देउवालाई चुनावको मोह ; आखिर किन?
२८ पुष, काठमाडौं । चौतर्फी अविश्वासबीच कांग्रेस सभापति शेरबहादुर देउवा आगामी वैशाखमै प्रतिनिधिसभा निर्वाचन हुनेमा विश्वस्त छन् । ‘सर्वोच्च अदालतभन्दा जनता ठूलो अदालत हो’ भन्दै उनले पार्टीलाई निर्वाचनको पक्षमा रहेको सन्देश ‘जबर्जस्ती’ दिन खोजेका छन् ।
देउवा यतिबेला कसैको आग्रह र सुझाव सुन्न तयार छैनन् । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई सदर गरे तोकिएकै मितिमा निर्वाचन हुँदैन कि भन्ने उनमा रत्तिभर शंका छैन । केन्द्रीय कार्यसमितिकै बैठकमा धेरैले आशंका जनाउँदा देउवाले प्रतिवाद गरे ।
काठमाडौं क्षेत्र नं ५ ले शनिबार आयोजना गरेको विरोधसभामा उनले निर्वाचन हुनेमा विश्वस्त रहेको बताए । प्रधानमन्त्री ओलीले चुनाव गराउँदैनन् कि भन्ने चिन्ता धेरै नेताहरूले गरेको सुनाउँदै उनले भने, ‘तर मलाई विश्वास छ ।’
वैशाखमा चुनाव गराएनन् भने ओली नेपालमै बस्न नसक्ने गरी राजनीतिबाट किनारा लाग्ने दाबी देउवाले गर्दै आएका छन् । ‘त्यति कुरा त ओलीले बुझेका होलान् नि,’ सार्वजनिक कार्यक्रममा उनको भनाइ थियो, ‘चुनाव गराउँछु भनिरहेकै छन्, यसलाई विश्वास गर्नुपर्छ ।’ कांग्रेसका एक नेताको दावीमा देउवाको यो स्तरको विश्वास आफैबाट पलाएको भने होइन । ‘एक त प्रधानमन्त्री ओलीसँग देउवाको अहिले पनि निरन्तर संवाद छ, अर्कोतर्फ जुन शक्तिको आडमा प्रतिनिधिसभा विघटन गराइएको छ, त्यही शक्तिले वैशाखमा निर्वाचन हुने कान फुकिदिएको छ,’ ती नेताले भने ।
नेकपाको विभाजनले चुनावमा कांग्रेसले बहुमत ल्याउने विश्वास देउवालाई छ । त्यसपछि दलको नेतामा आफैं निर्वाचित हुन सकिन्छ । दलको नेता निर्वाचित भएपछि स्वाभाविक रूपमा आफ्नै नेतृत्वमा सरकार बन्छ । सरकारमा नेतृत्व लिन सकेपछि पार्टी सभापति बन्ने चुनौती पनि हट्नेछ । त्यसपछि कम्तीमा पाँच वर्ष सत्ता र शक्तिको केन्द्रमा रहन सकिन्छ भन्ने विश्लेषण देउवाको छ ।
देउवाको यस्तो ‘थेसिस’ असफल भइसकेको दाबी गर्ने नेताहरू पनि पार्टीमा धेरै छन् । ‘भाग्यले चारपटक प्रधानमन्त्री बन्न सके पनि देउवा परीक्षण भइसकेका र आफ्नो थेसिसमा सफल हुन नसकेका नेता हुन्,’ संस्थापन इतर खेमाका एक केन्द्रीय सदस्यले भने, ‘अहिले पनि सभापतिजीले पार्टीमा आएका गम्भीर सुझावलाई बेवास्ता गर्दै हुनुहुन्छ । फेरि पनि बुमर्याङ हुने बाटोमा पार्टीलाई जबर्जस्ती लैजान खोज्नुभएको देखिरहेका छौं ।’