
कर्मचारीलाई ओलीको सुझाव- ‘कसैले घुस दियो भने खान्न भन्नुस्’
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी संगठनका कर्मचारीहरुलाई कसैले घुस दियो भने खान्न भन्नुपर्ने सुझाव दिएका छन् ।

शनिबार बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निजामती कर्मचारी सेवामुखी भएको र कसैले घुस दिएमा खान्न भन्नुपर्ने उनले सुझाव दिए ।

उनले भने, ‘कसैले घुस खुवाउन दियो भने खान्न भन्नुस् । सरकारको तलब खाएको छु, भ्रष्टाचार गर्दिन भन्नुस् ।’
अध्यक्ष ओलीले माओवादीनिकट कर्मचारी माओवादी छाडेर एमालेमा आएका संगठनका उपाध्यक्ष अम्बिका धमलासहित एक सय जना केन्द्रीय सदस्यलाई धन्यवाद दिए ।
माओवादीबाट एमालेमा प्रवेश गरेका निजामती कर्मचारीहरु बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टनिकट हुन् । बादलसहित अन्य नेताहरु माओवादीबाट छुट्टिएर एमालेमा समाहित भए पनि कर्मचारी संगठन समाहित भएको थिएन ।
तर, शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट उनीहरुलाई समाहित गरिएको छ ।