हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेको बताएका छन्।  

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउँदै सोही कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको बताएका हुन्।

‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो। बाहिरका डाक्टरहरुले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीले गर्छाै भने’, उनले भने, ‘पहिलो पटक गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपणपछि भने त्यस्तो संक्रमण झेल्नु परेन, १२/१३ दिनमै कार्यक्रममा भाग लिन थालेँ।’

सो अवसरमा उनले प्रकृति प्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम रहेको बताए। प्रधानमन्त्री ओलीले  हरेक नागरिकलाई आआफ्ना प्रतिभा पत्ता लगाउने र  रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनु पर्ने बताए।

नास्टका कूलपति समेत रहेका उनले समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न अभाव र विभेदरहित, शान्त सभ्य र मानवता युक्त समाजको आवश्यकतामा जोड दिए।  ‘हामी मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौ भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ’, उनको भनाइ थियो।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाईमा प्रबद्र्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरे।

यसै गरी उनले हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेबापत उत्तमबाबु श्रेष्ठलाई विज्ञान प्रविधि पुरस्कार तथा  कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन, उपत्यकको  भूमिगत जल संचयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गरेका थिए।  

कार्यक्रममा डा. आनन्द मिश्रलाई  धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत,  डा अनुपमान श्रेष्ठलाई  बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरेबापत र  डा. सागर रेग्मीलाई क्यान्सर र व्यायामको अन्तरसम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी महिला विज्ञान पुरस्कार डेंगुरोग फैलनमा तापक्रमको भुमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो।

विद्यालयमा विज्ञान शिक्षाको प्रवद्र्धन गरेबापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको थियो।

यसैगरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्द प्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास भएको छ।

प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भर्चुअल सिलान्यास गरेसँगै सप्तरीसहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनतामा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भरोसा पलाएको छ।  

सप्तरीको राजविराज नगरपालिका–१० विरौलमा निर्माण हुने रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल प्रविधिबाट मंगलबार शिलान्यास गर्दे प्रधानमन्त्री ओलीले यो प्रतिष्ठान सप्तरीमा आजसम्मको विकास परियोजना मध्ये सर्वाधिक ठूलो परियोजना भएको बताए।

प्रतिष्ठानको स्थापनासँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तीव्र हुने बताए।

उनले तोकिएको समयमै प्रतिष्ठानको काम सक्ने समेत जिकिर गरे। २०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो।

तर जग्गाबारे मन्त्रिपरिषद्बाट निर्णय हुन नसक्दा काम अघि बढन सकेको थिएन। गत जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले राजविराज नगरपालिकाले वडा नम्बर १० मा ६२ बिगहा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेसँगै प्रतिष्ठानको शिलान्यास भएको हो।

प्रधानमन्त्री ओलीले सुनकोसी मरिन डाइभर्सन र पूर्वी क्षेत्रका लागि सुनकोसी कमला डाइभर्सन निर्माण गरी सिचाइँ सुविधा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन्।

‘सुनकोसी मरिन डाइभर्सनले सप्तरीमा मात्र नभई मधेसमा समृद्धिका आयाम थप गर्नेछ,’ उनले भने। उनले उत्तर दक्षिण रेलमार्गसँगै चाँडै बर्दिवाससम्म रेल पुर्‍याउने उल्लेख गर्दै केही दिनभित्रै रेल सेवा सञ्चालन हुने प्रतिबद्धता जनाए। पूर्व–पश्चिम रेलमार्गको निर्माण कार्य पनि चाँडै अघि बढ्ने बताउँदै रेलमार्गको तयारी भइरहेको बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रममा परेर दिशाहिन हुनुभन्दा विकासको गति अगाडि बढाउन सबैको योगदान हुनुपर्ने बताए।

उनले अब एक ठाउँको मात्र नभएर हिमाल,पहाड र तराई पूर्व–पश्चिम सबैतिर विकास हुनुपर्ने बताए। उनले भने, ‘सबै जातजाति, भाषाभाषीका जनताका लागि उनीहरूको विकास उन्नति र समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ।

’ थुप्रै ऐतिहासिक महत्व बोकेको सप्तरी अब उप्रान्त पछाडि परेको जिल्लाका रुपमा नरहने जिकिर गर्दै उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको बताए।

प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै प्रधानमन्त्रीले राजनीतिक विचार आ–आफ्ना हुने भए पनि एक अर्काप्रति सहिष्णु हुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नुपर्ने पनि बताए।

सप्तरीका जनतालाई कुनै पनि किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न आग्रह प्रधानमन्त्रीको आग्रह थियो। हामी बीचमा रहेका विविधता सम्पत्ती भएकोले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन पनि उनले आग्रह गरे।

कूल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र समपन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button