धनुषाको निजी औषधि पसलमा सरकारी खोप फेला परेपछि

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकास्थित एक औषधि पसलबाट कोरोना विरुद्धको खोप सःशुल्क बिक्री गरिएको पाइएको छ ।

सहिदनगर नगरपालिकाको सुशासन समितिले अनुगमन गर्दा वडा नम्बर–३ स्थित यदुकुहामा रहेको श्रीराम हेल्थ केयरबाट बिक्री गर्नका लागि राखिएका जोनसन एण्ड जोनसन १ भायल, भेरोसेल ४ भायल र एस्ट्रोजेनका १ भायल फेला परेको हो ।

सहिदनगर नगरपालिकाको सुशासन समितिको आज बसेको बैठकको निर्णयअनुसार अनुगमन समितिका अध्यक्ष कन्हैया मुखियाको नेतृत्वमा श्रीराम हेल्थ केयर, मञ्जु मेडिकल हल र चौधरी मेडिकल हलको निरीक्षण गर्ने क्रममा सो खोप फेला परेको नगरप्रमुख उदयकुमार यादव बरबरियाले जानकारी दिए ।बरामद गरिएका खोपहरु श्रीराम हेलथ केयरका सञ्चालक २१ वर्षीय कमलेश मण्डलले प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहामा कार्यरत अहेव देवशरण यादवले आफूलाई दिएको कुरा स्वीकार गरेको नगरप्रमुख यादवले बताएका छन् ।

निजी औषधि पसलमा सरकारी खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डल र अहेव यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय यदुकुहाको जिम्मा लगाइएको छ भने श्रीराम मेडिकल हलमा सलिबन्दीसमेत गरिएको छ ।

सञ्चालक मण्डलले सो खोप २ हजार ५ सय देखि ५ हजार रुपैयाँसम्ममा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई बिक्री गर्दै आएको बताइएको छ ।

साथै मञ्जु मेडिकल हल र चौधरी मेडिकल हलमा समेत समय नाघेका केही औषधि बरामद भएकोले त्यस्ता औषधिलाई शीघ्र व्यवस्थापन गरी बिक्री वितरण नगर्न समेत निर्देशन दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले कोरोनाविरुद्धको खोप बिक्री वितरण गरिरहेको आरोपमा मेडिकल सञ्चालक मण्डल र अहेव यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए । नियन्त्रणमा लिइएका व्यक्तिहरु दोषी साबित भए कानुनअनुसार कारबाही गरिने उनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button