
चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ बाट शुरु हुने, कहाँ कहाँ गएर लगाउने खोप?
काठमाडौं। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै भेरोसेलको दोस्रो डोज लगाउने मिति जेठ २ बाट तय भएको जनाएको हो। खोप लगाउने केन्द्रहरु काठमाडौंका विभिन्न स्थानीय तहहरुमा तोकिएको छ।

‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसीएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गते देखि सञ्चालन हुने भएको छ,’ वागमती स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ।

यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भेरोसेल दोस्रो मात्रा लगाउने कार्यक्रम छ। यसका लागि सम्बन्धित स्थानीय तहहरुलाई कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यले आग्रह गरेको छ।
जेठ २ बाट ९ दिनसम्म चल्ने खोप अभियानमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखेको जनाइएको छ। ‘भेरोसेल’ भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो।
चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो। उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट चैत १६ गते नेपालमा ल्याइएको थियो।
यो पनि,,,कोरोना भाइरस सङ्क्रमणको लक्षण जटिल भएको वा नभएको थाहा पाउने चार सङ्केत
नेपालमा पछिल्ला दिनहरूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढ्ने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अस्पतालहरू खचाखच छन् भने होम आइसोलेशनमा नै बसेर उपचार गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ।
तर सङ्क्रमितहरूमा देखिएका लक्षणका आधारमा सामान्य वा जटिल कोरोनाभाइरसको सङ्क्रमण भए नभएको यकिन गर्न भने कठिन रहेको सङ्क्रमितहरू बताउँछन्।
जसका कारण स्वयम् सङ्क्रमित तथा उनीहरूका परिवारका सदस्यहरू त्रास तथा तनावबाट गुज्रिएको बताइन्छ। सुरुवाती लक्षणबाट नै आफूलाई जटिल वा सामान्य कोभिड छ भनेर पहिल्याउनका लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले केही उपाय सुझाएका छन्।
बढ्दो सङ्क्रमणबारे विज्ञ के भन्छन्?
पछिल्लो समय नेपालमा कोरोनाभाइरस सङ्क्रमण व्यापक रूपमा फैलिरहेको तथ्याङ्कबाट देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन्।
“घरमा बसेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण भइरहेको छ जसले गर्दा सङ्क्रमितहरू बढिरहेका छन्,” उनले भने।
सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यातका अनुसार नेपालमा पछिल्लो समय देखिएका कोरोनाभाइरसको भेरिअन्टका कारण पनि सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ।
सरकारी अधिकारीहरूका अनुसार नेपालमा कोरोनाभाइरसका यूके भेरिअन्ट र डबल म्युटन्ट देखिएको पुष्टि भइसकेको छ।
“पछिल्लो समय देखिएका भाइरसले नित्याउने दर एकदमै बढी छ। त्यो हामीले प्रस्ट रूपमा भन्न सक्छौँ,” प्राध्यापक बस्न्यात थप्छन्। त्यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पनि सहमत छन्।
“त्योसँगै राजनीतिक दलकै नेताहरू विभिन्न सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रमलाई बढावा दिँदा र मानिसहरूले पनि सामाजिक जमघटहरू गरेका कारण सङ्क्रमणमा निकै वृद्धि देखिन पुगेको हो।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल १४ दिनसम्म मानिसहरूको शरीरमा भाइरस ‘लोड’ नै रहने भएकोले अहिले सङ्क्रमणमा कमी नआएको बताउँछन्।
“यदि निषेधाज्ञामा जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको कडाइका साथ पालना भएको छ र पर्याप्त परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ भएको छ भने केही दिनपछि सङ्क्रमित हुनेहरूको सङ्ख्या कम देखिनसक्छ,”उनले थपे।
बढ्दो मृत्युको कारण के हुनसक्छ?
विगत १५ दिनकै कुरा गर्ने हो भने सङ्क्रमितहरू निको हुने दर घट्दो क्रममा देखिएको छ भने मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको पाइएको छ। पहिलाभन्दा अहिले देखिएको भेरिअन्ट धेरै घातक हुनु पनि मृतकको सङ्ख्या बढ्नुको एउटा कारण हुनसक्ने प्राध्यापक बस्न्यात बताउँछन्।
“तर भाइरस लिथल भएकोले मात्रै नेपालमा मृतक सङ्ख्या बढेको भन्न सकिन्न।” “बिरामीले अक्सिजन नपाएर हुनसक्छ, निको हुन्छ भनेर रोगले च्यापिसकेपछि अन्तिम क्षणमा अस्पताल पुग्ने भएर हुनसक्छ।
यस्ता कन्फाउन्डिङ फ्याक्टरहरूले पनि भूमिका खेलेकन हुन्छन्,” उनले भने। डा. अनुप बास्तोला पनि कतिपय बिरामीले अस्पतालमा शय्या तथा अक्सिजन पाउन नसक्दा मृत्युसम्बन्धी पछिल्लो अवस्था देखिएको बताउँछन्।
जनस्वास्थ्यविद् डा. मरासिनी पछिल्लो समय मृतकको सङ्ख्यामा व्यापक वृद्धि हुनुको अन्य कारण पनि खोज्नुपर्ने सुझाउँछन्। “यो डेङ्गी लाग्ने महिना हो, स्क्रब टाइफस लाग्ने महिना हो, कालाजार र जापनिज इन्सेफ्लाइटिस फैलिने महिना हो।
डबल इन्फेक्सन भयो कि भन्नेतर्फ ध्यान दिएकै देखिँदैन।” “कोरोनाभाइरससँगै ती पनि भए भने त्यसले मृत्युदर उच्च बनाउँछ,” उनी औँल्याउँछन्।



