
किन चर्कियो थानकोटमा जग्गाको मूल्य ? आनाको २५ लाखमुनि जग्गा भेट्याउन मुस्किल !
अर्घाखाँची निवासी दुर्गा खनालले बलम्बु सशस्त्र प्रहरी अस्पताल नजिकैकै प्लटिङमा ४ आना जग्गा किनेको ८ महिना भयो । आनाको २२ लाख रुपैयाँका दरले किनेको जग्गाको मूल्य अहिले ३० लाख नाघिसकेको छ । अहिले प्लटिङ डेभलपरले नै ३० लाखका दरले जग्गा दिनुहुन्छ भने हामी नै बिक्री गरिदिन्छौं भन्न थालिसकेको खनालले बताए ।

बुटवलका श्याम घिमिरेले दुई बर्षअघि नागढुंगा नजिकै बाडभञ्ज्याङमा आनाको १२ लाख २५ हजार रुपैयाँका दरले खरिद गरेको जग्गाको मूल्य अहिले २० लाख रुपैयाँभन्दा बढी पुगिसकेको छ ।

४–६ महिनाअघि सुमना शर्माले मातातिर्थमा जग्गा किन्न आनाकै साढे २३ लाख रुपैयाँ लगानी गर्नुपर्यो । जबकी, त्यहाँ कोभिड अघिसम्म पनि आनाको १२–१५ लाखमा रोजीरोजी घडेरी किन्न पाइन्थ्यो । अहिले त्यही जग्गाको मूल्य पनि बढेर आनाको २६–२७ लाख रुपैयाँ पुगिसकेको छ ।
हिजोआज चन्द्रागिरी–२ बडभञ्ज्याङ (नागढुंगाको माथिपट्टी) प्लटिङ गरिएको जग्गा बिक्रीका लागि फेसबुमा राखिएको छ । त्यो डाँडामा पनि जग्गाको मूल्य प्रतिआना १५ लाखदेखि १७ लाख रहेको विज्ञापनमा उल्लेख छ ।
यि प्रतिनिधि उदाहरणमात्र हुन् । अहिले थानकोट क्षेत्रमा आनाको २५ लाखमा जग्गा भेट्याउन मुस्किल पर्छ । डाँडाकाँडा, खोँच–खोल्सा र नमिलेका जग्गा किन्न पनि आनाको २० लाख घटीमा पाइँदैन । पछिल्लो ५ बर्षको अवधिमा थानकोटमा जग्गाको मूल्य ३–४ गुनाले बढिसकेको घरजग्गा व्यवसायी बिष्णु केसी बताउँछन् ।
अहिले सुरुङमार्ग बनिरहेको ठाउँ र सिर्जना चोकतिर जग्गाको मूल्य आनाकै ३५ लाखदेखि ५० लाखसम्म भन्न थालिएको छ । सिर्जना चोकबाट माथि डाँडामै उक्लिँदा पनि आनाको २५ लाखभन्दा कम मूल्यको जग्गा भेटिदैन । अहिले थानकोटका हरिया डाँटा कोतरेर फुस्रै पारिएको छ, जहाँ आनाको २०–२५ लाख मूल्यमा घडेरी बिक्री भइरहेका छन् ।
घर बनाउनै नमिल्ने भिरालो जग्गामा पनि प्लटिङ गरिएको छ । त्यही पनि जग्गाको मूल्य २० लाख रुपैयाँभन्दा माथि भन्छन् ।
मातातिर्थमा जंगलको फेदीसम्म पुग्दा पनि २० लाख रुपैयाँभन्दा बढी मूल्य तिर्नुपर्ने स्थानिय बासिन्दा गोपीराज पोखरेल बताउँछन् । चन्द्रागिरी केवलकार आसपासमा आनाकै ४०–५० लाख रुपैयाँ भन्न थालिसकेको स्थानीय बताउँछन् । थानकोट स्याटेलाइट पछाडि जग्गाको मूल्य आनाको ३०–३५ चलिरहेको छ, जबकी त्यहाँ २–३ बर्षअघि आनाको १५–२० लाख रुपैयाँ हाराहारीमा जग्गा किन्न पाइन्थ्यो ।
बलम्बुमा रहेको सशस्त्र प्रहरी हस्पिटल वरिपरि आनाको २५ लाखदेखि ४० लाखसम्मका जग्गा किनबेच भइरहेका छन् । मदनभण्डारी मेमोरियल अस्पतालको निर्माणाधिन भवन वरिपरि डुवान हुने ठाउँमा पनि जग्गाको मूल्य २०–२२ लाख रुपैयाँभन्दा बढी पर्न थालेको स्थानीय बताउँछन् ।
एक समय थानकोटमा इँटाभट्टीहरु भएको ठाउँमा सकभर जग्गा किन्ने हुँदैनथे । अहिले कतिपय इँटा भट्टा विस्थापित भइसकेका छन् भने कतिपय सञ्चालनमा छन् । इँटा भट्टा नजिकै पनि जग्गाको कारोबार उछालिएको छ ।
रियलस्टेटको अनलाइन प्लेटफर्म नेपालहोम्स डटकममा थानको क्षेत्रमा बिक्रीमा राखिएका केही जग्गाहरु लिस्टिङ भएका छन् । आनाको २० लाखदेखि ४० लाख रुपैयाँसम्मका जग्गा नेपालहोम्स डटकममा बिक्रीमा राखिएको छ ।
नैकापमा ३८ लाख आनाको जग्गा बिक्रीमा छ । यस्तै, गुर्जुधारामा साढे ३ आना जग्गा प्रतिअना २८ लाखमा बिक्रीमा छ भने दहचोकमा ३ आना एक पैसा जग्गा आनाको ३० लाखका दरले बिक्रीमा छ । ढुंगेअड्डामा ६ आना २ पैसा जग्गा ३७ लाखका दरले बिक्रीमा छ भने तीन थानामा ५ आना जग्गा आनाको २५ लाखमा, गुर्जुधारामै प्लटिङको तीन आना दुई पैसा जग्गा आनाको ३६ लाखका दरले बिक्रीमा राखिएको छ ।
किन बढिरहेको जग्गाको मूल्य
कोभिड महामारीले पनि जग्गाको मूल्य बढ्नलाई रोक्न सकेन । यही बेला जग्गामो मूल्य बेलगाम बढेको रियलस्टेट व्यवसायी बताउँछन् । अहिले बैंकमा तरलता अभाव र ब्याजदर पनि बढिरहेको बेलामा घरजग्गा किनबेच उल्टै बढिरहेको छ ।
सिंगो नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने लाइफलाइन पृथ्वी राजमार्ग थानकोट क्षेत्रमै पर्छ । त्यसैले पश्चिम क्षेत्रका मान्छेको विशेष रोजाइमा थानकोट नै पर्ने गरेको छ । पश्चिमबाट आएको मान्छे सकभर थानकोट, कलंकी, बनस्थली, किर्तिपुर लगायत ठाउँमा बस्न खोज्ने गर्छन् ।
अहिले नागढुंगा नौविसेको असहज यात्रा र जाम घटाउन सुरुङमार्ग निर्माण भइरहेको छ । त्यो सुरुङमार्गले पनि थानकोट क्षेत्रमा जग्गाको भाउ बढाउन महत्वपूर्ण योगदान गरिरहेको छ ।
चन्द्रागिरी केवलकार बनेपछि अहिले थानको–चन्द्रागिरी काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । दैनिक ठूलो संख्यामा मान्छे चन्द्रागिरी घुम्न जाने गरेका छन् । यस्तै, थानाको क्षेत्र चिसो, स्वच्छ र कोलाहलमुक्त पनि छ । कमर्शियल रुपमा घरजग्गा कारोबारका लागि थानकोट उपयुक्त ठाउँ बनेको छ ।
अझै पनि थानकोटमा खुला जग्गा धेरै छ । त्यहाँको खुला जग्गामा तरकारी खेती भइरहेको छ । त्यसैले पनि घरजग्गा कारोबारीहरुको ध्यान थानकोट क्षेत्रतर्फ मोडिएको छ ।
शहरबाट नजिकै, चार लेनको सडक, खानीपानीको उपलब्धता, उपत्यका बाहिरबाट फर्किंदा पनि घर बाटोमै पर्ने, सशस्त्र प्रहरी अस्पताल लगायत विभिन्न सेवा सुविधा कारण पनि थानकोट क्षेत्र हटस्पट बनेको बताइन्छ ।
अहिले थानकोट क्षेत्रमा मिलेको ठाउँमा घडेरी किन्ने हो भने आनाको २५ लाख रुपैयाँभन्दा बढी तिर्नुपर्छ । धेरै ठाउँहरुमा जग्गाको मूल्य आनाकै ३० लाख नाघिसकेको छ । नयाँ प्लटिङमा पनि जग्गाको मूल्य आनको २८–३० लाख रुपैयाँ तोक्न थालिएको छ ।



