
ओली मन्त्रिपरिषदमा आलोपालो मन्त्री हुने दुई दम्पती
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म १८ पटक मन्त्रिपरिषद विस्तार गरेका छन्।

स्थिरताको नारा दिँदै सत्तामा पुगेका प्रधानमन्त्री ओलीको मन्त्रीमण्डल भने धेरै अस्थिर रहँदै आएको छ।

पछिल्ला तीन वर्ष चार महिनामा उनले मन्त्रिपरिषद १८ पटक फेरबदल गरेका छन्। यसबीच उनले मन्त्रीहरू प्रशस्तै फेरेका छन्।
यस अवधिमा ओली स्वयंले दुई पटक प्रधानमन्त्री बने। २०७४ फागुनमा झन्डै दुई तिहाइ बहुमतसहित शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले तीन वर्षपछि संसदबाट विश्वासको मतसमेत पाउन सकेनन्।
२०७८ वैशाख २७ गते विश्वासको मत नपाएपछि ओलीले वैशाख ३१ गते ठूलो दलको हैसियतमा प्रधानमन्त्रीको सपथ लिएका हुन्। आफ्नो कार्यकालमा उनले १८ पटक मन्त्रीमण्डल पुनर्गठन गरे।
ओलीले आफू प्रधानमन्त्री भएको साढे तीन महिनापछि अर्थात् २०७५ जेठ १८ गते आफ्नो सरकारलाई पूर्णता दिएका थिए।
त्यतिबेला गृहमन्त्री बनाइएका रामबहादुर थापा ‘बादल’ अहिले बाहिरिएका छन्।
रघुवीर महासेठ-जुली महतो र रामबहादुर थापा ‘बादल’- नैनकला थापा दम्पती यस्ता जोडी हुन् जो आलोपालो मन्त्रिपरिषदमा मन्त्री भएका छन्।
सांसद नरहेका तत्कालीन गृहमन्त्री बादल सर्वोच्चको आदेशपछि पदमुक्त भएपछि थापाको सट्टामा ओलीले बादल पत्नी नैलकला थापालाई बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाए। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद नरहेका बादलको पद खारेज भएको थियो।
गत पुसदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए। तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको थियो।
माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कारस्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्।
सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भएकी थिइनन्।
माओवादी नेताका सबै जीवनसाथी भूमिगत हुने नीतिअनुसार थापा २०५२ सालमा भूमिगत भएको माओवादी केन्द्रका एक नेताले बताए।
‘नैनकलाजी भूमिगत हुनुभएकै हो। तर उहाँ पार्टीको सक्रिय पदमा रहनुभएन। नेताहरूमा सांस्कृतिक विचलन नआओस् भनेर नेताका श्रीमतीहरू पनि भूमिगत हुनैपर्ने पार्टीको नीति थियो,’ ती नेताले भने, ‘नैनकलाजीको जनयुद्धमा योगदान थिएन भन्दा त अन्याय हुन्छ। तर उहाँभन्दा धेरै क्षमतावान् व्यक्तिहरू मन्त्री बन्न योग्य थिए। रघुवीरका श्रीमान्-श्रीमती आलोपालो मन्त्री भएजस्तै होला बादलजीको पनि।’
माओवादी युद्धमा हुँदा उनी महिला संघकी अध्यक्ष थिइन्। उनी पार्टीको कार्यकारिणी कमिटीमा भने एकपटक पनि पुगिनन्। उनी केन्द्रीय सल्लाहकार समितिको सदस्य भने भएकी थिइन्।
केही समय शिक्षण पेशामा रहेकी थापा २०६४ पछि महिला आयोगको प्रमुख बनेकी थिइन्।
मन्त्रीबाट पदमुक्त भए पनि बादलले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका थिएनन्।
यस्तै रघुवीर महासेठ दम्पती पनि आलोपालो मन्त्री भएका छन्।
२०७४ चैत २ गते भएको मन्त्रिपरिषद् विस्तारमा रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्री भए। २० महिनासम्म मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी २०७७ पुस १० गतेको मन्त्रिमण्डल हेरफेरमा बाहिरिए।
५ पुसमा प्रधानमन्त्री ओलीले एकलौटी रूपमा संसद् विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषद्मा रहेका माधवकुमार नेपाल पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए।
त्यसपछि दाहाल-नेपाल समूहमा आएकी महतो मन्त्री हुने भएपछि ओली समूहमा फर्किइन्। महतोलाई ओलीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषदमा ल्याए।
एक साताअघि मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिँदा महतो बाहिरिइन्।
बंगलादेशमा पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर सुम्पिनुपर्ने बाध्यता रहेको भनेर विवादास्पद टिप्पणी गरेपछि राजीनामा दिएका तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पुनः स्वास्थ्यमन्त्रीका रूपमा सरकारमा फर्किएका छन्। तामाङकी श्रीमती उषकला राई पनि प्रदेश १ मा सामाजिक विकास मन्त्री छन्।



