
किन महँगो हुन्छ रोल्स रोयस कार ?
संसारभर प्रख्यात रोल्स रोयस कार प्रतिष्ठाको मानक मानिन्छ । सन् १९०४ मा दुई जना बिट्रिस नागरिक हेनरी रोयस र चार्ल्स रोयसले रोल्स रोयस कार कम्पनी स्थापना गरेका थिए । जसको नाम रोल्स रोयस १० एचपी थियो ।

आफ्नो विशिष्ट डिजाइन र लक्जरीका लागि यो कार विश्वभर प्रख्यात छ । अत्यधिक महँगो हुने रोल्स रोयस कार उपभोक्ताको अर्डरअनुसार मात्रै निर्माण गरिन्छ ।

बजारमा राख्न कम्पनीले एकाध मोडल मात्रै बनाएर पठाउने गर्छ । त्यसपछि उसले ग्राहकको मागअनुसार कार बनाउने गर्छ ।
आफ्नो अनौठो इन्जिनियरिङ विशेषताका कारण यो कार पैसावालको मात्रै पहुँचमा हुन्छ ।
रोल्स रोयसको टायर क्यापमा आरआर लेखिएको लोगो हुन्छ । अन्य गाडीमा पनि यस्तो लोगो हुन्छ, जुन टायरसँगै घुम्छ । तर, रोल्स रोयसको टायरमा रहेको लोको भने घुम्दैन । रोल्स रोयस कारको बोनटमा रोल्स रोयसको लोगो राखिएको हुन्छ ।

सुरुवाती दिनमा यो लोगो कारको बोनटमा स्थायी तरिकाले टाँसिएको हुन्थ्यो । तर, लोगो चोरी हुन थालेपछि यो लोगोलाई गाडी स्टार्ट भएसँगै देखिने र गाडी बन्द भएपछि लुक्ने बनाइयो । यो लोगोलाई ‘स्प्रिट अफ एक्सटेसी’ भनिन्छ ।
यो कार निर्माणका क्रममा मेसिन वा रोबर्टको प्रयोग गरिँदैन । डिस्कभरीले बनाएको मेगा फ्याक्ट्री डकुमेन्ट्रीका अनुसार यो कार उद्योगमा जम्मा चार वटा रोबर्ट छन् ।
यी ४ रोबर्टमध्ये दुईवटा रोबर्टले कारमा पेन्ट लगाउने काम गर्छ भने बाँकी दुई रोबर्टले कारका सामग्री उठाउने काम गर्छन् ।
अर्थात्, रोल्स रोयस विश्वभरमा ह्यान्डमेड कार निर्माण गर्ने एक मात्र कम्पनी हो । ह्यान्डमेड इन्जिनियरिङकै कारण यो कारको आयु अन्य कारको तुलनामा लामो हुन्छ । रोल्स रोयसले अहिलेसम्म उत्पादन गरेका कारमध्ये ६५ प्रतिशत कार अहिले पनि सडकमा गुड्छन् ।
सुरुवाती दिनमा बेलायत र युरोपमा मात्रै प्रयोग हुने यो कार पछिल्लो समय मध्यपूर्वी एसियाका देशमा पनि अत्यधिक प्रयोग गरिन्छ । पछिल्लो दशकमा अरबियन देश र हङकङमा रोल्स रोयस अत्यधिक प्रयोग गरिन्छ ।
विमान इन्जिन पनि बनाउने यो कम्पनीका कार निर्माण गर्न जर्मन र बेलायतमा तीन वटा कारखाना छन् । जर्मनीमा रहेको कारखानामा गाडीको आवरण अर्थात् बडी निर्माण गरिन्छ भने बेलायतमा रहेकाे कारखानामा गाडी पूर्ण तयार गरिन्छ । एउटा कारको बडी निर्माण गर्न मात्रै रोल्स रोयसले १२० जना मानिस खटाउँछ ।
गाडीका ससाना डिटेलमा ख्याल गरेर बनाइने यो कारको भित्री डिजाइनमा शुद्ध छाला प्रयोग गरिन्छ । गाडीको स्टेरिङ, सिट तथा अन्य भागमा गोरुको छाला प्रयोग गरिन्छ । एउटा कारको इन्टेरिएर साजसज्जा गर्न ११ वटा गोरुको छाला प्रयोग गरिन्छ ।
गाडीको सिटमा लगाइने रोल्स रोयसको लोगोका लागि अफ्रिकी चराको प्वाँख प्रयोग गरिन्छ । हरेक रोल्स रोयस कारमा टिप्लन कोटेड एउटा छाता राखिएको हुन्छ ।
विशिष्ट डिजाइनकै कारण यो गाडी १ सय किलोमिटर प्रतिघण्टाको गतिमा गुड्दा पनि बाहिरको आवाज त परै जाओस्, इन्जिनको अवाज पनि गाडीभित्र सुनिँदैन । तीव्र गतिमा गुड्दा पनि यो गाडीभित्र ड्यास बोर्डमा हुने घडीको टिक–टिक आवाज मात्रै सुनिन्छ ।
बिट्रिस इन्जिनियरिङको मिसायल मानिने यो कार कम्पनी सन् १९९८ मा बीएमडब्लूले खरिद गर्यो । तर, पनि यो कारको सान अझै घटेको छैन । बीएमडब्लूले खरिद गरे पनि यो कारको माग अझै घटेको छैन । आर्थिक र सामाजिक प्रतिष्ठासँग जोडिने यो कार प्रयोगकर्तालाई कार उत्पादक कम्पनीले पनि विशेष प्राथमिकतामा राख्ने गर्छ ।
आफ्ना हरेक कार प्रयोगकर्तालाई रोल्स रोयसले हरेक वर्ष बेलायती शैलीमा हस्तलिखित पत्र पठाउने गर्छ ।
संसारभर प्रतिष्ठाको विषय मानिने यो कारलाई भारतका एक महाराजाले भने फोहोर उठाउने गाडीमा परिणत गरेका थिए । भारतका महाराजा जय सिंह बेलायत भ्रमणमा थिए । त्यहाँ उनले रोल्स रोयस देखे र किन्न खोजे । तर, रोल्स रोयसले उनलाई कार किन्न दिएन ।
त्यसपछि उनले अर्कै नामबाट सात वटा रोल्स रोयस अर्डर गरे । अर्डरअनुसारका गाडी भारत आइपुगेपछि उनले ती गाडीलाई फोहोर उठाउने गाडी बनाए । गाडीको टायर किनारमा कुचो झुन्ड्याएर सडक सफा गर्ने गाडी बनाए ।
बेलायती इन्जिनियरिङको उदाहरण बनेको कारको बेइज्जत भएपछि बेलायत सरकारले नै महाराजा जयसिंहलाई रोल्स रोयस कारको अपमान नगर्न अनुराध नै गर्नुपर्यो ।
रोल्स रोयस कार चलाउन रोल्स रोयसले एउटा तालिम पनि दिने गर्छ । विभिन्न मिडियामा रोल्स रोयस कारको मूल्य सूची आउने गरे पनि यसको मूल्य खरिदकर्ता र रोल्स रोयसलाई मात्र थाहा हुन्छ । रोल्स रोयसको यही विशिष्ट पहिचानले मोहित भएरै होला, भिक्षु ओशोले करिब १ सय रोल्स रोयस राखेका थिए । भनिन्छ, अहिले पनि रोल्स रोयसका विश्वभर केही नियमित ग्राहक छन् ।


