हरायो नेपाल भित्रिएको ३ लाख डोज खोप,कहाँ र कसले लुकायो?

नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन।

नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्। खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ। पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ।

भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो। भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो।

नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन।

इमिडिमिओलोजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी खोप लगाएको सही रेकर्ड नहुँदा अनियमितता भएको हुन सक्ने बताउँछन्।

उनी स्वास्थ्यकर्मीले लक्षित समूहभन्दा बाहिरका नातागोतालाई खोप दिएको हुन सक्ने र शक्तिका आडमा स्थानीय राजनीतिक नेतृत्वले आफ्ना मान्छेलाई खोप लगाउँदा रेकर्ड नराखिएको हुन सक्ने उनको अनुमान छ।‘

खोप खरिदमा मात्र होइन, खोप लगाउँदा पनि सुशासनको अभाव देखिएको छ,’ उनी भन्छन्।

आगामी दिनमा राज्यले खरिद गरेको हरेक डोज खोपको उपयोगमा पारदर्शिता हुनुपर्ने र समयमै तथ्यांक संकलन गर्ने चुस्त प्रणाली बनाउन उनको सुझाव छ।

‘खोप प्रयोग गर्ने क्रममा खेर गएको हो भने त्यसको प्रतिशत प्रस्ट हुनुपर्छ, उनी भन्छन्।नेपालमा गत माघदेखि खोप अभियान सुरु भए पनि हालसम्म ४ प्रतिशत जनसंख्याले मात्र खोपका दुवै डोज लगाएका छन्।

अमेरिकाको जोन्सन एन्ड जोन्सन तथा चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित खोपमार्फत हाल नेपालको खोप अभियान अगाडि बढाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

देशका यी ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने

देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ ।

नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको हो ।

पानीजहाज कार्यालयका रजिस्ट्रार विपिन राजभण्डारीले नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्त रूप दिने उद्देश्यसहित कोसी, नारायणी, काली गण्डकी र कर्णालीमा सम्भाव्यता अध्ययन गरिएको जानकारी दिनुभयो । सो अध्ययनले ती नदीहरूमा पानीजहाज चलाउन सम्भव रहेको देखाएको उहाँले स्पष्ट पार्नुभयो ।

आर्थिक वर्ष २०७७÷७८ मा सो अध्ययन सम्पन्न भएको हो । कोसी, काली र गण्डकीको सम्भाव्यता अध्ययन परामर्शदाता पीएमएस/रिती/आई इस (संयुक्त)ले गरेको थियो ।

त्यसैगरी नारायणी र कर्णाली नदीको अध्ययन मल्टी कन्सल्टेन्सी सर्भिसले गरेको थियो । परामर्शदाता कम्पनीहरूले अध्ययन प्रतिवेदन नेपाल पानीजहाज कार्यालयलाई बुझाइसकेका छन् ।

गत आर्थिक वर्षको असारमा अध्ययन सम्पन्न भएको थियो ।

त्यसैगरी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेसन राख्ने सम्भाव्यता अध्ययन गरिएको जानकारी उनले दिए । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालन गर्न देवघाट र रामपुरमा सबस्टेसन स्थापना गर्न अध्ययन गरिएको जानकारी उनले दिए ।

त्यसैगरी कालीगण्डकीमा पाल्पा खण्डको रामपुर नगरपालिकाको केलादीघाट र गौरीघाटमा सबस्टेसन निर्माण गर्न अध्ययन गरिएको हो । कालीगण्डकीमा दुईतर्फी जलयान चलाउन सकिने अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समेत पाल्पाको राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनको अध्ययनका लागि बजेट व्यवस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button