
लज्जित छु भन्दै नेता योगेश भट्टराईले राखे यस्तो प्रस्ताव
एमाले नेता एवम् पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले अस्वस्थ राजनीतिक खेलले व्यवस्था नै धरापमा पर्ने चिन्ता व्यक्त गरेका छन्।

उनले विगतदेखि कै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर पर्याप्त काम नगरेकाले आज विस्फोट हुन पुगेको टिप्पणी गरेका छन्। बिहीबार उनले बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नाले हामीसबै लज्जित भएको बताएका छन्।

बिहीबार एक विज्ञप्ती प्रकाशित गरी उनले २०७२ सालको महाभूकम्प पछि जसरी राजनीतिक बिमतिलाई थाँती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्यो, अहिलेको अवस्थामा त्यस्तै घटनाक्रमको आवश्यकता रहेको औंल्याएका छन्। उनले कोभिडविरुद्धको लडाइँमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगन गर्न समेत सरकारको ध्यानाकर्षण गरेका छन्।
सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाइँमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्नुपर्ने उनको सुझाव छ।
४ बुँदे सुझाव राखेका उनले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम हुँदै गएकोले अघिल्लो वर्ष इटाली लगायतका युरोपेली मुलुकमा जसरी चीनले कोभिडविरुद्ध स्वास्थ्य सामग्री र जनशक्ति सहयोग गरेको थियो, अहिले नेपाललले पनि चीनसंग कोभिडविरुद्ध स्वास्थ्य सामग्री र जनशक्ति सहयोग माग गर्न ढिला गर्न नहुने बताएका छन्।
भारत र अन्य देशका सरकारहरुलाइ पनि नेपालको कोरोनाविरुद्धको लडाइँमा साथ र सहयोग दिन नेपाल सरकारले अनुरोध गर्नुपर्ने समेत भट्टराईले बताएका छन्।
उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै :
सरकारलाई ध्यानाकर्षण
आज विश्व नै कोभिडबाट आक्रान्त छ । हरेक दिन बिरामीहरुको अकाल मृत्यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बांचेकाहरु लाचार बनिरहेको अवस्था छ । हाम्रो देश अझ संकट तिर जाँदै छ । बिगतदेखि कै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बि’स्फोट बन्न पुगेको छ ।
बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामीसबै लज्जित छौ । यस्तो सँवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेत्रित्वप्रति असन्तुस्टी बढदै गएर ब्यबस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ।
निम्न बिषयमा सरकारको ध्यानाकर्षण गर्दछु ।
१. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।
२. २०७२ को महा भुकम्प पछी जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेत्रित्वले सहमतिमा काम गर्यो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।
३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।
४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।



