
बादललाई ओलीको पुरस्कार- श्रीमती सञ्चार मन्त्री नियुक्त
काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।

यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादललगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए । प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् ।

नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बनेका हुन् ।
नेकपा एकता खारेज भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए। तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको थियो।
माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कारस्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्। सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्।
२०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भएकी थिइनन्। केही समय शिक्षण पेशामा रहेकी थापा २०६४ पछि महिला आयोगको प्रमुख बनेकी थिइन्।
स्वास्थ्यमन्त्री तामाङको १५ ठाउँमा जग्गा, २२ तोला सुन
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ती विवरण अनुसार १५ ठाउँमा जग्गा देखिएको छ । मन्त्री नियुक्त भएलगतै उनले सम्पति बिबरण सार्वजनिक गरेका हुन् । यस अघि मन्त्री छोडेका नेताहरुले सम्पत्ती विवरण सार्वजनिक गर्दै आएका छन् ।
उनले मन्त्री बने लगत्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आफ्नो र श्रीमती उषाकला राईको सम्पति विवरण बुझाएका हुन् । तामाङ्ले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको र श्रीमतीको नाममा गरी विभिन्न ठाउँमा १४ कित्ता जग्गाजमिन रहेको छ ।
उनले बुझाएको सम्पत्ती विवरणमा सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा गरी झन्डै १८ रोपनी जग्गाछ । श्रीमती उषाकलाको नाममा काठमाडौंको जोरपाटीमा ३ आनामा बनेको अढाई तले घर सहित पूर्वका विभिन्न जिल्लामा ११ स्थानमा जग्गा जमिन रहेको उल्लेख छ ।
यस्तै तामाङको काठामाडौंमा ६ आना २ पैसा १ दाम जग्गा पनि सम्पत्ती विवरणमा देखिएको छ । उनले सम्पत्ती विवरणमा आफुसंग २२ तोला सुन रहेको विवरण पेश गरेका छन् । अघिल्लो पटक कानून मन्त्री भएका बेला उनले ३० तोला सुन भएको विवरण सार्वजनिक गरेका थिए ।
सम्पत्ती विवरणमा उनले बैंकमा रहेको नगद र केही ऋण पनि देखाएका छन् । तामाङसँग एउटा कार र मोटरसाइकल रहेको छ भने श्रीमती राईको पनि एउटा कार रहेको छ ।



