
माघ २३ गते वास्तविक जनप्रदर्शन हुन्छ : ओली
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बागमती प्रदेश संगठन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका २१ वटै जनवर्गीय संगठनले आ-आफ्नो पहिचानसहित र्यालीमा सहभागी हुने जानकारी गराएको हो।

रत्नपार्कमा हुने जनसभालाई व्यवस्थित गर्न नेकपाका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए।

जनसभा सफल बनाउन प्रदेश, जिल्ला, नगर र वडासम्म जनसभा परिचालन कमिटी बनाउने र सहभागीता व्यापक बनाउने उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आकांक्षा र चाहनालाई मूर्तरुप दिन सरकार गठन गरेदेखि नै निरन्तर प्रयत्न गरेपनि पार्टीभित्रका षड्यन्त्रकारीले जनअपेक्षा सम्बोधन गर्न गराउनभन्दा सरकार र पार्टीविरोधी गतिविधि गर्दै प्रधानमन्त्रीलाई घेराबन्दी गर्न र असफल बनाउन षड्यन्त गरेको पोखरेलले आरोप लगाए ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा प्रचण्ड-माधव नेपाल समूहले मुलुक व्यापी अराजक, अस्थिरता र हिंसात्मक प्रर्दशन गर्ने चेतावनी दिएकाले चुप लागेर बस्न नहुने उल्लेख गरिएको छ।
वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बारेमा जनतालाई जानकारी दिनु कर्तव्य र दायित्व भएकाले जनसभाको आयोजना गरिएको पोखरेल बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई ‘सामान्य’ भन्दै २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गरेका थिए।