जसले हामीलाई मुख्यमन्त्री दिन्छ,उसैलाई समर्थन गर्छौं : देउवा
१० माघ, काठमाडौं । सभापति शेरबहादुर देउवाले शुक्रबार बुढानिलकण्ठ निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका छन्।
देउवाले नेताहरूसँग झन्डै दुई घन्टा प्रदेश सभामा अब के रणनीति अपनाउनेबारे छलफल गरेका थिए।
छलफलमा सहभागी एक केन्द्रीय सदस्यले देउवाले पार्टीलाई पनि फाइदा हुने गरी प्रदेश सभाबारे निर्णयमा पुग्नु पर्नेमा जोड दिएको बताए।
‘पार्टी हितलाई पनि केन्द्रमा राख्नुपर्छ। जसले मुख्यमन्त्री दिन्छ उसैलाई सहयोग गर्न पनि सकिन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने।
देउवाको प्रस्तावमा बरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशीलगायतले भने फरक मत राखेका छन्।
देउवाले समग्र रूपमा पार्टीलाई हित हुने गरी सोच्न नेताहरूलाई आग्रह गरेका थिए। केन्द्र र प्रदेशको राजनीति र परिस्थिति फरक भएको तर्क गरेका देउवाले जसले मुख्यमन्त्री दिन्छ त्यही नेकपाको समूहलाई सहयोग गरेर जान सकिने धारणा राखेका थिए।