संसद् पुनःस्थापना नभए देशमा आगो बल्छ,भयंकर हुनेवाला छ : पूर्वमन्त्री भुषाल
नेपाल कम्प्युनिस्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको नेकपा दाहाल–नेपाल समूहका नेताहरूले बताएका छन्।
उनीहरूले महाधिवेशनमा अध्यक्ष चयन हुँदा नै नेतृत्व फरक विचार र सिद्धान्तबाट प्रेरित भएका कारण अहिले पार्टी विभाजन भएको बताएका हुन्।
नेकपा दाहाल–नेपाल समूहका नेताहरूले संसद् पुनःस्थापना नभए देशमा अस्थिरता उत्पन्न भई विद्रोह हुनेसमेत बताए।
शनिबार पाल्पाको तानसेनमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोध नगर्दै नेकपा नेताहरूले देशमा संसद् पुनःस्थापना हुने कुरामा विश्वस्त रहेको बताउँदै पुनःस्थापना नभए देशमा आगो बल्ने बताएका हुन्।
पूर्वकृषिमन्त्री घनश्याम भुषालले देशमा ओलीको अहंताका कारण भयंकर स्थिति निम्तन सक्ने बताए। उनले भने, ‘यदि संसद् पुनःस्थापना नभएमा हरेक जात, हरेक क्षेत्र, हरेक ठाउँ त्यो द्वन्द्वमा फस्ने ठाउँलाई सदर गरेको ठहरिने छ। ओलीको बाटोबाट त्यहाँ पुगिने हो, तर स्थिति त्यस्तो छैन। न्यायाधिशहरूले पनि कहिलेकाहीँ के भनेर निर्णय गर्छन् भने हाम्रो हो निर्णय भयो भने मुलुकमा के हुन्छ ?’
लुम्बिनी प्रदेश इन्चार्च युवराज ज्ञवालीले दुनियाँ बदल्छु भनेर हिँड्नेहरू नै आफू बदलिन नसक्दा समस्या निम्तिएको बताए।
उनले भने, ‘नेता, नेतृत्व र पार्टी एकअर्काका परिपूरक सिद्धान्तको रूपमा रहेका हुन्छन्। तर सिद्धान्तअनुसारको पार्टी नेतृत्व चयन हुन सकेन। आफू बदलिन नसक्ने र अरूलाई बदल्छु भन्दै हिँड्ने मूर्खता हो।’
पूर्व सभामुख ओनसरी घर्तीले केपी शर्मा ओलीले दम्भकाकारण देशमा भएको ठूलो परिवर्तनलाई संस्थागत गर्न नसकिएको बताइन्। उनले देशलाई अप्ठ्यारोमा पारेर मनोमानी गर्ने ओलीवाद एक दिन सकिने बताइन्।
जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विभिन्न नेताहरूले विश्वमा नभएको कम्युनिस्टको खोल ओडेर ओलीले नेकपाको मूल सिद्धान्तलाई नै खलबल्याएको बताएका थिए।