
यो देशको राष्ट्रिय समस्या म कि तपाईं हो प्रधानमन्त्रीज्यू ? : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएपनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको विपक्षमा बोल्दै प्रचण्डले भने, ‘म खुसी छैन । के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए ।

उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे ।
उनले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो ? भनेर प्रश्न गरे ।
उनले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाउने गरेको आरोप लगाउँदै पार्टीभित्रको लोकतान्त्रिक बहसका कारण संसद विघटन गरेर लोकतान्त्रिक कदम थियो भनेर प्रश्न गरे ।
यो पनि,,,ओलीलाई विश्वासको मत नदिने जनमोर्चाको घोषणा
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने घोषणा गरेको छ । बरु जनमोर्चाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएको छ ।
ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुर्गा पौडेलले आफूले ओलीको विपक्षमा मतदान गर्ने बताइन् ।
जनमोर्चाको प्रतिनिधिसभामा पौडेलको मात्रै प्रतिनिधित्व छ । सम्बोधनका क्रममा उनले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न सक्ने र आजकै संसद बैठक अन्तिम भएको भन्ने कुरा समेत आएकाले सभामुखमार्फत प्रधानमन्त्रीको जवाफ माग गरिन् ।
यसअघि काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले ओलीलाई मत नदिने निर्णय गरिसकेको छ ।



