गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपति भण्डारीको पहल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहनुभएकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसन बसिरहेकी अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेकी हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोगका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले आयोगलाई पहल लिन आग्रह गरेकी हुन् ।
गत पुस ६ गतेदेखि गङ्गामाया अनसन बसिरहेकी छिन् । उनको स्वास्थ अवस्था जटिल बन्दै गएकाले आयोगले तत्काल पहल गरी उनको जीवन बचाउन पहल गर्न राष्ट्रपतिले आयोगका पदाधिकारीलाई आग्रह गरिन् ।
राष्ट्रपतिले आफूले यस विषयमा नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराइसकेको स्मरण पनि गराइन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै गोर्खा फुजेलकी गङ्गामाया गत पुस ६ गतेदेखि अनशनमा बसेकी छिन् ।
अहिले उनको मुख्य माग दुईवटा रहेको देखिन्छ । राष्ट्रपतिले नेपाल सरकारले पाटन उच्च अदालतमा पुनरावेदन गरेको कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दालाई अघि बढाउनुपर्ने र मुद्दाको पेशी स्थगन हुन नहुने तथा हत्याका मुख्य आरोपी हाल आयरल्यान्डमा रहेका रुद्र आचार्यलाई नेपाल झिकाई कारवाही अगाडि बढाउनुपर्ने सुझाव पनि दिइन् ।
राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालका अनुसार संवैधानिक अङ्गका नवनियुक्त प्रमुख र सदस्यसँग राष्ट्रपतिले नियमित भेटघाट गर्ने क्रममा आज सो भेट भएको हो ।
कृष्णप्रसादको हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गरेपछि तत्कालीन एनेकपा (माओवादी) का नेताको विरोधका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।
सरकारले सो मुद्दा पुनरावलोकनका लागि पाटन उच्च अदालतमा दिएको निवेदन हाल विचाराधीन छ । रुद्र आचार्य हाल आयरल्याण्डमा छन् ।
नेपाल सरकारले आचार्यलाई यातना नदिने आशयसहितको पत्र बेलायत सरकारलाई लेखी नेपाल झिकाउन सक्छ, यस मामिलामा परराष्ट्र मन्त्रालय तयार रहेको देखिन्छ । नेपाल सरकारका तर्फबाट तत्कालीन शान्ति तथा पुनः निर्माणमन्त्री नरहरि आचार्यले गङ्गामायासँग गरेको तीन बुँदे सम्झौतामा मुद्दा चलाउने, रुद्र आचार्यलाई नेपाल झिकाउने र गङ्गामायाको जीवन निर्वाहका लागि आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख थियो ।
यसैअनुसार वर्तमान सरकार गठनपछि गङ्गामायाको नाममा खाता खोली रकम जम्मा गरिएकामा उक्त रकम ब्याजसहित हाल उहाँकै खातामा रु एक करोड १७ लाख रहेको छ । उनको आफ्नै छोरा नुरप्रसादको असहमतिका कारणले उक्त रकम उनको लागि घर किन्ने कुरामा उपयोग हुन सकेको छैन ।