
भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसादलाई घुलमिल गर्न गाह्रो
भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाको पारिवारिक सामाजिकीकरणमा समस्या भइरहेको छ।

लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भइरहेको परिवारजनले बताएका छन् ।

घरमा सँगै रहेका भतिजा गोपाल शर्मा तिम्सिनाले दुर्गाप्रसादको बोलीचाली र व्यवहार सुरुमा सहज भएपनि अहिले दिनदिनै जटिल बनिरहेको बताए ।
‘पहिला–पहिला अधिकांश समय मानसिक रूपमा ठीक अवस्थाको बोली–व्यवहार थियो,’ गोपालले भने, ‘दिन बित्दैगएपछि उहाँको अवस्था झन्झन् असहज देखिँदैछ ।’
घरमा खाना खाने, लुगा लगाउने, सरसफाइ गर्नेलगायत काममा दुर्गाप्रसादलाई केही सातायता मानसिक हिसाबले निकै गाह्रो परिरहेको छ । ‘कुनैबेला मानसिक रूपमा उहाँ एकदम ठीक हुनुहुन्छ जस्तो बोली–व्यवहार छ, कोहीबेला उहाँकै कारण परिवारको भौतिक सुरक्षा नै जोखिममा पर्लाजस्तो खतरा पनि छ,’ गोपालले भने, ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका छन् ।
तर, अवस्था चाहिँ झन्झन् बिग्रिएकोजस्तो देखिन्छ ।’
परिवारजनका अनुसार घरमा रहँदा दुर्गाप्रसाद गीत धेरै गाउँछन् । बोल्दाबोल्दै कतिबेला कस्तो शब्द फुत्किन्छ भन्ने सुइँको पाउँदैनन् । उनले घर छाडेर हिँडेपछि परिवार तत्कालीन एकतप्पा गाउँ विकास समितिबाट माई नगरपालिका–१०, लुम्बाकमा बसाइँ सरेको छ ।
‘ठूलो बुबा बेला–बेला मेरो घर एकतप्पा हो, एकतप्पा नै जान्छु भन्नुहुन्छ,’ गोपालले सुनाए, ‘बेला–बेला चाहिँ मलाई जेलमै पुर्याइदिनू भन्नुहुन्छ ।’ दुर्गाप्रसाद घरमा आमासँग सामान्य बोलचाल गर्छन् । दिउँसो गाउँतिरसमेत डुल्छन् ।
घरभन्दा डेढ/दुई घन्टाको पैदल दूरीमा समेत पुग्छन् उनी । गाउँलेसँग पनि धेर–थोर बोल्छन् । तर, आफूलाई गाउँमा बस्दा अत्यन्त असहज भएजस्तो गर्छन् । परिवारले उनलाई विगतको असह्य पीडा भुलाएर सामान्य जीवनमा फर्काउन घरको सानोतिनो काम सिकाउने, अल्झाउने प्रयास गरिरहेको छ । तर, दुर्गाप्रसादले सामान्य लय समात्न नसकेको परिवारजन बताउँछन् ।
दुर्गाप्रसाद घर आएपछि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको छ । ‘चिकित्सकले उहाँको मानसिक अवस्था ठीक छ, बिस्तारै सुधार हुन्छ भनेकाले फेरि उपचारमा लगिएको छैन,’ गोपालले भने, ‘तर, पुनः मनोचिकित्सकसँग परामर्श नगरी नहुने भइसकेको छ ।’
दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन् ।
विभिन्न संघ–संस्थाको पहलमा उनलाई गत चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको हो ।
सन् १९८१ मै जेल परेका उनको मुद्दामा कुनै सुनुवाई भएन । यसरी लामो समय जेलमै कोचिएको थाहा पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेगरी गत चैत ७ मा रिहा गरेको थियो ।
चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहारमात्र गर्नसक्ने रिपोर्ट दिएका थिए । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए ।
एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) का दुर्गाप्रसाद मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । त्यसयता बेपत्ता उनी जिउँदै छन् या छैनन् भन्ने नै परिवारजनलाई थाहा थिएन ।
घरबाट हिँडेपछि उनी दार्जिलिङमा रोजगारी गरिरहेको अपुष्ट खबर आएको थियो । तर, दार्जिलिङमा त्यतिबेला गोर्खाल्यान्ड आन्दोलन चलिरहेकाले त्यहीं उनको मृत्यु भएको अनुमान परिवारलाई थियो ।
१० वर्षअघि दुर्गाप्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्काे मुद्दामा गत जनवरीमा जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाएका थिए । त्यसपछि उनले भारतकै वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गरेका थिए ।
यस्तो खबर आएपछि रेडियोले नेपालका विभिन्न संयन्त्रसँग उनको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो ।
जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो ।
जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको छ ।
१ नम्बर प्रदेश सरकारले उनको उपचार निःशुल्क गरिदिएको छ । उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको छ ।
बाढीको जोखिम बढेपछि हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी
मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् ।
हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरु लमजुङ, काठमाडौं, पोखरातर्फ आउन थालेका हुन् ।
नासो गाउँपालिका–८ ताचे ओडारका ३५ वर्षीय विष्णु घले, ३२ वर्षीय चन्द्रकाशी गुरुङ, ३१ वर्षीय सञ्जय गुरुङ, १४ वर्षीय सविना गुरुङ र सोही हेलिकप्टरमा गोरखा सिरनचोकका २२ वर्षीय पुकार गुरुङ आज मनाङबाट हेलिकप्टर रिजर्भ गरेर लमजुङ आइपुगेका छन् ।
पुकार गुरुङ भने गत जेठ २६ गते मनाङ ताचे घुम्न गएको र पहिराका कारण रोकिएर बसेका थिए ।
विष्णु घलेले भने, ‘मनाङ ताचेबाट हेलिकप्टरमा हामीले प्रतिव्यक्ति २० हजारका दरले तिरेर बेँसीशहर आएका हौँ ।’ यसरी आउनु हाम्रो रहर होइन बाध्यता भएको उहाँको भनाइ छ ।
घलेले भने, ‘गाउँभन्दा तल नै सुरक्षित छ, मनाङका गाउँहरुमा वारिपारि पहिरो अझै पनि गइरहेको छ । गाउँमा बिजुली लाइन छैन, वाइफाई छैन, बाटो छैन, मोबाइलमा चार्ज गर्न पाएको छैन यतिबेला त्यहाँ धेरै समस्या रहेको उनीहरुको भनाइ छ ।’
हामीमध्ये लमजुङमा कोही शिक्षक कोही विद्यार्थी रहेको र सोका लागि पनि आएको चन्द्रकाशी गुरुङले बताए । उनले भने, ‘हिँडेर आउनलाई बाटो छैन, जोखिम बढी छ, नआऔँ भने यता काम पनि गर्न पाइँदैन । यसरी आउने हामी मात्र होइन गाउँका अन्य स्थानीयपवासी पनि हेलिकप्टरबाट लमजुङ काठमाडौं जान थालेको उनीहरुको भनाइ छ ।
मनाङ घर भए पनि रोजगारीलगायत विभिन्न कामले जिल्लाबाहिर बस्नेहरु यतिबेला काठमाडौं, लमजुङ हेलिकप्टरबाट जाने क्रम जारी रहेको विष्णु घलेले बताए । उनले भने, ‘यसरी जाँदा त्यहाँभन्दा तल नै सुरक्षित हुन्छ, आफ्नो काम पनि गर्न पाउँछन् ।
गाउँमा हुँदा अब मर्छौं होला, हाम्रो गाउँ वरिपरि पहिरो गएको छ, पानी रोकिएको छैन, गाउँबाट कतै जानलाई पनि बाटोसमेत सबै भत्किसकेकाले डरमा थियौँ तर अब भने बाँचिन्छ खुशी लाग्यो ।’
मनाङमा जोखिम अझै पनि कायम रहेकाले आफू खुशी र पैसा भएकाहरुले निजी हेलिकप्टरमार्फत पनि जिल्ला बाहिरका विभिन्न ठाउँमा गइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
आज पनि वर्षा भएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेर चामेबाट माथिल्लो मनाङ जाने पुलसमेत उच्च जोखिम बनाएको उनको भनाइ छ । हेलिकप्टर लमजुङ हुँदै मनाङ आवतजावत गरिरहेको छ । यसरी आवजावत गर्दा यहाँका स्थानीयवासीको समेत सोतर्फ ध्यान केन्द्रित हुने गरेको छ । रासस



