
८७ अंकले उकालो लाग्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
काठमाडौं : सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ८७.६३ अंकले वृद्धि भएर २६ सय ७२.२५ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। यसदिन २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर ४ अर्ब ३० करोड ८८ लाख रुपैयाँमा कारोबार भयो।

कारोबारको अघिल्लो दिन आइतबार नेप्से २७ अंकले बढेर २५ सय ८४.५२ विन्दुमा अडेको थियो। सो दिन २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर दुई अर्ब ७७ करोड ३४ लाख मूल्य बराबरमा खरिदबिक्री भएको थियो।

यसदिन ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि वृद्धि भएको छ। इण्डेक्स १३.६१ अंकले वृद्धि भएर ५०४.५७ विन्दुमा अडेको छ। कारोबारमा आएका १३ वटै समूहको शेयर परिसूचक बढेको छ। वित्त र जलविद्युत समूहको परिसूचक सर्वाधिक क्रमश ७.८१ र ७.५७ प्रतिशतले बढेको छ।
यस्तै, लगानी समूहको ४.२२ प्रतिशतले बढ्दा विकास बैंकको परिसूचक ६.५ प्रतिशतले बढेको छ। जीवन विमाको ३.७३, अन्यको २.६३, र बैंकिङको २.०७ प्रतिशतले परिसूचक बढेको छ। बाँकी अन्य समूहको शेयर मूल्य पनि वृद्धि भएको छ।
सोमबार दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो। यस कम्पनीको १६ करोड २५ लाख २३ हजार ८५९ रुपैयाँमा शेयर कारोबार भयो।


