अप्रिय गाली नगरी एकताको बाटो खुला राखौं : वामदेव गौतम
एमालेका वरिष्ठ उपाध्यक्ष तथा नेकपा राष्ट्रिय एकता अभियान चलाएका नेता वामदेव गौतमले विगतका सबै तिक्तता बिर्सेर दुबै पक्षले गाली गर्ने क्रम रोक्नुपर्ने बताएका छन् ।
गाली र अप्रिय गाली नगरी एकताको बाटो खुला राख्न पनि उनले आह्वान गरेका छन् । मंगलबार दिउँसो भैंसेपाटीस्थित आफ्नै निवासमा पत्रकारहरूसँगको अन्तरक्रियामा नेता गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेकपाको नामको वैधानिकताबारे निर्वाचन आयोगले निर्णय गर्न नसकिरहेको अवस्थामा सर्वोच्च अदालतले निकास निकालिदिएको उनको भनाइ थियो । साथै गौतमले सर्वोच्च अदालतको फैसलाको स्वागत समेत गरेका छन् ।
‘यो निर्णयले धेरैलाई खुसी बनाएको छ । सबै खुसी हुनु पर्छ’ नेता गौतमले भने । उनले संसद विघटनविरुद्धको सर्वोच्चको फैसलाको पनि आफूले स्वागत नै गरेको स्मरण गराए ।
पूर्वएमालेहरु पुरानै पार्टीमा रहने र तत्काल एकता अभियान पनि यथावत रहने गौतमको भनाइ छ । तर सर्वोच्चको फैसलाले पार्टीहरुबीच एकता गर्दा नीति, बिचार र सिद्धान्तका आधारलाई ध्यान दिनुपर्ने पाठ सबैले सिकेको उनले बताए ।
पत्रकारहरुले पार्टी विभाजनको आरोप गौतममाथि नै लगाइएको चर्चाबारे जिज्ञासा गर्दा उनले दुई अध्यक्षहरु दुईतिर मुख फर्काएर हिँड्दा पनि आफू भने एकताको पक्षमा नै लागिरहेको स्पष्ट पारेका थिए ।