संसदको हालत हेर्नुस् त, पहिलो गासमै झिँगा: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई पहिलो गासमै झिँगा भनी टिप्पणी गरेका छन् ।
आइतबारको संसद बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै नेकपाको प्रचण्ड–माधव समूहले बहिस्कार गरेको थियो भने विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरेर नाराबाजी गरेको थियो ।
प्रधानमन्त्री ओलीले भने यसलाई गजबको सेटिङ भनेका छन् । ‘कोही कुदेर बाहिर निस्किए, कहाँ हिँडेका हुन् ? के हतार थियो थाहा छैन । केहीले बेल घेरेर नारा लगाए’ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने, ‘संसदको हालत हेर्नुस् त, पहिलो गासमै झिँगा भने जस्तो ।’
यस्तै हुन्छ भनेर आफूले संसद विघटन गरेको उनले बताए । ‘दुर दिन देख्नु थियो पुनर्स्थापना भयो’ भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम मेरै मेख मार्न पनि हिजो त चुप लागेर बस्नु पर्थ्यो । हामीले मुद्दा लडेर जितेपछि यति शान्त भएर चल्छ भनेर देखाउनुपर्थ्यो ।’