
रसिया–युक्रेन युद्धले बढायो निर्माण सामाग्रीको भाउ, एक तला घरको लागत कति बढ्यो ?
रसियाले युक्रेनमाथि आक्रमण गर्न थालेसँगै पुरै विश्वबजार नै महंगी र अनिश्चितताको चपेटामा पर्न थालेको छ । युरोपका दुई देशबीचको युद्धको बाछिटाहरु दक्षिण एशियाली मुलकका नेपाली उपभोक्तासम्म आइपुगेको छ ।

दुई देशबीचको युद्धले अमेरिकी डलर, पेट्रोलियम पदार्थ, सुनचाँदी, फलाम, खाने तेल, खाद्यवस्तुको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।

निर्माण सामाग्रीको बजार पनि महंगिएको छ । यही बेला डन्डीको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । अहिले बजारमा डन्डी प्रतिकिलो १३०–३५ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । यही रफ्तारमा मूल्य बढिरहे डन्डीको भाउ किलोकै १४५–१५० रुपैयाँ हाराहारी पुग्ने अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपाने बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्यसँगै कोइला र फर्नेस आयलको पनि मूल्य बढ्दा डन्डी र सिमेन्टको मूल्य वृद्धिमा दबाब सिर्जना भइरहेको नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् ।
डलरको मूल्य पनि अहिले उच्च बिन्दूमा पुगेको छ जसले गर्दा तेस्रो मुलुकबाट आयात गरिने सम्पूर्ण निर्माण सामाग्रीको मूल्य बढेको छ ।
एक तले घरको लागत ६ लाख बढ्यो
बजारमा निर्माण सामाग्रीको मूल्य र ज्याला बढेपछि घर बनाउने लागत पनि करीव ६ लाख रुपैयाँले बढेको स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेज प्रालिका प्रोजेक्ट म्यानेजर रमेश फुयाँल बताउँछन् । अहिले फलामे डन्डीको मूल्य बढेर इतिहासकै उच्च बिन्दूमा पुगेको छ ।
एक तला घर बनाउन दुई बर्षअघि र अहिलेको लागत अनुमान
| निर्माण सामाग्री | २ बर्षअघिको भाउ | अहिलेको भाउ |
| सिमेन्ट | २.७० लाख | ३ लाख |
| डन्डी | ५ लाख | ७–७.५० लाख |
| इँटा | १.८० लाख | २–२.५० लाख |
| बालुवा | १.६८ लाख | २ लाख |
| गिट्टी | २.१० लाख | २ लाख |
| झ्याल–ढोका | २.८३ लाख | ३ लाख |
| बाथरुम | ६० हजार | ६० हजार |
| भान्छा | १.५० लाख | २ लाख |
| रंगरोगन | १.८० लाख | २ लाख |
| ठेकेदारको ज्याला | ५ लाख | ६ लाख |
| रेलिङ | ८० हजार | १.५० लाख |
| बिजुली | २.५० लाख | २.५० लाख |
| प्लम्बिङ एन्ड सेनेटरी | १.५० लाख | २.५० लाख |
| ट्यांकी, पम्प, अन्य | १.६५ लाख | १.५० लाख |
| कम्पाउन्ड गेट | ८० हजार | १.५० लाख |
| कुल लागत (औषतमा) | ३२ लाख | ३८ लाख |
कोइला र फर्नेस आयलको मूल्य बढेपछि सिमेन्टको मूल्य पनि बढ्न थालेको छ । ‘सिमेन्टको मूल्य २५ प्रतिशतसम्म बढ्नुपर्ने थियो, तर अहिले निर्माण क्षेत्र सुस्ताउँदा सिमेन्टको माग कम भएपछि त्यति मूल्य बढ्न सकेको छैन’ नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले बताए ।
हामीले निर्माण सामाग्रीहरुको मूल्य बढेपछि पछिल्लो दुई बर्षमा काठमाडौं उपत्यकामा एउटा मध्यम खालको एक तले घर बनाउने खर्च (लागत) कति बढ्यो ? भनेर विस्तृतमा जानकारी गराउँदै छौं ।
चार आनाको घडेरीमा एक तलाको चारकोठे घर बनाउन कति लगानी लाग्छ ? ‘दुई बर्षअघि मध्यमस्तरको घर बनाउँदा प्रतिस्क्वायर फिट ३२ सय रुपैयाँ हाराहारी लागत पर्न आउँथ्यो । अर्थात्, आठ-नौं सय स्क्वायर फिटरको घर बनाउँदा करिब ३०–३२ लाख रुपैयाँ लाग्थ्यो’ फुयाँलले भने, ‘निर्माण सामाग्रीदेखि ज्यालासम्म वृद्धि हुँदा सोही प्रकारको घर बनाउँदा ३७–३८ लाखसम्म लाग्छ ।’
केमा कति खर्च ?
डन्डीः ७–७.५० लाखसम्म
निर्माणमा नभई नहुने सामाग्री हो डन्डी । तर, पछिल्लो समय डन्डीको मूल्य बढेर इतिहासकै उच्च बिन्दूमा पुगेको छ । बजारमा ब्रान्ड हेरिकन डन्डी प्रतिकिलो १२५ देखि १३५ रुपैयाँसम्म बिक्री भइरहेको छ । जबकी, कोभिडअघि डन्डीको भाउ ८० देखि ९५ रुपैयाँ हाराहारी रहेको थियो ।
पञ्चकन्या, हिमाल र हामा स्टिल अरु ब्रान्डको तुलनामा ८–१० रुपैयाँसम्म महंगो पर्छ । लक्ष्मी, सर्वोत्तम, जगदम्बा लगायत डन्डी अलि सस्तो पर्छ ।
एक तलाको घर बनाउन करीव ६ टनजति डन्डी चाहिन्छ । एक तलाको घर बनाउन ७ देखि साढे ७ लाख रुपैयाँसम्म डन्डीमै खर्च गर्नुपर्ने इञ्जिनियर फुयाँल बताउँछन् ।
सिमेन्टः ३ लाख
एक तले घर ठड्याउँदा २२० देखि २४० बोरा ओपीसी र करीव ८० बोरा पीपीसी सिमेन्ट लाग्छ । ढलान, पिलर, बिम लगायतमा ओपीसी र गारो लगाउन तथा प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग गरिन्छ ।
अहिलेको बजार मूल्य अनुसार एक तले घर बनाउन ओपीसी र पीपीसी गरी ३ लाख रुपैयाँको सिमेन्ट लाग्ने फुयाँलले बताए । दुई बर्षअघि एक तले घर बनाउन सिमेन्टमा २ लाख ८० हजार रुपैयाँ खर्च लाग्थ्यो ।
इँट्टाः २ देखि २.५० लाखसम्म
बजारमा धेरै प्रकारको इँटा पाइन्छ । मूल्यमा पनि धेरै अन्तर हुने गर्छ । एक तलाको घरमा वाल र कम्पाउन्ड लगाउन करिव ११-१२ हजार इँटा चाहिन्छ । मध्यम खालको इँटा प्रयोग गर्दा पनि करिव २ लाख रुपैयाँ खर्च लाग्ने फुयाँल बताउँछन् ।
यदि तपाईंले राम्रो गुणस्तरको इँटा प्रयोग गर्नुभयो भने साढे दुई लाख रुपैयाँसम्म इँटामै खर्च हुन सक्छ ।
बालुवाः २ लाख
दुई बर्षअघिको तुलनामा बालुवाको मूल्य पनि बढेको छ । माटो नमिसिएको सफा बालुवा प्रयोग गर्दा कम्तिमा दुई लाख रुपैयाँ बालुवामै खर्च हुन्छ । दुई बर्षअघि बालुवामा १ लाख ७० हजार रुपैयाँ हाराहारी खर्च लाग्थ्यो । फुयाँल भन्छन्, ‘एक तलाको घर बनाउन ठूलो गाडीको ६ टिपजति बालुवा चाहिन्छ ।’
गिट्टीः २ लाख
एक तले घर बनाउन करिव ७ टिपर गिट्टी चाहिन्छ । एक टिपर गिट्टीको मूल्य ३० हजार हाराहारी पर्छ । ७ टिपर गिट्टी किन्न २ लाख रुपैयाँ लाग्छ । तपाईंले गिट्टी छनोट गर्दा चिल्लो नभएर खस्राे कोण–कोण निस्किएको छान्नुपर्छ ।
झ्याल–ढोकाः ३ लाख
घर बनाएपछि झ्याल–ढोका त राख्नैपर्याे । अहिले काठको मूल्य प्रतिस्क्वायर फिट ८ सय रुपैयाँ हाराहारी छ । एउटा झ्याल ६ फिट बाई ५ फिटको बनाउनुपर्छ । यो भनेको एउटा झ्याल तयार पार्दा करिब २५ हजार रुपैयाँ पर्छ । एउटा घरमा झन्डै ७ वटासम्म झ्याल राख्नुपर्ने हुन्छ ।
एक तलाको घरमा चारवटा कोठा र एउटा शाैचालयमा गरी कुल ६ वटा ढोका चाहिन्छन् । एउटा ढोका ३ फिट चौडाइ र ७ फिट उचाइको हुन्छ । फुयाल भन्छन्, ‘एउटा ढोकाको मूल्य करिब १८ हजारजति पर्छ ।’
झ्याल र ढोकामा मात्रै तीन लाख रुपैयाँ खर्च लाग्छ । तर, तपाइँले काठको सट्टामा आल्मुनियम, युपिभिसी लगायत प्रयोग गर्नुभयो भने खर्च कम लाग्छ ।
बाथरुमः ६० हजार
अहिले पनि एउटा सामान्य बाथरुम तयार पार्न ६० हजार रुपैयाँ हाराहारी खर्च लाग्ने फुयाँल सुनाउँछन् । बाथरुममा राखिने टायल, धारा, क्याबिन, बाथटव, बेसिनलगायतले पनि लागत निर्धारण गरिदिन्छ । ‘एउटै बाथरुम बनाउन न्यूनतम ६० हजारदेखि ६ लाख रुपैयाँसम्म पनि खर्च गरिन्छ,’ उनी सुनाउँछन् ।
भान्छाः २ लाख
दुई बर्षअघिको तुलनामा एउटा मध्यम खालको भान्छा तयार पार्न ५० हजार रुपैयाँ बढी खर्च लाग्ने फुयाँल बताउँछन् ।
नर्मल र्याक, ग्रेनाइट, धारा, टायल राखेर किचन बनाउन करिव दुई लाख रुपैयाँ खर्च लाग्छ । यदि चिम्नी, आधुनिक घर्रा, र्याकलगायत राखेर प्रिमियम ‘मोडुलर’ किचन बनाउन खोजे ३ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ ।
रङरोगनः १ लाख ८० हजार
अहिले रंगरोगनको लागत पनि करीव २० हजारले बढेको छ । रंगको मूल्य र ज्याला बढेको हुँदा लागत बढेको फुयाँलको भनाई छ । अहिले एक तले घरमा रङरोगन गर्न दुई रुपैयाँ खर्च हुन्छ, जसमध्ये १ लाख १० हजारको रङ किन्नुपर्छ भने ९० हजार रङ लगाएको ज्याला तिर्नुपर्छ ।
ठेकेदारको ज्यालाः ६ लाख
दुई बर्षअघि एक तले घर बनाउन कन्स्ट्रक्सन कम्पनीले करीव पाँच लाख रुपैयाँ ज्याला लिने गर्थे, तर अहिले ६ लाख रुपैयाँ नलिइ काम गर्दैनन् ।
बिजुली जडानः २ लाख ५० हजार
अहिले पनि बिजुलीका सामानहरू र वायरिङसमेत गर्दा अढाई लाखजति खर्च हुने फुयाल अनुभव सुनाउँछन् ।
रेलिङः १ लाख ५० हजार
अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य बढेसँगै रेलिङको मूल्य पनि बढेको छ । अहिले घरमा रेलिङ राख्न डेढ लाख रुपैयाँसम्म पर्ने व्यवसायीको भनाई छ ।
प्लम्बिङ तथा सेनेटरीः २ लाख ५० हजार
घरमा सेफ्टी ट्यांकी, रिजर्भ पानी ट्यांकी, ट्वाइलेट–वाथरुम–किचनको पानी÷फोहोर निस्कासन, पाइप जडान लगायतमा साढे दुई लाख रुपैयाँ खर्च लाग्छ ।
ट्यांकी, पम्प आदिः १ लाख ५० हजार
घरमा ठाउँ–ठाउँमा ट्यांकी राख्नका लागि डेढ लाख रुपैयाँ खर्च हुन्छ ।
कम्पाउन्ड गेटः १ लाख ५० हजार
वाल कम्पाउन्ड गरेर गेट राख्नका लागि अलि राम्रो खालको गेटको मूल्य डेढ लाख हाराहारी पर्ने हुने फुयाल बताउँछन् ।



