संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ : ईश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् ।
वीरगञ्जमा बिहीबार भएको पत्रकार भेटघाटमा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिनेसमेत बताए ।
नेकपा एमाले र माओवादी केन्द्र गरी नेकपा दुईवटा पार्टी भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ कसरी जानुहुन्छ ? भन्ने अर्को जिज्ञासामा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजीनामा दिने बताए ।
‘संसद पूनस्र्थापित भएपछि संसदीय प्रक्रियाबाटै अघि बढ्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने के हुन्छ ? समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ, पाउनुभयो भने ठीकै छ,’ उनले भने, ‘हैन भने राजीनामा दिनुहुन्छ ।
राजीनामा दिएपछि संविधानको धारा ०७६ को उपधारा २ अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ । सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन ।’
सहकार्य र गठनबन्धनको संभावना पनि उत्तिकै रहेको बताउँदै उनले पार्टी फुटाउने काम सहज नभएको तर्क गरे ।