तरलताको प्रभाव : बैंकले कर्जा दिन छाडे, मालपोतमा आधा घट्यो धितो बन्धक

काठमाडौं । बैंकिङ प्रणालीमा गहिरिँदै गइरहेको तरलता (लगानीयोग्य रकम) संकट कर्जा (ऋण) प्रवाहमा प्रष्ट देखिन थालेको छ । पछिल्ला महिनामा घरजग्गा धितो राखेर बैंकबाट कर्जा लिनेहरुको संख्या आधाभन्दा बढीले घटिसकेको छ ।

चालु आर्थिक बर्षको भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले देशभरका मालपोत कार्यालयमा ६६ हजार ५५८ घरजग्गा धितो बन्धक राखेर ऋण प्रवाह गरेकोमा पुस महिनामा आधाभन्दा कम अर्थात् ३० हजार ९८५ घरजग्गा धितो बन्धक राखेर कर्जा प्रवाह गरेका छन् । गत बर्षको माघ महिनामा ६२ हजार ११६ घरजग्गा धितो बन्धक राखिएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक छ ।

नेपालमा घरजग्गा किन्‍नेदेखि हरेक प्रकारको ऋणमा स्थिर सम्पत्ती अर्थात् घरजग्गा धितो राख्‍ने प्रचलन छ । बैंक तथा वित्तीय संस्था परिसंघको हालै सार्वजनिक गरेको रिपोर्टमा करीव ८५ प्रतिशत कर्जा स्थिर सम्पत्ती धितो राखेर प्रवाह गरेको उल्लेख छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जामा करीव दुई तिहाई घरजग्गा नै धितो राखेर प्रवाह भइरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

तरलता अभाव चर्किदै गएसँगै बैंकहरुले कर्जा प्रवाह गर्न नसकेपछि ऋण लिएर घरजग्गा खरिद गर्ने ग्राहकहरु पनि प्रभावित भएका छन् । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामार्फत व्यवसायिक रुपमा जग्गा किन्‍न र प्लटिङमा प्रवाह हुने कर्जा, शेयर धितो कर्जालगायतमा कडाई गरेको छ ।

राष्ट्र बैंकले कमर्शियल रुपमा जग्गा किन्‍न र प्लटिङ गर्नबाहेक अन्य प्रकारको घरजग्गा कर्जामा कडाई गरेको छैन । तैपनि तरलता अभावले गर्दा बैंकहरुले कुनै पनि प्रकारको कर्जा प्रवाह गर्न नसकेको बैंकरहरु बताउँछन् । प्रणालीमा तरलता संकट झनझन गहिरिँदै गइरहेको छ, जसले गर्दा आगामी दिन झन भयावह हुन सक्ने बैंकरहरुको भनाई छ ।

सरकारले विकास बजेट खर्च गर्न सकेको छैन । रेमिट्यान्स, वैदेशिक ऋण र अनुदान पनि घट्दै गइरहेको छ । जसले तरलता अभाव चर्किदै गइरहेको बताइन्छ ।

बैंकमा चर्किएको तरलता अभावले घरजग्गा किनबेच सुस्ताउँदै गइरहेको भूमि विभागको तथ्यांकले पनि देखाउँछ । चालु आवको साउन महिनामा ७५ हजार घरजग्गा किनबेच भएकोमा कात्तिकमा ५० हजार र माघमा ५९ हजार घरजग्गा किनबेच भएका छन् ।

कुन महिना कति धितो बन्धक ?

चालु आवको साउन महिनामा बैंकबाट कर्जा लिनका लागि देशभरका मालपोत कार्यालयमा ५० हजार घरजग्गा धितो बन्धक राखिएको थियो । भदौ महिनामा १६ हजारले घरजग्गा धितो बन्धक बढेर ६६ हजार पुगेको थियो । अशोज महिनाबाट धितोबन्धक निरन्तर घटिरहेको भूमि विभागको तथ्यांकले देखाउँछ ।

गत बर्षको साउनमा मालपोत कार्यालयले ६२ हजार घरजग्गा धितो बन्धक राखेका थिए भने भदौमा करीव १९ हजारमात्र धितो बन्धक राखेका थिए । गत बर्षको भदौमा कोरोना महामारी फैलिँदा देशका धेरै ठाउँमा निषेधाज्ञा जारी थियो, जसको प्रत्यक्ष प्रभाव धेरैजसो व्यवसायिक गतिविधिमा परेको थियो । गत भदौमा घरजग्गा किनबेच पनि सुस्ताएको थियो ।

चालु आवको अशोजमा ५७ हजार ६१८ घरजग्गा धितो बन्धक राखिएको छ भने कात्तिकमा ३६ हजार ६२३, मंसिरमा ४१ हजार ७०, पुसमा ३४ हजार ५३ र माघमा ३० हजार ९८५ घरजग्गा धितो बन्धक राखिएको छ । जबकी, गत बर्षको अशोजमा ५९ हजार ५८६, कात्तिकमा ३६ हजार ४३६, मंसिरमा ५३ हजार २८१, पुसमा ६९ हजार १८२ र माघमा ६२ हजार ११६ घरजग्गा धितो बन्धक राखिएको भूमि विभागको त्थयांकले देखाउँछ ।

गत बर्षको मंसिरदेखि चैतसम्म देशभर किर्तिमानी घरजग्गा कारोबार भएको थियो । कोभिड महामारीका कारण लगानीका अरु गन्तव्य अनिश्चित बनेपछि बैंकबाट ऋण लिएर घरजग्गा किन्‍ने र शेयरमा लगानी गर्ने धेरै थिए । बैंकको ऋणको ब्याजदर पनि एकल बिन्दूमा झरेको फाइदा लगानीकर्ताले भरपुर लिएको देखिन्छ ।

धितो फुकवा पनि घट्यो

बैंकले कर्जा प्रवाह घटाएपछि ऋण तिर्नेको संख्या पनि कम देखिएको छ । ऋणीले बैंकको ऋण रिन्यू गर्दै काम चलाउन थालेका छन् । बैंकको ऋण समयमा तिर्नेहरु घटेपछि मालपोतमा धितो बन्धक राखिएका घरजग्गा फुकुवा गर्ने काम पनि घटिरहेको तथ्यांकले देखाउँछ ।

बैंकको ऋण चुक्ता गरेर साउनमा ३१ हजार घरजग्गा फुकुवा हुँदा भदौमा ३६ हजार, अशोजमा २९ हजार, कात्तिकमा २३ हजार, मंसिरमा २७ हजार, पुसमा २३ हजार र माघमा १८ हजारमात्र घरजग्गा फुकुवा भएका छन् ।

आव २०७८/७९ मा देशभरका मालपोतको दृष्टिबन्धक र फुकुवा संख्या

महिना दृष्टि बन्धक फुकुवा
साउन ५० हजार ४११ ३१ हजार १२५
भदौ ६६ हजार ५५८ ३६ हजार ८२३
अशोज ५७ हजार ६१८ २९ हजार ८८०
कात्तिक ३६ हजार ६२३ २३ हजार ५७२
मंसिर ४१ हजार ७० २७ हजार ८५०
पुस ३४ हजार ५३ २३ हजार २
माघ ३० हजार ९८५ १८ हजार ६७६

स्रोत ः भूमि व्यवस्था तथा अभिलेख विभाग

आव २०७८/७९ मा देशभरमा किनबेच भएका घरजग्गा 

महिना किनबेच
साउन ७५ हजार ४१७
भदौ ७० हजार ९०
अशोज ५९ हजार २२७
कात्तिक ५० हजार ८३
मंसिर ६९ हजार ४१२
पुस ७० हजार १६८
माघ ५९ हजार ५१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button