ओली आफ्नै निर्वाचन क्षेत्रमा असुरक्षित
७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई बहुमत ल्याउने, ५० लाख समानुपातिक मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ एक्लै १६५ सीट जित्ने दाबीसमेत ओलीले गरेका छन् । प्रचण्ड– माधव समूहका नेताहरुमा चुनाव जित्ने आँट नभएको ओलीको आरोप छ ।
बैशाखमा मध्यावधि निर्वाचन हुन्छ वा हुँदैन ? यो विषय सर्वोच्च अदालतले संसद पुनस्थापना गर्छ/गर्दैन भन्ने प्रश्नसँग गाँसिएको छ । अदालतले निर्वाचनको बाटो खोलिदियो भने पनि ओलीले बैशाखमै चुनाव गराउन सक्छन् कि सक्दैनन् भन्ने अर्को प्रश्न बाँकी नै रहनेछ ।
तर, ओलीले चुनाव गराइहाले भने पनि त्यो उनका लागि ‘हार्ने चुनाव’ बन्न सक्छ । किनभने, झापामा स्वयं ओलीकै जीत सुनिश्चित छैन । उनको क्याबिनेटमा रहेका अधिकांश बहालवाला मन्त्रीहरुको पनि जित निश्चित छैन । सरकारमा नरहेका अरु नेताहरुको त कुरै नगरौं ।
नेकपा फुटेको अहिलेकै अवस्थामा चुनाव भइहाल्यो भने ओलीको क्याबिनेटमा रहेका २४ जना मन्त्रीमध्ये अधिकांशको पत्तासाफ हुने सम्भावना देखिएको छ । स्वयं प्रधानमन्त्री केपी शर्मा ओली पनि आफ्नो चुनाव क्षेत्र झापा ५ मा असुरक्षित देखिन्छन् ।