अमेरिकासँग असल सम्बन्ध बनाउनुपर्छ : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।
स्वास्थ्य उपचार गरेर दश दिनपछि मंगलबार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका हुन्।
उनले दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको प्रतिक्रिया दिएका छन्। ‘अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति हो।’
उनले ट्विटरमा लेखेका छन्,‘बाटो बिराए पुरानै ठाउँमा फर्कनू भने झैं एकपटक ‘फर्गिभ एण्ड फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै काम गरौं।’
भट्टराईले सहमतिको सरकारले सहमतिले संविधान संशोधन, संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन, समावेसी समृद्धिको बृहद गुरूयोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, बदलिदो भूराजनीतिलाई ध्यान दिँदै भारत, चीन, अमेरिकासँग असल सम्बन्ध बनाउनुपर्ने धारणा राखेका छन्।