
यस्तो भएको रहेछ अन्तिममा विष्णु पौडेलसंग भिम रावलको फोन वार्ता, रावलले गरे खुलासा
एमाले नेता भीम रावलका कारण एमाले एकतामा ब्रेक लागेको आरोप लागेपछि नेता रावलले त्यसको खण्डन गरेका छन् । उनले आफ्ना कारणले एकता भंग नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले स्पष्टिकरण दिँदै अन्तिम अवस्थामा ओली पक्षका नेता विष्णु पौडेलसंग भएको कुरा सार्वजनिक गरेका छन् ।

नेता रावलले भनेका छन्, ‘केही व्यक्तिहरुले पार्टी एकताका लागि जेठ १० गते बालुवाटार नगएकाले वार्ता भंग भएको भन्ने कुरा झुठो हो ।’ उनले विष्णु पौडेलले फोन गर्दा आफुले दिएको जवाफबारे भनेका छन्–‘म एकताको पक्षमा छु ।
एकताका लागि पार्टी अध्यक्ष केपी ओलीजीबाट आजै यी कुरा होउन् पार्टी र जनसंगठनका सबै संरचना २०७५ साल जेठ २ गते अघिको स्थितिमा रहने, गत फागुन २३ पछि २८ गतेको निर्णय लगायतका सवै पार्टी निर्णयहरु बदर गर्ने, दुई दिनभित्र स्थायी कमिटि बैठक गर्ने, स्थायी कमिटीको बैठकबाट राष्ट्रिय महाधिवेशन र अन्य स्तरका अधिवेशन, पार्टी सदस्यता लगायतका संगठनात्मक विषयमा सिफरिस प्रतिवेदन पेश गर्न कार्यदल बनाउने र प्रतिनिधिसभा विघटनको सिफारिस फिर्ता लिएको राजनीतिक निर्णय गर्ने ।’
तर उनले आफ्नो यो प्रस्तावमा विष्णु पौडेलले प्रधानमन्त्रीसँग सोधेर भनेपनि त्यसपछि पौडेलको फोन नआएको प्रस्ट पारेका छन् । ‘त्यसपछि विष्णुजीको फोन आएन ।
यी कुराहरु अरु कसैले गराए मेरो पुर्ण समर्थन हुने अरु केही नेता साथीहरुलाई पनि भनेको थिएँ । तर बेलुकी म लगायत ११ जनालाई पार्टी सदस्यताबाट निष्कासित गरिएको समाचार आयो यही हो सत्य कुरा,’ रावलले भनेका छन् ।

चितवनमा डाक्टर भन्छन्, खोप लगाएपछि संक्रमितको नजिक जान डर लाग्न छोड्यो
कोभिड १९ को पहिलो लहरमा सङ्क्रमितको वरिपरि जान स्वास्थ्यकर्मी पनि हच्किने गर्थे । दोस्रो लहरसँगै उनीहरु सङ्क्रमितको सामिप्यमै पुगेर सेवा दिइरहेका छन् । सङ्क्रमण निकै फैलिएको छ, सङ्क्रमित गम्भीर हुने सङ्ख्या पनि धेरै छ ।
पहिलो लहरको तुलनामा दोस्रो लहरको सङ्क्रमणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी लगायतका कमै सङ्क्रमित भएका छन् ।
दोस्रो लहरमा अहिलेसम्म अग्रमोर्चामा काम गर्ने जिल्लामा कसैले ज्यान गुमाउनु परेको छैन । जिल्लाको तथ्याङ्क केलाईरहनु भएका स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकाल हालसम्म दुई डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु नभएको बताउनुहुन्छ ।
उहाँको भनाइमा वैशाख यता ५ हजार ८४६ जना सङ्क्रमित भएका छन् । उनीहरु मध्ये टेलिफोन लाग्नेहरुलाई सोध्दा ९० प्रतिशत एक डोज भ्याक्सिन पनि नलगाएको रहेको उहाँले जानकारी दिनुभयो । १० प्रतिशतमा कार्यालयको जानकारीमा न्यून सङ्ख्यामा मात्रै दुई डोज लगाएका रहेको उहाँको भनाइ छ ।
जिल्लामा चैत ३१ पहिले स्वास्थ्यकर्मी ४९३ जना सङ्क्रमित भएका थिए । त्यस यता १५५ जना सङक्रमित भएका छन् । ती मध्ये केहीले भ्याक्सिन लगाएको भए पनि अन्यले लगाएका छैनन् । दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको उहाँ बताउनुहुन्छ ।
कार्यालयका प्रमुख दिपक तिवारी हालसम्म डबल डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु भएको जानकारी नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “दोस्रो डोज लगाएर १५ दिन कटेकालाई सङ्क्रमण भईहाले पनि अवस्था सामान्य नै छ ।
” अग्रपंक्तिमा काम गर्नेहरुलाई भ्याक्सिनले बचाएको तिवारी बताउनुहुन्छ । उहाँले अगाडि भन्नुभयो “दोस्रो डोज लगाएर १५ दिन कटेकाहरु अस्पताल भर्ना हुनु परेको छैन ।” अन्य कारणबाट अस्पताल भर्ना भए पनि कोभिडकै कारण अस्पताल भर्ना हुनु पर्ने अवस्था नआएको उहाँको भनाइ छ । पहिलेभन्दा अहिले सङ्क्रमित निकै गम्भीर बनेको भए पनि भ्याक्सिनकै कारण स्वास्थ्यकर्मी सुरक्षित रहन सकेको तिवारीको तर्क छ ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने अध्ययनले पनि दुई डोज लगाईसकेकाहरुको सङ्क्रमण दर निकै कम भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “भ्याक्सिनकै कारण आज स्वास्थ्यकर्मी निर्धक्कसँग काम गरिरहेका छन् ।”
भ्याक्सिन लगाएकाहरुको मनोबल उच्च रहेकाले अस्पताल व्यवस्थापनमा पनि सहज भएको न्यौपानेको भनाइ छ ।
पहिलेको तुलनामा सघन उपचार कक्षको क्षमता चार गुणभन्दा बढी बढाइएको छ । प्रत्यक्ष सङ्क्रमितहरुसँग काम गर्नुपर्ने स्वास्थ्यकर्मीको सङ्ख्या निकै बढी छ । भ्याक्सिनकै कारण सङ्क्रमितसँगै रहेर काम गर्दा समेत सुरक्षित हुन सकेको न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “भ्याक्सिनले काम नगरेको भए अस्पताल व्यवस्थापन गर्न कठिन हुन्थ्यो ।”
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालहरुले क्षमता चार गुणभन्दा बढी थप्दा समेत स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न सकेको बताउनुहुन्छ ।
पहिले स्वास्थ्यकर्मी निकै त्रसित हुने सङ्क्रमित वरपरसम्म पुग्न डराउने गरेको भन्दै उहाँले भन्नुभयो “अहिले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई प्रत्यक्ष छोएर उपचार गर्दा समेत बचेका छन् ।” दैनिक आफू काम गरेको अस्पतालमा सङ्क्रमितको मृत्यु भईरहँदा पनि स्वास्थ्यकर्मीले निर्धक्कसाथ काम गरिरहेको उहाँको तर्क छ ।
दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको र हालसम्म यहाँ मृत्यु नभएका कारण स्वास्थ्यकर्मीमा मनोबल उच्च रहेको अधिकारी बताउनुहुन्छ । पहिलो लहरमा सङ्क्रमितहरुमा लक्षण कम र सामान्य अवस्थामा थिए, अहिले अधिकांश अस्पताल आउने गम्भीर रहेका छन् । तिनै गम्भीर सङ्क्रमितको बीचमा रहेर काम गर्दा समेत स्वास्थ्यकर्मीमा त्रास नभएको अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “पहिलेकै अवस्थामा स्वास्थ्यकर्मी सङ्क्रमित भएको भए उपचारमा समस्या आउँथ्यो ।”
नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार तिलक रिमालका अनुसार भ्याक्सिन लगाएका पत्रकार कम सङक्रमित भएका छन् । वैशाख यता सङ्क्रमित ६ जना पत्रकार मध्ये ४ जनाले भ्याक्सिन लगाएका छैनन् ।
भ्याक्सिन लगाएका दुई जनालाई खासै समस्या नदेखिएको उहाँले जानकारी दिनुभयो । वैशाख अघि जिल्लाका १६ जना पत्रकार सङ्क्रमित भएका थिए । उहाँले भन्नुभयो “चितवन अहिले हटस्पट बनिरहेको छ, पत्रकारहरु काममा हिड्नुहुन्छ, तर भ्याक्सिनले बचाएको छ ।”
जिल्लामा पहिलो भ्याक्सिन २०७७ माघ १४ देखि २४ गतेसम्म अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, महिला स्वयंसेविका, कैदीबन्दी र बृद्धाश्रमका बृद्धबृद्धालाई लगाईएको थियो । त्यतिबेला ६ हजार ९७३ जनाले भ्याक्सिन लगाएकोमा ४ हजार ३९७ जना स्वास्थ्यकर्मी रहेका थिए । दोस्रो चरण गत फागुन २ देखि १० गतेसम्म स्थानीय तहका कर्मचारी, निजामती, पत्रकार, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जनप्रतिनिधि लगायतलाई भ्याक्सिनन लगाइएको थियो ।
यो चरणमा ६ हजार ५२७ जनाले भ्याक्सिन लगाएकोमा ६३९ जना छुटेका स्वास्थ्यकर्मी रहेका थिए । तेस्रो पटक ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेबाट चैत २ गतेसम्म भ्याक्सिन लगाइएको थियो । त्यतिबेला ३६ हजार ३७९ जनाले भ्याक्सिन लगाएका छन् । पहिलो र दोस्रो चरणमा लगाएकाहरुलाई वैशाख ७ गतेदेखि १३ गतेसम्म दोस्रो डोज भ्याक्सिन लगाइएको थियो ।
ज्येष्ठ नागरिक बाहेक अन्यले दोस्रो डोज लगाइसकेका छन् । केही छुटेका बाहेक अन्यले दोस्रो डोज लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । छुटेकाहरुलाई पनि लगत सङ्कलन गरेर लगाइने तयारी गरिएको छ । जिल्लामा हालसम्म १२ हजार ८५६ जना सङक्रमित भएका छन् भने २०१ जनाको मृत्यु भएको छ ।



