
सांसदको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ
माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरे ।

उनले भने– ‘पुरानो सरकारले हनुमान मात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन ।
हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो । त्यहाँ ५ महिनादेखि हाजिर नभएका कर्मचारीहरुले तलब खाइरहेका छन् । यसको मतलब कुलमानले प्राधिकरणलाई फाइदा नै पुर्याइरहेका छन् ।
तर कुलमान बाहेक अरु मान्छे नै छैन् त ? कुलमान बुढो भएपछि सरकारले के गर्छ ? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? विद्युत् प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एयरलाइन्स छैन, अरु संस्थान डुबेका छैनन् ? खालि किन कुलमान मात्रै ?’
उदयपुरमा भिरबाट लडेर १ जनाको मृत्यु
उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
आज बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी रौताको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरी स्वास्थ्य परीक्षणका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।
मृतक मगर राति कुन समयमा किन र कसरी लडे भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत बेदप्रसाद गौतमले बताए ।