पर्वहरूले सद्भावना बढाउँदै आएको छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम/ग्याल्वो ल्होसारको शुभकामना दिएका छन्।
आज विज्ञप्ति जारी गर्दै देउवाले तामाङ जातिकोे “सोनाम ल्होसार” तथा शेर्पा जातिको “ग्याल्वो ल्होसार’ का अवसरमा शुभकामना दिएका छन्।
‘स्वदेश तथा विदेशमा रहनु भएका तामाङ तथा शेर्पा समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु,’ देउवाले भनेका छन्।
यस्तै पर्वहरूले सद्भावना बढाउँदै आएको देउवाको भनाइ छ।
‘सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन् । सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ । यी पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ,’ उनले भनेका छन्।