८,१९२ रोपनी जग्गा अतिक्रमण हेर्नुस् कहाँ कति
काठमाडौं, ३० माघ । देशका २० जिल्लामा आठ हजार रोपनीभन्दा बढी गुठी सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण भएको तथ्य बाहिर आएको छ। सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गरेको अध्ययनमा ८ हजार १ सय ९२ रोपनीजग्गा अतिक्रमण भएको पाइएको हो। जसको न्यूनतम सरकारी मूल्य नै ६ खर्ब रुपैयाँ रहेको छ।
आयोगले बुधबार राति सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमण सम्बन्ध गरेको २३ वटा अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। यसअघि नै आयोगले १० वटा प्रतिवेदन बुझाएको थियो।
आयोगका अध्यक्ष मोहनरमण भट्टराईले सरकारलाई ३३ वटा प्रतिवेदन बुझाएको जानकारी दिए। उनका अनुसार गुठीको २ हजार ६ सय रोपनी तथा सरकारी र सार्वजनिक ५ हजार ५ सय रोपनी जग्गा अतिक्रमण भएको छानबिनबाट पत्ता लागेको छ। आयोगले ३ सय ३२ वटा उजुरीको अध्ययन गरेको थियो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।