
के तपाई घर बनाउँदै हुनुहुन्छ ? यसरी छान्नुहोस् गुणस्तरीय बालुवा
काठमाडौं । के तपाई घर बनाउँदै हुनुहुन्छ । यदि बनाउँदै हुनुहुन्छ बालुवाको छनोटमा ध्यान दिन नभुल्नुहोला । राम्रो गुणस्तरको बालुवा परेन भने तपाईको घर बलियो नहुन सक्छ ।

मोटो रकम खर्चिएर जतिसुकै गुणस्तरीय निर्माण सामाग्रीहरु प्रयोग गरेपनि बालुवा राम्रो भएन भने स्ट्रक्चर बलियो हुँदैन । घरको स्ट्रक्चर निर्माण गर्दा जग, बिम, पिलर, भर्याङ र ढलानमा सिमेन्ट, बालुवा र गिट्टीको मिश्रण चाहिन्छ । जबसम्म सबै निर्माण सामाग्री गुणस्तरीय हुँदैनन्, तबसम्म संरचना बलियो नबन्ने अजिरा बिल्डर्सका सञ्चालक एवं सिभिल इञ्जिनियर अनुप ढुंगाना बताउँछन् ।

बालुवा निर्माण कार्यमा नभई नहुने महत्वपूर्ण सामाग्री हो । कंक्रिट, वाल जोडाई र प्लास्टरको काममा पनि सिमेन्ट र बालुवा अनिवार्य चाहिन्छ । सिमेन्टमा कति अनुपातमा बालुवा राख्ने भन्ने कुराले कंक्रिट घोल र मसलाको स्ट्रेन्थ तय गर्छ ।
यही नै बालुवा राम्रो भन्ने यकिनसाथ भन्न त गाह्रो छ । तर, हामीले केही कुरामा ध्यान दिन सकेमा राम्रो बालुवा पाउन सक्छौं ।
बालुवामा माटो नभएको बालुवा सबैभन्दा राम्रो हो । यदि बालुवामा माटो पनि मिसिएको छ भने मसला राम्रोसँग समात्दैन । सकभर जानकार व्यक्तिकै सहयोग लिएर माटो नमिसिएको बालुवा, डबल वास बालुवा किन्नुपर्ने ढुंगानाको सुझाव छ ।
डबल वास गरेपछि बालुवामा भएको माटो पखालिएर जान्छ । र, बालुवाका कणमात्र बाँकी रहन्छन् जुन सबैभन्दा राम्रो बालुवा मानिन्छ । डबल वास नगरेको बालुवामा माटोको मात्रा हुन्छ नै ।
ढुंगानाका अनुसार, हामीले एक मुठ्ठी बालुवा हातमा लिएर कसेर मुठ्ठी च्यापेर बालुवा छोड्यो भने गुणस्तर पहिचान गर्न सक्छौं । यदि मुठ्ठि फुकाउँदा हातमा माटो लाग्यो वा बालुवाको डल्ला बन्यो भने त्यसमा माटो मिसिएको छ भन्ने निष्कर्षमा पुग्नुपर्छ । तर, मुठ्ठि च्यापेर फुकाउँदा बालुवा पनि फरर फुक्यो भने त्समा माटो मिसिएको छैन भनेर पक्का हुँदा हुन्छ ।
टल्किने पदार्थ भएकोे बालुवा पनि प्रयोग गर्नु हुँदैन । टल्किने कर्णले बालुवाको गुणस्तर कमजोर बनाइदिन्छ । बालुवामा सिसा एकदम थोरै भएको प्रयोग गर्नुपर्छ । सिसा धेरै भएको बालुवा र सिमेन्टको मिश्रण गुणस्तरीय हुँदैन र कंक्रिट, घोला वा मसला कमजोर बनाउँछ ।
सिसाको मात्र धेरै भएको बालुवा बढि टल्किने ढुंगाना बताउँछन् ।
खोलाको बालुवामा माटो कम हुन्छ तर राम्रोसँग धोएको भए खानिको बालुवा पनि राम्रो हुन्छ । काठमाडौं उपत्यकामा आउने बालुवा धेरै खानीको हुन्छ त्यसैले पनि माटो मिसिएको छ कि छैन भनेर राम्रैसँग यकिन गर्नुपर्छ ।