पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्छु : विशाल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयार रहेको पनि भट्टराईको भनाइ छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन् । 
उनले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबीका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ ।

आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भनेपनि एक सयभन्दा बढी सांसद छन् ।’

उनले जनताले नेकपालाई झण्डै दुई तिहाई बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरुको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको सुनाए । 
प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ छ ।

सर्वोच्च अदालतले पुष ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरुले सम्मान गर्ने पनि उनले सुनाए । उनले सर्वोच्च अदालतको फैसला बमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिश गरिसकेको जनाए । 

संसदको अधिवेशन (फागुन २३) गते अघि नै आफूहरुको संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए । उक्त बैठकमा सहभागी हुनको लागि दाहाल–नेपाललाई पनि उनले आग्रह गरे । तत्काल नआएपनि केही नगर्ने उनले जनाए ।

प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने उनले जनाए । तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने पनि उनले चेतावनी दिए ।
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे ।

उनले पहिला कसको कित्तामा उभिने भनेर कांग्रेसले कित्ता क्लियर गर्नुपर्ने पनि धारणा राखे । तर, अहिले नेकपा नफुटेकोले आफूहरुसँग नै एकल बहुमत रहेको भट्टराईको जिकिर छ ।

उनले भने,‘अहिले कसैसँग हाम्रो पार्टीले प्रणाम गर्न जरुरी छैन ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button