क्रोम चलाउनुहुन्छ? तुरुन्त अपडेट गर्नुहोस्, अन्यथा ह्याकरको …

काठमाडौं । यदि तपाईं क्रोम प्रयोग गर्नुहुन्छ भने, कुनै किसिमको ढिलाई नगरी तुरुन्तै अपडेट गर्नुहोस् । यो गुगलको तर्फबाट जारी चेतावनी हो ।

अर्बौंको सङ्ख्यामा रहेका आफ्ना प्रयोगकर्तामाथि सुरक्षा खतरा उत्पन्न भएपछि गुगलले यस्तो सूचना जारी गरेको हो । हालसालै ९३.०.४५७७.८२ प्याचमा सुरक्षा सम्बन्धी जोखिमपूर्ण ११ कमजोरी सुधार गरिएको थियो ।

उक्त अपग्रेडबाट गुगल क्रोममा दुईवटा बग भेटिएका थिए । जसलाई ‘जेरो डे’ रेटिङ दिइएको छ ।

लाखौँको सङ्ख्यामा भएका प्रयोगकर्तालाई सुरक्षित राख्न गुगलले आफ्ना लोकप्रिय सफ्टवेयरमा अपडेट सुरु गरेको छ । गुगल क्रोम प्रयोग गर्दा अपडेट भएको सुनिश्चित गरी सुरक्षित रहन गुगलले सचेत गराएको छ ।

‘जेरो-डे’ चेतावनी सबै ग्याजेट प्रयोगकर्ताका लागि नराम्रो सपना हुने गर्छ । किन कि ‘जेरो-डे’ को मौका छोपेर ह्याकरले तुरुन्तै निसाना साँध्न सक्छन् । ह्याकरहरूले यस्ता रेटिङ भएका सफ्टवेयरहरूको फाइदा उठाउन थालेका छन् ।

जसका कारण गुगलले सफ्टवेयरहरू अपडेट गर्न हतारो देखाएको हो । विन्डोज, लिनक्स र म्याकका लागि ९३.०.४५७७.८२ अपडेट गरिएको र चाँडै नै जारी हुने गुगलले क्रोम ब्लगमार्फत जनाएको छ ।

सीभीई-२०२१-३०६३२ र सीभीई-२०२१-३०६३३ मा भएको ‘एक्सप्लोइट’ असुरक्षित हुनसक्ने प्रति गुगल सचेत रहेको छ ।

पोल भाडा विवादले बढ्यो इन्टरनेटको मूल्य

काठमाडौं । इन्टरनेट सेवाप्रदायक र नेपाल विद्युत प्राधिकरण विद्युत पोलको भाडाको विषयलाई लिएर आमनेसामने भएका छन् । विद्युत प्राधिकरणले पोलको भाडा चर्को रुपमा बढाएसँगै इन्टरनेट सेवाप्रदायक र विद्युत प्राधिकरणबीच विवाद चर्किएको हो ।

विवादकै शृङ्खला चलिरहँदा बिहीबार इन्टरनेट सेवाप्रदायकले इन्टरनेट सेवाको मूल्य समेत बढाउने निर्णय गरेका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो ।

त्यसो त यस अघि नै विद्युत पोलको भाडा बढेपछि त्यसलाई घटाउन सेवाप्रदायकले विभिन्न तहमा दबाब दिँदै आएका  थिए । बढाएको पोलको भाडा नतर्ने अडानमा रहेका इन्टरनेट सेवाप्रदायकको उपकरण हटाउने र‍ जफत गर्ने काम विद्युत प्राधिकरणले यस अघिदेखि गर्दै आएको हो ।

यसैबीच गत भदौ १६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूले पोल भाडा नतिरेमा उपकरण हटाउने घोषणा गरेको थियो । त्यसको जवाफमा सेवाप्रदायक संघ नेपाल आइस्पानले इन्टरनेट सेवा अवरुद्ध भए नेपाल विद्युत प्राधिकरण जवाफदेही हुने भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो ।

त्यसप्रति ध्यानाकर्षण जनाउँदै दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । दूरसञ्चार सेवा अति आवश्यक सेवा भएको र हाल कोभिड १९ का कारण शिक्षा, स्वास्थ्य, व्यवसाय लगायतका सेवाहरू समेत इन्टरनेट बाटै सञ्चालित भइरहेको उल्लेख गर्दै प्राधिकरणले सेवा अवरुद्ध नहुने वातावरण तयार पार्ने पहल थालेको थियो ।

दूरसञ्चार ऐन २०५३ को दफा १६ अनुसार सेवाप्रदायक र अन्य पक्षबीच भएको विवाद समाधान गर्ने जिम्मेवार निकाय समेत नेपाल दूरसञ्चार प्राधिकरण नै हो । यसअर्थ उक्त विवाद समाधानका लागि प्राधिकरणले भदौ २२ गते ११ बजेटका लागि नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायक संघ नेपाललाई पत्राचार गरेको थियो ।

तर विद्युत प्राधिकरणले भने उक्त बैठकमा आफ्ना कुनै पनि प्रतिनिधि नपठाएको र पत्रको जवाफ समेत नदिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले भदौ २८ गतेको पत्रमार्फत दुवै पक्षलाई पुन छलफलका लागि बोलाएको छ ।

जसअनुसार आज असोज १ गते ११ बजेदेखि बैठक सुरु हुने बताइएको छ । तर ११ः३० बजिसक्दा समेत शुक्रबारको बैठकमा विद्युत प्राधिकरणको तर्फबाट कोही पनि प्रतिनिधि आइनसकेको दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button