अदालतले घोक्र्याएर ओलीको पार्टीमा फर्काइदियो : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर एमाले पार्टीमा फर्काइएको टिप्पणी गरेका छन् ।
नेपाली काँग्रेस र जसपाको दया र कृपा रहुञ्जेल ओली सरकार टिकिरहने नेता नेपालको तर्क छ ।
शनिबार काठमाडौंमा बृहत नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गरेका हुन् ।
नेता नेपालले भने, ‘दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो, त्यसको विरुद्धमा तपाई (नागरिक)हरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठ्यारो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’
तर यसबाट आफू नडराउने पनि नेता नेपालले प्रष्ट पारे । उनले भने, ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर, विडम्बना ! भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टीभित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधव नेपाल होइन !’
नेता नेपालले सर्वोच्च अदालतले विचित्रको निर्णय गरेको बताए । उनले भने, ‘दुईटा राजनीतिक पार्टी एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो, विभिन्न उपचुनाव पनि साथ साथ लडे, विभिन्न संयुक्त कार्यक्रम ग¥यो । तर, सर्वोच्च अदालतले त्यस्ता कुनै कुरालाई ध्यान नदिई दुईटै पार्टीलाई छुट्याइदियो ।’
कम्युनिस्ट पार्टीले अधिनायकवादी विचारधारा नबोक्ने भएकाले पार्टीभित्र कसैले अधिनायकवाद लाद्न खोजे त्यो नचल्ने उनले बताए । उनले पार्टीभित्र विधि विधान, मूल्य मान्यता सबै मुल व्यक्तिबाट नै उल्लघंन भइरहेको बताए ।