जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री ओली
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।
फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिनुभयो ।
गत माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस शुरु भई यही फागन ७ गते सबै पक्षको सुनुवाइ सकिएको थियो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिएको थियो ।
यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहेको बताउनुभएको छ ।
नेकपाका अध्यक्ष ओलीले मुलुक अहिले ठीक बाटोमा अघि बढिरहेकाले लोकतन्त्र र संविधानलाई तलमाथि हुन नदिइने प्रष्ट्याउनुभयो । उहाँले युवा कार्यकर्तालाई विचार र दृष्टिकोणका साथ सङ्गठित भएर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले आफ्नो आत्मविश्वासमा कुनै कमी नआएकोसमेत प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सुन्दर र समृद्ध नेपालको गन्तव्य निर्धारण गरेर युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्नसमेत युवालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले उचित विचार र दृष्टिकोणका साथ अघि बढ्न युवालाई आह्वान गर्नुभयो । उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्न आग्रह गर्नुभयो ।