
लकडाउन लगाउने बारेमा सरकारको यस्तो छ रणनीति
छिमेकी मुलुक भारतमा फेरी सुरु भएको कोरोनाले नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ । दिनहुँ कोरोना संक्रमितका संख्या बढ्दै गएका छन् ।

पछिल्लो तीन दिन यता नै संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो चरणको कोरोना महामारीमा गरिएको लामो लकडाउनका कारण सर्वसाधारणको जनजिवन अस्त ब्यस्त भएको थियो ।

फेरी कोरोनाको जोखिम संगै लकडाउन हुने हो की भन्दै सर्वसाधारणमा कौतुहलता जागेको छ । यही आम चासोका बीच सरकार भने पहिलेको जस्तो लकडाउन नगर्ने पक्षमा देखिएको छ । स्वास्थ्यविद्हरुले पनि पहिलाको जस्तै गल्ती नगर्न सरकारलाई सुझाव दिएका छन् ।
स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै जाने तर, लकडाउन नै भने नगर्ने मुडमा सरकार देखिएको हो ।
सरकार तत्काल लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमामा सतर्कता अपनाउने र हवाइ उडानमा थप योजनावद्ध नीति लागू गर्नुका साथै क्वारेन्टिनको उचित व्यवस्थापन र समग्र स्वास्थ्य प्रणालीको सही परिचालनमा सरकारको जोड रहनेछ ।
यस्तै, बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक समेत बस्ने भएको छ । सो बैठकले रणनीति बनाउने बताइएको छ ।
दोस्रो चरणको कोरोना माहामारी फैलन नदिन अपनाउनुपर्ने सुझाव सरकारलाई दिन बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना रोकथाम र न्यूनीकरणका लागि सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।
यसबाहेक कोरोना कहरका बीच सीसीएमसीले गरेको कामकारबाही समेटिएको पुस्तक विमोचन गर्ने कार्यक्रम पनि रहेको एक मन्त्रीले जानकारी दिए ।