सहमतिअनुसार प्रचण्ड अघि नबढ्दा समस्या उत्पन्न भयो: प्रधानमन्त्री ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश प्रचण्डको व्यक्तिगत स्वार्थका लागि सती जान नसक्ने जिकिर गरेका छन् ।
केही व्यक्तिहरुले देशको राजनीतिलाई आफ्नो निहित स्वार्थको लागि धमिल्याउन खोजेको आरोप लगाउँदै उनले ‘देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ भन्दै आक्रोश समेत पोखे ।
मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? अनि मान्छेहरुले भन्ने गरेका छन्, आधाआधा भन्याथ्यो खै आधा ? अनि त्यो आधाआधा भन्ने कागज प्रचण्डले बीचमै कार्यकारी चाहियो भनेर लेखाएर ५ वर्ष तपाईँ गर्नुस् भनेर अर्को कागज गरेको होइन ?’ उनले प्रचण्ड सहमतिअनुसार अघि नबढ्दा समस्या भएको पनि दावी गरे ।
उनले आफूसँगै महाधिवेशनमा हारेका एमाले नेता माधव कुमार नेपालले बीचमै अध्यक्ष चाहियो भनेर बखेडा झिकेको पनि बताए ।
‘हारेको मान्छे मलाई चाहियो मलाई चाहियो रे !’, उनले भने, ‘माधव नेपाललाई मैले तेस्रो अध्यक्ष बन्नुस् पनि भनेँ, तपाईँ त ठूलो मान्छे भनेर कसले उचालिदिएछन्, तेस्रो अध्यक्ष खान्न भनिदिए ।’ उनले सडकमा भने प्रचण्डभन्दा पछिको अध्यक्ष भएर माधव नेपाल बसेको भन्दै व्यङ्ग्य गरे ।