२२ सांसदलाई ओलीको स्पष्टीकरण पत्र : फ्लोर क्रसबारे मौन, विपक्षी गठबन्धनमा सहभागिताबारे प्रश्न
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।
५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन ।
तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए ।
त्यसको भोलिपल्ट बसेको एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
ओलीलाई नेपाल पक्षको आग्रह : नाराबाजी रोक्नुस्, एकता प्रक्रिया अघि बढाउनुस्
नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड दिएको छ ।
माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न आग्रह गरेको छ ।
आइतबार नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार बसेको थियो ।
बैठकमा उपाध्यक्ष भीम रावल भने अनुपस्थित थिए ।
बैठकले एकता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको नेता रघुजी पन्तले जानकारी दिए ।
बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थमा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउनुका साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ ।
यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’
एकता वार्ता चलिरहेको बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेता पन्तले बताए ।
उनले अघि भने, ‘अदालतको फैसलाले प्रष्ट रुपमा धारा ७६ (५) मा सांसदलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यसलाई आधार बनाएर अरु निहुँ झिकेर स्पष्टीकरण सोध्नु राम्रो भएन ।’
दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि माधव नेपाल मानेनन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बनाउन आफू तयार हुँदा पनि वरिष्ठ नेता माधवकुमार नेपाल सहमतिमा नआएको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो भएको बताए । ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’
पार्टीमा एकता कायम भए सबै संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समेत उनले बताए ।
नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए ।
‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, ‘यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ ।
केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ?’
एक केन्द्रीय सदस्यका अनुसार ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु अनैतिक, अराजनीतिक र आपराधिक कार्य भएको बताएका छन् । उनले अघि भने, ‘तै पनि मैले फिंजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु ।
एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन ।’
२७ असारमा एमाले एकताका लागि १०बुँदे सहमति जुटाएको तत्कालीन कार्यदलका नेताहरुका अनुसार त्यसबेला पनि औपचारिक र अनौपचारिक माध्यमबाट नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने सकिने प्रस्ताव नेता नेपालसम्म पुगेको थियो ।
तर त्यसबारे थप को कुनै विश्वसनीय आधार थिएन ।
सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा रहेको एमाले सांसदहरुको हस्ताक्षर फिर्ता गराउन मात्र यस्तो भनिएको हुनसक्ने वरिष्ठ नेता नेपालको विश्लेषण थियो ।
२८ असारमा सर्वोच्चले संसद पुनर्स्थापना मात्र गरेन, एमालेका २३ सहित १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो ।
३ साउनमा नेता नेपालसहित एमालेका २२ सांसदले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिए ।
त्यही प्रकरणलाई लिएर ओलीले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्, जसमा फ्लोर क्रसबारे केही बोलिएको छैन । तर पार्टीभित्र गुटबन्दी गरिएको, विपक्षी गठबन्धनलाई सघाएको जस्ता आरोप छ ।
नेपाल समूहले भने पार्टी एकताको प्रयासमा भाँजो हाल्ने गरी स्पष्टीकरण सोधिएको बताएको छ ।
साथै माधव नेपालसहित फ्लोर क्रस गर्ने सांसदहरुविरुद्ध भइरहेको नाराबाजी रोक्न र एकताका लागि गम्भीर पहल गर्न आग्रह गरेको छ ।
साथै दोस्रो अध्यक्ष दिने प्रस्तावमा अध्यक्ष ओली टिकिरहने हो भने छलफल हुनसक्ने नेपाल समूहका नेताहरुले बताएका छन् । तर ओली पक्षका कतिपय नेताहरुले भने यो सर्वोच्च अदालतको फैसला पूर्वको अवस्था भनिएको भन्दै अहिले त्यसमा नअड्ने संकेत गरेका छन् ।