सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । साथै १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो ।

बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १०बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरेको थियो ।

तर अध्यक्ष ओलीले ‘बैठक जारी रहन्छ, कार्यसूची अगाडि बढाउनुस्’ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका छन् ।

ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले लोकतान्त्रिक र अस्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘लोकतान्त्रिक र अस्वस्थ विधिबाट गठन भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’

दुवै पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले २७ असारमा गरेको १०बुँदे सहमतिको छैटौं बुँदामा ‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अघि बढ्ने छौं,’ भनिएको छ ।

२८ असारमा सर्वोच्चले संसद पुनस्र्थापना गरेर १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो भने संविधानको धारा ७६(५) को सरकार गठन प्रक्रियामा समर्थन गर्दा वा मत दिंदा ह्वीप नलाग्ने र दल त्यागसम्बन्धी कारबाही गर्न नपाउने फैसला सुनाएको छ ।

फैसलापछि एमालेको दुवै पक्ष सहमति कार्यान्वयनको साटो आआफ्नो ढंगले अगाडि बढेको छ । अध्यक्ष ओलीले नेता नेपाललाई गद्दार घोषणा गरेका छन् भने नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।

१०बुँदे सहमतिअनुसार अगाडि बढ्नुपर्ने भन्दै दोस्रो तहका नेताहरुले पहल पनि थालेका थिए । तर अध्यक्ष ओलीले आफ्नो पक्षका नेताहरु मात्र उपस्थित स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गराएका छन् ।

नेपाल पक्षका केही सांसदहरुले विश्वासको मत दिन्छौं भनेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रवक्ता ज्ञवालीले भने, ‘विश्वासको मतमा मतदान हुने दिन पार्टीले थप भन्ला ।

अहिले हाम्रो स्थायी कमिटीको निर्देशन सबैलाई यो सरकारको विपक्षमा उभिने, प्रतिपक्षी भूमिकामा रहने हो ।’

उनले अघि भने, ‘पक्षमा उभिन कोही साथीहरु चाहनुहुन्छ भने सर्वोच्चले ढोका खोलिदिएको छ कारबाही गर्न पाइँदैन भनेर । त्यो उहाँहरुले गर्नुहोला । हामी प्रतिपक्ष हौं, प्रतिपक्षमा रहन्छौं ।’

अनन्तकालसम्म पर्खिन सक्दैनौं

माधव नेपाल पक्षले त समय चाहियो, बैठक रोक्नुस् भनेर आग्रह गरेको थियो नि भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले अनन्तकालसम्म पर्खिन नसक्ने बताए ।

उपाध्यक्ष भीम रावलले ‘भोलि हामी सबै आउँछौं’ भनेपछि २८ असारमा बोलाइएको बैठक स्थगित गरेको भन्दै उनले भने, ‘अब सधैंभरि बैठक रोखिराख्न सम्भव हुँदैन, पार्टी अगाडि बढ्छ ।

कार्यदलका सुझावहरु कार्यान्वयन गर्ने निर्णय भएको छ । यसलाई कार्यान्वयन गर्ने क्रममा हाम्रा छलफलहरु जारी रहन्छ । तर पार्टी आफ्नो निर्णय गर्दै अगाडि बढ्दै जान्छ ।’

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध सञ्चारकर्मी रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र प्रहरी वृत्त सिंहदरबारलाई आदेश दिएको हो ।

आफूलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको भनी रुपाले बबरमहलकी सरस्वती प्रधानविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा प्रहरीले प्रधानलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेका बेला तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री प्रहरी कार्यालयमा पुगी प्रधानलाई आफ्नै गाडीमा लिएर फर्किएका थिए ।

अभियुक्तलाई रिहा गराई जातीय विभेदविरुद्धको घटना अनुसन्धान प्रभावित पारेको भनी रुपाले तत्कालिन मन्त्री श्रेष्ठविरुद्ध सिंहदरबार वृत्त र जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिए पनि ती निकायले दर्ता गरेका थिएनन् ।

त्यसपछि रुपा रिट लिएर सर्वोच्च पुगेकी थिइन् ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले मन्त्री श्रेष्ठविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न अन्तरिम आदेश दिएको हो ।

‘निवेदिकाले सरस्वती प्रधानविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउनु’ सर्वोच्चको आदेशमा भनिएको छ ।

रुपाले घरबेटी श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्तमा अनुसन्धान पूरा भई मुद्दा चल्ने वा नचल्ने निर्णय भइसकेको नदेखिएको भन्दै उक्त जाहेरीउपर निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी २५ दिनभित्र अनुसन्धान सम्पन्न गर्न सर्वोच्चले आदेश दिएको छ ।

अनुसन्धान सकिएपछि मुद्दा दर्ता गर्नुपर्ने वा नपर्ने सम्बन्धमा आवश्यक निर्णय गरी त्यसको जानकारी सञ्चारकर्मी सुनारलाई दिन अन्तरिम आदेश दिएको छ ।

त्यस्तै सर्वोच्चले घरबेटी सरस्वती प्रधानलाई हाजिर जमानीमा छाड्नुको कारणबारे रुपालाई जानकारी दिन पनि अन्तरिम आदेश दिएको छ ।

कुराकानीको अडियो लिन शर्त

सञ्चारकर्मी सुनारले प्रहरीले आफ्नो मोवाइल पेश गर्न दबाब दिएको भन्दै रिटमा उल्लेख गरेकी थिइन् ।

सर्वोच्चले जातीय विभेदको अपराध अनुसन्धानका क्रममा आवश्यक परेमा रुपा र घरबेटीबीच भएको टेलिफोन कुराकानीको अडियो लिन सक्ने भनी त्यसका लागि विभिन्न शर्त तोकेको छ ।

प्रहरीले घरबेटी र रुपाबीचको अडियो लिँदा रुपाको मोवाइलमा भएका अन्य व्यक्तिगत सूचना वा तथ्यांकमा पहुँच नहुने गरी लिनुपर्ने, रुपाको गोपनीयताको हकमा कुनै दखल पुर्‍याउन नपाउने, सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखाको अधिकृतस्तरको सूचना प्रविधि विज्ञ, रुपा र उनले इच्छाएको सूचना प्रविधि विज्ञ एवं रुपाको कानुन व्यवसायीसमेतको रोहवरमा मात्र अनुसन्धान अधिकारीले मोवाइलमा पहुँच पाउन सक्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले यो घटनाको अनुसन्धान प्रभावित बनाउने, जातजाति वा समुदायका बीचको सामाजिक सम्बन्ध खलल पार्ने समाचार, लेख रचना, श्रव्य दृश्य प्रकाशन, प्रशारण नगर्न आमसञ्चार माध्यमको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button