सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय प्रतिगामी : प्रभु साह

सहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने निर्णयलाई लोकतन्त्रको उपहास भनेर टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र त्यागेर एमाले (ओली समूह)बाट मन्त्री बनेका साहसहितका नेतालाई माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि उनको सो भनाइ सार्वजनिक भएको हो ।

साहले बुधबार फेसबुकमा लेखेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो ।’

एमालेसमेतको मतबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल त्यागको कानुनी डण्डा चलाउन नसुहाउने साहको धारणा छ ।

उनले लेखेका छन्, ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।’

साहले थप लेखेका छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् ।’

सांसदहरुमाथि हमलाको दुष्प्रयास गरिएको भन्दै उनले त्यसलाई प्रतिगामी कार्यको संज्ञासमेत दिएका छन् ।

‘अहिलेकै संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,’ मन्त्री साहले भनेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button