
एउटा बैंकबाट लिएको ऋण अर्कोमा सार्न पाइन्छ ? के हुन्छ प्रकृया ?
यदि तपाईंले चाहेको खण्डमा एउटा बैंकबाट लिएको ऋण अर्को बैंकमा निश्चित शर्तहरु पालना गरेर सार्न (ट्रान्सफर) गर्न सक्नुहुन्छ ।

सामन्यतयाः कुनै पनि बैंकको ब्याजदर चित्त नबुझेमा वा बैंकका कर्मचारीहरुको व्यवहार मन नपरेमा वा बैंकको शाखा आफु बस्ने ठाउँबाट अलिक टाढा हुँदा नियमित किस्ता बुझाउन अप्ठेरो परेको खण्डमा ऋण स्वाप गर्ने गरिन्छ ।

ग्राहकले कुनै पनि एउटा बैंकबाट आफुलाई इच्छा लागेको अर्को बैंकमा सजिलै ऋण स्थानान्तरण गर्न सकिने एनएमबी बैंकका रिलेसनसीप म्यानेजर श्रवल त्रिपाठी बताउँछन् । उपभोक्ताको अधिकार सुरक्षा गर्दै नेपालको बैंकिङ कानुनले कुनै पनि ऋणीलाई आफुले चाहेको बैंकमा कर्जा सार्ने सुविधा दिएको छ ।
घटेको आधारदर अनुसार ऋणीको ब्याजदर घटाउन बैंक तथा बित्तीय संस्थाहरुले आनाकानी गर्दा धेरै उपभोक्ताहरुले बैंक नै परिवर्तन गर्ने बिकल्प खोज्न थालेको नेपाल बैंकिङ एशोसियसन (एनबीए) बताउँछ । यसलाई बैंकिङ भाषामा लोन स्वापिङ भनिने गरिन्छ ।
ऋण सार्नु लाभदायक छ ?
यदि तपाइले नयाँ बैंकमा ब्याजदर सस्तो पाउनुभयो, ऋणको अवधि लगायतका बिषयमा थप सहमत बनाउन सक्नुभयो भने तपाइको ऋणको लागत घटन सक्छ । नयाँ बैंकसँगको आफ्नो पहुँच र बार्गेनिङ गर्ने सार्मथ्यका आधारमा तपाइले मौजुदा बैंकको भन्दा कम लागतमा ऋण पाउन सक्ने सम्भावना हुन्छ । यदि तपाइले मौजुदा बैंकको भन्दा राम्रो दर र ब्यबहार पाउनुभयो भने लोन ट्रान्सफर गर्नु लाभदायक निर्णय हुन्छ ।
ऋण सार्नुको पहिलो फाइदा चर्को ब्याजबाट बच्न सकिन्छ । लोन स्वाप गर्न त्यति कठिन पनि हुँदैन । तर प्रोसेस चाहीँ नयाँ ऋण लिँदाकै जस्तो हुने गर्छ ।
मौजुदा बैंकमा बैंकको किस्ता नियमित तिरेको, साँवा वा ब्याज भुक्तानी बाँकी नरहेको अबस्थामा कुनै पनि बैंकमा ऋण सार्न सकिने त्रिपाठीले बताए ।
कसरी सार्ने ?
तपाईंले ऋण सार्न चाहनु भएको बैंकमा सबैभन्दा पहिला कुरा गर्नुपर्छ । त्यो बैंकको ब्याजदर, सेवाशुल्क, लोनको अवधि लगायतका बिषय यकिन गरेपछि मात्र ऋण सार्नका लागि निवेदन दिन सक्नुहुन्छ ।
ऋण सार्ने निवेदनसँगै नयाँ बैंकले पुरानो बैंकमा बाँकी रहेको बक्यौता रकम भुक्तानी गरी आफ्नो बैंकमा तपाईंको लोन सारिदिन सक्छ । सामान्यतयाः नयाँ बैंकले नै लोन ट्रान्सफरको प्रकृयामा पुरानो बैंकसँग कुराकानी गर्छ ।
ऋण सार्दा प्रि–पेमेन्ट कष्ट तिर्नु पर्छ कि पर्दैन ?
ऋण स्थानान्तरण गर्दा नयाँ बैंकबाट पैसा लिएर मौजुदा बैंकको साँबा ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । यदि तपाईंले बैंकबाट ५० लाखभन्दा कम ऋण लिनुभएको छ वा बैंकलाई तिर्नुपर्ने बाँकी रकम ५० लाखभन्दा कम छ भने प्रि–पेमेन्ट कष्ट तिर्नुपर्दैन । यो सुबिधा नेपाल राष्ट्र बैंकले दिएको छ ।
तर, ५० लाभन्दा माथिको ऋण अग्रिम भुक्तानी गर्दा मौजुदा बैंकमा प्रि–पेमेन्ट कष्ट बुझउनुपर्ने त्रिपाठीले बताए । सामान्यतया बैंकबाट ऋण अलि लामो समयका लागि लिइएको हुन्छ । ५० लाखभन्दा माथिको ऋण तपाईंले मौजुदा बैंकलाई दुई बर्षभित्र प्रि–पेमेन्ट गरेर अर्को बैंकमा सार्नका लागि सुरुमा ऋण लिँदा बुझाएको सर्भिस चार्जको १०० प्रतिशत रकम तिर्नुपर्छ । यदि २ देखि ५ बर्षभित्र प्रि–पेमेन्ट गर्दै हुनुहुन्छ भने सुरुमा लिएको सर्भिस चार्जको ५० प्रतिशत रकम तिर्नुपर्छ । ५ बर्षभन्दा बढी समयमा प्रि–पेमेन्ट गर्दै हुनुहुन्छ भने सर्भिस चार्जको २५ प्रतिशत तिरे पुग्छ ।
त्रिपाठी भन्छन्, ‘कुनै पनि ग्राहकले बैंकबाट लामो अवधिका लागि लिँदा बैंकले सोही अनुरुप ब्याज, किस्ता निर्धारण गरेको हुन्छ । तर, ग्राहकले निर्धारित समयभन्दा अगाडि नै ऋण चुक्ता गर्न खोजेमा सम्बन्धित बैंकको अपर्चुनिटी कष्ट गुम्न जान्छ । त्यसैले ५० लाखभन्दा माथिको ऋण अग्रिम भुक्तानी गरेर अर्को बैंकमा सार्दा मौजुदा बैंकमा प्रि–पेमेन्ट कष्ट बुझाउनु पर्छ ।’
नयाँ बैंकमा आवेदन र सेवा शुल्क लाग्छ कि लाग्दैन ?
ऋण स्वाप गर्दा नयाँ बैंकले आवेदन शुल्क लिँदैनन् । तर, सेवा शुल्क भने लिने गरेको त्रिपाठीले बताए । अहिले राष्ट्र बैंकको नियमअनुसार बाणिज्य बैंकले सेवा शुल्क ०.७५ प्रतिशतभन्दा बढी लिन पाउँदैनन् । विकास बैंकले १ प्रतिशतसम्म र फाइनान्स कम्पनीले १.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउँछन् । यदि तपाईंले ऋण स्वाप गर्ने बेलामा नयाँ बैंकसँग राम्रो डिल गर्न सक्नुभयो भने सेवा शुल्क कम लिन सक्छन् ।
ऋण सार्नुअघि यी काम गर्नुहोस्
यदि तपाइले ऋण सार्ने योजना बनाइरहनुभएको छ सवैभन्दा पहिले तपाइले मौजुदा बैंकसँग कुरा गर्नुहोस् । तपाइले किन ऋण सार्नुपर्ने अबस्था आयो, कहाँकहाँ समस्या भोग्नुभयो, नयाँ बैंकमा कति सस्तो ब्याजदर वा समयको सहुलियत पाउनुभयो लगायतका बिषय मौजुदा बैंकका लोन अफिसरलाई जानकारी दिनुहोस् ।
यदि बैंकले तपाइसँगको बिजनेसलाई निरन्तरता दिने मनसाय राख्यो भने तपाइले नयाँ बैंकमा पाएसरहकै ब्याजदर र सुविधा अफर गर्न पनि सक्छ । यसो हुँदा तपाइले ऋण सार्ने झण्झट नगरी लागत घटाउन सक्नुहुन्छ ।
तपाइले मौजुदा बैंकमा राम्रो अफर पाउनुभएन भने नयाँ बैंकसँग ब्याजदर, ऋणको अबधि र सेवा शुल्क लगायतका शीर्षकमा आफ्ना सर्त राख्नुहोस् । नयाँ बैंकले अपाm्नो सर्त मानेको खण्डमा मात्र ऋण सार्नु बुद्धिमानी हुन्छ ।