‘अस्थिरतातर्फ होइन, चुनावतर्फ जाऔं : केपी ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
शुक्रबार बागमती प्रदेश कमिटिले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने दाबी गरेका हुन्।
उनले प्रचण्ड–माधव समूहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताए। तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरूले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड—माधव समूहलाई व्यंग्य गरे।
‘उहाँहरू भन्नुहुन्छ, अब शाहाकारी आन्दोलनलाई हुँदैन भनेर। शाहाकारी आन्दोलन हुँदैन भनेको के हो? चिकेन चिल्लि खान्छु भन्या हो? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो। म उहाँहरूलाई भन्दिनँ चाहन्छु नरभक्षी आन्दोलनका दिन गए। अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । नेपाल शान्तिपूर्ण । अब नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्तैन। शान्तिपूर्ण नेपाल रहन्छ’, उनले भने।
प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दोहोर्याए। जनताले सरकारलाई ५ वर्ष काम गर्ने म्याण्डेड दिएको भए पनि प्रचण्ड–माधव समूहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको उनले स्पष्ट पारे।
‘काम गर्न दिईएन बीचमा। मैले धेरै पल्ट भने । यो सरकार ५ वर्षका लागि हो, ५ वर्ष चलाऔं। तर उहाँहरू पार्टी फोड्नुपर्छ, केपी ओली हट्नुपर्छ अनि जोडजाम गरेर विभिन्नसँग मोलतोल गरेर जसरी पनि केपी ओलीलाई हटाउनुपर्छ। देशलाई भड्खालोमा हाल्नुपर्छ। त्यसलाई उहाँहरू स्थिरता र स्थायीत्व भन्नुहुन्छ। के त्यो स्थायीत्व हो र? उहाँहरू जनतालाई धोका दिँदै हुनुहुन्छ। आफ्नो स्वार्थ र व्यक्तिगत अहंकार महत्वकांक्षाका लागि सब काम गर्दे हुनुहुन्छ।
जब उहाँहरुले काम गर्न दिनुभएन, लोकतन्त्रलाई ठिक ढंगले चल्न दिनुभएन । संसदलाई ठिक ढंगले चल्न दिनुभएन। संसदलाई केही पनि काम गर्न नसक्ने अवस्थामा पुर्याउनुभयो। काम गर्नै नदिने, काम गर्ने नपाउने अवस्था आएपछि नेपाली जनताका माझ ताजा जनादेशमा जानुपर्यो,’ उनले भने।
प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गरे। बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गरे।
संसद विघटन गर्न सक्ने प्रधानमन्त्रीमा निहित अधिकारमा प्रचण्ड माधव समूहले बलजफ्ति बहस चलाएर प्रतिगमन भनेको टिप्पणी पनि उनले गरे।
‘देशव्यापी रुपमा एउटा बहस भईरहेको छ । बलजफ्ती यो बहस निकालिएको छ । संसद विघटनको सिफारिस, संसद विघटन संविधानसम्मत छ कि छैन? भनेर बहस निकालिएको छ । म भन्न चाहन्छु संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था भयो भन, काम गर्न नपाउने अवस्था भयो भने संसद विघटन गर्छ ।
बेलायतमा लिखित संविधान छैन । अथवा त्यहा प्रधानमन्त्रीले संसद विघटन गर्ने लेखेको छैन तर प्रधानमन्त्रीले अस्ति भर्रखर संसद विघटन गरेर चुनाव गराउनुभयो। यसरी प्रधानमन्त्रीले संसद विघटन गर्छ काम गर्न दिइएन भने । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, व्यवधान गर्ने अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने ? त्यस प्रकारको प्रवृत्तिको जवाफ चुनावबाट खोज्नु पर्दछ । जनताको ताजा जनादेशबाट खोज्नु पर्दछ,’ उनले भने।
‘अस्थिरतातर्फ होइन, चुनावतर्फ जाऔं। अस्थिरता होइन, चुनाव चाहियो। जनता के भन्छ, चुनाव,’ उनले भने।