शिवरात्रिको दिन पशुपति क्षेत्रमा महँगा गहना नलगाउन आग्रह
कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको शिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
कोष कार्य सम्पादन समितिको बैठकले सदस्य-सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ ।
शिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ तीव्र बनाइएको छ । आज बिहान वाग्मती सफाइ अभियानले समेत पशुपति क्षेत्रमै सफाइ गरेको छ ।
कोषले शिवरात्रिमा पशुपतिमा आउने जति भक्तजनलाई दर्शन गराउने गरी तयारी सुरु गरेको छ । शिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनमा अनुरोध गरेको छ ।
फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने शिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । शिवरात्रिका अवसरमा गत वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले फागुन २५ गतेदेखि सुरु गर्दैछ ।
शिवरात्रिका दिन भने पाँच हजार १०० र ११ हजारको मात्र विशेष पूजा गर्ने कोषले घोषणा गरेको छ ।
पाँच हजार १०० को रसिद काटेर विशेष पूजा गर्ने भक्तजनका तर्फबाट दुई जना र ११ हजारको रसिद काटेर गरिने विशेष पूजाको रसिदका चार जना कर्तालाई पशुपतिनाथको दर्शन गराइने कोषाध्यक्ष थापाले जानकारी दिए ।
पशुपतिमा शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने छ । मूल मन्दिरभित्र भौतिक दूरीसमेत कायम गरेर दर्शन गराउने कोषको तयारी छ ।