरुले सहज रुपमा विवाहबाट उत्पन्‍न हुने दायित्वहरु बाहेक पनि अन्य दायित्वहरु पुरा गर्दै सँगै बस्‍न सकिन्छ भन्‍ने कुरा पुष्‍टि गरिदिएको छ ।  पश्‍चिमा देशहरुबाट सुरु भएको यो चलनले विश्‍वभर सहजै आफ्नो पहिचान स्थापित गराउँदै गयो भने नेपालको समाज पनि लिभिङ टुगेदरलाई अंगिकार गर्न पछि परेको छैन । हालको सामाजमा “लिभिङ टुगेदर” आवश्यकता रुपमा विकास हुँदै गएको छ भने कतिपय देशमा यसले कानूनी मान्यता समेत प्राप्त गरिसकेको छ । नेपालमा पनि यसलाई कानूनी मान्यता दिनु पर्दछ भन्‍ने बहसहरु नउठेका भने हैनन् ।  तर, जसरी आज भन्दा २० बर्ष पहिलेको समाजमा प्रेम विवाहलाई अनैतिक मानिन्थ्यो त्यसरीनै हालको अवस्थामा लिभिङ टुगेदरलाई अनैतिकरण गरिएको छ । हाम्रो समाजलाई पनि यसको कानूनी मान्यता उतिकै आवश्यक छ भन्‍ने कुरा भने समयले निर्धारण गर्दै जानेछ । तसर्थ आजको लेखमा हामी लिभिङ टुगेदर र यससँग जोडिएका कानूनी बिषयहरुका बारेमा चर्चा गर्ने छौ ।

नेपालको विवाहको कानूनी परिभाषा 

प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ ले “कुनै पुरुष र महिला विच कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्‍नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ” भनि परिभाषित गरेको छ ।

त्यस्तै सोही ऐनको दफा ६८ ले “विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ” भनि उल्लेख गरेको छ ।

लिभिङ टुगेदरको परिभाषा : 

दुई वा दुई भन्दा बढी व्यक्तिहरु आफ्नो मन्जुरीले एक अर्कामा दायित्वहरुको निर्भरताको लागि सहवासको अनुमतिसहित सँगै बस्‍नु नै लिभिङ टुगेदर हो ।

के लिभिङ टुगेदर र पेईङ गेष्‍ट (Paying Guest) एउटै हो? 

सामान्यतया सँगै बस्‍नु र लिभिङ टुगेदर सरह संगै बस्‍नुमा केहि कुराहरु फरक भने हुने गर्दछ । जस्तै लिभिङ टुगेदरमा सहवासको समेत सहमति हुने गर्दछ । अतिथि सरह पेईङ गेष्‍ट भएर बस्‍नु वा अन्य कुनै तरिकाले घर वा फल्याट सेयर गरेर बस्‍नुमा भने सहवासको सहमति नहुन सक्दछ । यसै कारण लिभिङ टुगेदरलाई अनौपचारिक वा अस्थायी विवाह सरह मान्यता दिई यसको दर्ता गर्न कानून बनाउनु पर्दछ भन्‍ने समेत आवाज उठिरहेको छ ।

 के विवाह र लिभिङ टुगेदर एउटै हो ?

नेपालको प्रचलित कानूनको परिभाषालाई विश्लेषण गर्ने हो भने विवाह र लिभिङ टुगेदर एउटै हैन् । तर, यि दुइ बिच सम्बन्ध रहेको छ भन्‍ने कुरा पक्कै कानूनलेनै स्पष्‍ट पारिदिएको छ । माथि उल्लेखित परिभाषाहरुमा विवाहलाई मात्र मान्यता दिएको र स्पष्‍ट रुपमा लिभिङ टुगेदरलाई समावेश नगरेको भएता पनि मुलुकी देवानी संहिता, २०७४ कै दफा ७४ मा “कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बिच स्वतः विवाह भएको मानिनेछ” भने उल्लेख गरेको छ । यस व्यवस्थाले भने कुनै न कुनै रुपमा लिभिङ टुगेदर र विवाहलाई अन्तरसम्बन्धित बनाउन खोजेको छ ।

के नेपालमा लिभिङ टुगेदरलाई कानूनी मान्यता प्रदान गरिएको छ ? 

हालसम्म नेपालमा लिभिङ टुगेदरसँग सम्बन्धित छुटै कानून बनिसेकेको छैन् तर मुलुकी देवानी संहिता, २०७४ को दफा ७४ को कानूनी व्यवस्था हेर्ने हो भने चाहिँ यसलाई कानूनी मान्यता दिईएको हो कि जस्तो पनि बुझिन्छ । उक्त व्यवस्थाअनुसार “कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बिच स्वतः विवाह भएको मानिनेछ” भनि उल्लेख भएको छ । यसको अर्थ कुनै पुरुष र महिला बिच शारिरीक सम्पर्क भएको आवस्थामा कुनै शिशुको जन्म भएमा त्यसरी जन्मिएको शिशु र त्यसरी कायम भएको सम्बन्धलाई पनि कानूनको परिधिमा ल्याउन खोजिएको छ ।

तर, यसरी जन्मिएको हरेक शिशु लिभिङ टुगेदरकै सम्बन्धबाट जन्मिएको हुन्छ भन्‍ने परिकल्पना गर्नु चाहिँ हुँदैन । कतिपय अवस्थामा महिला यौन शोषणमा परेको बेलामा वा कुनै पुरुष वा महिलाले यौन तृष्णा मेटाउनका लागि एक अर्कासंग यौन सम्बन्ध राख्दा वा प्रेम सम्बन्धमा यौन सम्पर्क राख्‍दा समेत शिशु जन्मिने अवस्था हुन सक्दछ । तसर्थ यस कानूनी व्यवस्थाले प्रत्यक्ष रुपमा लिभिङ टुगेदर भनेर परिभाषित नगरेतापनि यसरी राखिएको सम्बन्ध र उक्त सम्बन्धबाट शिशु जन्मिए पश्‍चात यस्तो सम्बन्ध स्वतः विवाहमा परिणत हुने बाध्यत्मक व्यवस्था भने कानूनले गरिदिएको छ ।

यसरी जन्मिएको शिशुको अधिकार के के हुन्छ ?

शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भैसके पश्‍चात त्यस्तो सम्बन्ध कानूनी रुपमा स्वतः विवाहमा परिणत हुने भएकाले शारिरीक सम्पर्कबाट जन्मिएको शिशुको कानून बमोजिमको अधिकारमा कुनै असर पर्दैन । जस्तै-

  • शिशुको मातृत्व वा पितृत्व निर्धारण गर्नु पर्दा शिशुको आमा वा बाबुको आधारमा गर्नु पर्ने हुन्छ  ।
  •  शिशुले धर्म, संस्कृति, चलन र परम्परा अनुसार निजको आमा वा बाबुले राखेको नाम पाउनेछ ।
  •  शिशुले आमा, बाबु, बाजे तथा बजैको नाम उल्लेख गर्न पाउने ।
  •  शिशुको जन्म दर्ता गर्नु पर्ने ।
  •  नाबालकलाई आमा बाबुले संयुक्त रूपमा हेरचाह र स्याहार सम्भार गर्नु पर्नेछ ।
  •  शिशु आमा वा बाबुको जिम्मामा रहने
  •  शिशुले आवश्यक हेरचाह र स्याहार सम्भार पाउने
  • अंशियार कायम रहने
  • भेदभाव गर्न नहुने
  • यस्तो शारिरीक सम्पर्कबाट जन्मिएको शिशुको अंश हक कायम नै रहने ।

लिभिङ टुगेदरमा सँगै बस्दा कस्तो किसिमको जटिलता आउन सक्छ ? 

लिभिङ टुगेदरमा सँगै बस्दा सहजता भएता पनि सम्बन्ध बिग्रदै गएको अवस्थामा यसले धेरै जटिलताहरु ल्याउन सक्दछ । लिभिङ टुगेदरको सुरुवाती अवस्थामा सम्बन्ध राम्रो भएर सहमतिमै यौन सम्पर्क राखेको आवस्थामा पछि सम्बन्ध बिग्रदै गएको आवस्थामा भने यसरी नै राखिएको यौन सम्बन्धनै जटिलताको एउटा कारण बन्‍न जान्छ ।

महिला आयोगको तथ्याङक भन्छ- लिभिङ टुगेदरबाट पुरुष भन्दा महिलाहरु धेरै पिडित छन् । सधैं सँगै बस्‍ने र पछि विवाह गर्ने सहमतिमा यौन सम्पर्क राखी सके पश्‍चात महिला गर्भवती भएको अवस्थामा पुरुष महिलालाई छोड्ने, पटकपटक गर्भपतन गर्न लगाउने, अर्को विवाह गर्ने, हिंसा गर्ने जस्ता अपराधहरुको सिर्जना हुने गर्दछ ।

साथै लिभिङ टुगेदरमा रहेको आवस्था बनाएका भिडियो र खिचिएका फोटोहरु प्रयोग गरी धम्की दिने, मोटो रकम माग्‍न बार्गेनिङ गर्ने जस्ता आपराधहरु पनि सार्वजनिक भएका छन् भने बदलाको भावनाले त्यस्ता फोटो तथा भिडियोहरु पोर्न साईटहरुमा अपलोड गर्ने जस्ता अपराधहरु पनि नेपाली समाजमा पर्याप्त छन् ।

यसका अलावा लिभिङ टुगेदरमा सम्बन्ध राम्रो भएसम्म यौन सम्पर्क गर्ने र सम्बन्ध बिग्रिएपछि त्यही यौन सम्पर्कलाई जबरजस्ती करणीको संज्ञा दिई उजुरी गर्ने जस्ता बिषयहरु पनि सार्वजनिक भएका छन् ।  प्रारम्भमा लिभिङ टुगेदरमा सहजता भएता पनि कालान्तरमा यसले बिभिन्‍न समस्याहरु ल्याउने गरेको कुरा महिला आयोगको तथ्याङले देखाउँछ ।

लिभिङ टुगेदरबाट पिडित भएकाले कानूनी उपचार पाउन सक्छन् त? 

नेपालमा लिभिङ टुगेदरसँग सम्बन्धित कानून नभएकै कारणले यस्तो सम्बन्धबाट पिडित पुरुष वा महिलाले कानूनी उपचार पाउने व्यवस्था छैन् । यस्तो सम्बन्धबाट जन्मिएको शिशु र महिलाको आधिकारलाई केही हदसम्म संरक्षण गर्नकै निम्ति पनि मुलुकी देवानी संहिता,२९७४ को दफा ७४ ले पछिल्ले समयमा भुमिका निर्वाह गरिरहेको छ । यस दफाको प्रयोगले कम्तिमा पिडित महिलाले श्रीमान् पाउने र जन्मिएको शिशुले बावु र परिवार पाउने अवस्था भने आएको छ । तर, लिभिङ टुगेदरमा बसेको अवस्थामा भएका हिंसाहरुलाई सम्बोधन गर्दै कानून निर्वाण गर्नु भने अपरिहार्य छ ।

लिभिङ टुगेदरबाट पिडितहरुले कहाँ उजुरी दिने त? 

कानूनी व्यवस्था नभएकै कारणले यस्तो सम्बन्धबाट पिडितहरुले आधिकारीक रुपमा कहि कतै उजुरी दिने ठाउँ छैन् । तर, महिलाहरुको हकमा भने महिला आयोगले यस्तो विवादहरुको समाधन गर्नका लागि उजुरी दर्ता गर्ने र अनुसन्धान गर्ने गरेको पाईएको छ । घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अन्तर्गत यस किसिमको सम्बन्धबाट पिडित हुनेहरुले प्रहरी कार्यालय वा राष्‍ट्रिय महिला आयोग वा स्थानीय तह अन्तर्गत पीडित बसोबास गरेको वा पीडक रहेको वा घटना भएको गाउँपालिका वा नगरपालिका वा नगरपालिकाको वडा समितिमा समेत उजुरी दिने गरेको पाईन्छ । साथै सोही ऐनमा पिडितले चाहेमा सोझै सम्बन्धित जिल्ला अदालतमा उजुरी दिन सक्ने व्यवस्था समेत गरेको छ ।

के लिभिङ टुगेदरमा भएको हिंसालाई घरेलु हिंसा भन्‍न मिल्छ? 

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ मा “घरेलु हिंसा भन्‍नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ” भनि परिभाषित गरेको छ भने घरेलु सम्बन्धलाई परिभाषित गर्दै “घरेलु सम्बन्ध भन्‍नाले बंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बिचमा भएको सम्बन्ध सम्झनु पर्छ र सो शब्दले सँगै बसेका जोडी वा आंश लिई वा नलिई भिन्र बसेका पति वा पत्‍नीको सम्बन्धलाई समेत जानउँछ” भनि परिभाषित गरेको छ । यसै परिभाषा अन्तर्गत लिभिङ टुगेदरमा हुने हिंसालाई समेत घरेलु हिंसाको रुपमा हेरिने गरीएको छ ।

कस्ता छन् नजिरहरु ? 

लिभिङ टुगेदरसँग सम्बन्धित कुनै स्पष्‍ट नजिरहरु सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नभएता पनि यस बिषयमा २०५५ सालमा अन्‍नपुर्ण राणा विरुद्द गोरख सम्शेर ज.व.रा समेत भएको निर्णय नम्बर ६५८८ मा विस्तृत रुपमा उल्लेख गरिएको छ । उक्त मुद्दा मानाचामलको विवादसँग सम्बन्धित भएता पनि सम्मानित सर्वोच्च अदालतले नजिर प्रतिपादन गर्दै भनेको छ “कुनै पनि महिलाको योनी तथा पाठेघर जाँचबाट सो महिला विवाहित नै हुन भनी ठोकुवा गर्न मिल्ने पनि होइन । कुमारित्व (Verginity) कायम रहेको नदेखिनु तथा विवाहित देखिनु दुई अलग-अलग अवस्था हो । कानूनी दृष्‍टिबाट पनि त्यही हो । कुमारित्व भंग भएको हुदैमा विवाहित नै हो भनी अनुमान गर्न सकिदैन । जब उमेर अनुसार कुनै महिलाको कुनै पुरुषसँग कतै कुनै पनि बेला यौन सम्पर्क (Sex) रहन सक्छ । हाल यो सामान्य कुरा भई सकेको छ । जब त्यसरी यौन सम्पर्क रहन सक्छ भने त्यसबाट चाहेर वा नचाहेर पनि गर्भ रही बच्चा जन्मन सक्छ । त्यो पनि स्वाभाविकै हुन्छ ।

बदलिदो सामाजिक परिवेशलाई हेर्ने हो भने पनि कुमारित्व कायम राख्‍ने वा स्वछन्द भएर आफूले मन पराएको मानिससँग यौन सम्पर्क राख्‍दै जाने भन्‍ने कुरा सम्बन्धित व्यक्तिको आफ्नो निजी आचरण (Private affair) को कुरा हो । कसैले खुलस्त भएर त्यस्तो आचरण गरि हिड्छन् भने कसैले लुकिछिपी अर्थात् गोप्य रुपमा त्यस्तो आचरण गर्दै जाने पनि हुन सक्छ । त्यस्तो यौन सम्पर्क (Sex) भएको हुदैमा महिलाको कानूनी स्थितिमा खास परिवर्तन हुन सक्दैन । कसै कसैले पहिले यौन सम्पर्क राखी त्यसबाट त्यसबाट बच्चा समेत जन्मिए पछि मात्र विधिवत रुपमा लोग्‍ने स्वास्‍नीको सम्बन्धमा जोड्न सक्छन् ।

अझ यस भन्दा अगाडि बढेर भन्‍ने हो भने पनि यौन सम्पर्क तथा अन्य यावत दृष्‍टिबाट लोग्‍ने स्वास्‍नी जस्तो गरी बसे हिडेडुलेको देखिने भए पनि विवाहको सुत्र नजोडी परस्पर स्वतन्त्र (Independent) भएर वर्षौ सम्म सगै बसी आउन नसक्ने अवस्था पनि देखिदैन । अब यस्तोलाई पनि समाजले मान्यता दिदै जान पनि स्थिति छ भने कुनै पनि केटीले आफु Girl Friend भइ कुन केटा साथी Boy friend बनाएर सबै सन्तुष्‍टि लिएर हिडडुल गर्न सक्छे भने त्यस्तो भएको हुदैमा कुनै एक केटी र कुनै एक केटाको विवाह नै भयो भनेर मान्‍न सकिदैन । त्यसमा पनि हाम्रो सामाजिक परिपाटी अनुसार अभिभावक वा आमा बाबुबाट विधिवत रुपमा विवाह गरि दिएको अवस्था छैन भने केटीले आफुखुसी कतै कसैसँग यौन सम्पर्क राख्‍न पुगी र त्यसबाट बच्चा पैदा भयो भन्दैमा त्यो केटीले त्यो केटासँग विवाह गरेको हो भनी स्वतः भन्‍न मिल्ने होइन ।

वास्तवमा परम्परागत रुपमा वा विधि विधान केही नगरी सामान्य ढंगबाट विवाह भएको वा कानन बमोजिम दर्ता गरी विवाह भएको हो भन्‍ने तथ्ययुक्त आधार प्रमाण बेगर कुनै महिलाको कुनै पुरुषसँग विवाह भइसकेको हो भनी निर्क्यौल गर्न उपयुक्त सन्दलर्भमा मिल्ने देखिन आउदैन ।

अहिलेको समाजमा (Modern society) हरेक क्षेत्रमा आधुनिकता तिर बढी रहेको र अहिलेको यो समाजमा व्यक्तिगत स्वतन्त्रता (Personal Liberty) मा जोड दिने हुँदा यस्तो प्रकारको विवाह पूर्वको यौन सम्पर्ककै आधारबाट मात्र वैवाहिक स्थिति कायम हुन सक्दैन र यस्तो भएकोले मात्र कुनै केटीको सम्बन्धमा आमा बाबुको दायित्व समाप्त नै भयो भनी मान्‍न मिल्ने स्थिति पनि देखि आउदैन ।

अर्को तर्फ विवाह नभइकन पनि यौन सम्पर्क तथा बच्चा हुन सक्ने वास्तविकता समेतलाई लिएर नै मुलुकी ऐन अंशबण्डाको ७ नं. मा कुनै खास लोग्‍ने नतुल्याई बसेकी स्वास्‍नीबाट जन्मेको सन्तानले बाबुको ठेगाना नलागेमा आमाको संपत्तिमा मात्र अंश पाउछन् भन्‍ने व्यवस्था भएको हुनुपर्छ र विवाह नहुदै कन्याबाट जन्मेका सन्तानको वैधता वा पितृत्वको प्रश्‍न उठ्न सक्ने हुन्छ । तर त्यस्तो Legitimacy of chlid को प्रश्‍नका सम्बन्धमा छुट्टै प्रकृया र आधार कायम हुन सक्ने हुदा यहाँ अरु विवेचना गरी रहन पर्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button